'मिर्गौला रोगको लक्षण हुँदैन, पत्तै नपाइ खराब भइसकेको हुनसक्छ'
सन्दर्भ : विश्व मिर्गौला दिवस

मिगौला हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो। यसको काम भनेको पिसाब बनाउने हो। यसले हाम्रो शरीरमा रहेका तरल पर्दाथमा भएका आवश्यक पदार्थलाई रगतमा पठाउँछ र अनावश्यक पदार्थलाई पिसाबको माध्यमबाट बाहिर पठाउँछ।
जस्तो हामीले धेरै पानी खायो निकाल्छ, अन्य फोहोर विकार पदार्थ निकाल्छ।
कम्तिमा एउटा मिर्गौलाले काम गरेन भने मान्छेको मृत्यु हुन्छ। त्यसपछि बचाउने भनेको कित नियमित डायलासिस गर्ने हो। कि प्रत्यारोपण नै हो। नत्र मृत्यु नै विकल्प हो।
नेपालमा मिर्गौला फेल भएकाको वीर अस्पतालमा उपचार सुरु भएपछि प्रत्येक वर्ष रोगी बढेको देखिन्छ। बिरामीहरु बाहिर एक्पोज भएको देखिन्छ।
हामी सबै खालका मिर्गौला रोगी देखिरहेका छौँ -गाउँमा बस्ने, शहरमा बस्ने, धनी, गरिब , बच्चा, बुढा सबैलाई यो रोग देखिन्छ।
एकातर्फ देशमा उपचार सेवा पहिले भन्दा राम्रो भएका कारणले पनि उपचारमा पहुँच पुगेर यसअघि लुकेर रहेका रोगीहरु देखिएका हुन्
मिर्गौला रोगी बढ्नुको अर्काे कारण भनेको मान्छेको बिग्रँदो जीवनशैली देखिन्छ। के खाँदा स्वस्थ भइन्छ। के खाँदा भइँदैन भन्ने कुरामा पूर्ण बेवास्ता देखिन्छ। यो मिर्गौला रोग बढ्ने अर्काे कारण हो।
तेस्रो कारण भनेको मिर्गौला रोग लक्षणबिहीन हुन्छ। त्यस्तो कुनै लक्षण छैन कि जसले बिर्गौला खराब हुँदैछ भन्ने संकेत गर्छ।
पिसाब पोल्ने, पिसाब फेर्दा गाह्रो हुने र पिसाबमा खराबी आउने बाहेक मिर्गौला बिगार्ने रोगका कुनै लक्षण नै छैन।
उच्च रक्तचाप भएका मान्छे, मधुमेह भएका मान्छे, मिर्गौला सम्बन्धी रोग भएकाहरुको मिर्गौला बिग्रिरहेको कुरा परीक्षणबिना थाहै पाइँदैन।यो मिर्गौला रोगको खतरनाक र चुनौतीपूर्ण पक्ष हो।
चेतना जगाउने दिगो कार्यक्रमहरु छैनन्। रोगीहरु रोग लागेपछि उपचार गर्न आउँछन्। उनीहरु आफूले रोगको बारेमा थाहा पाइँन भन्छन्। यदि तपाईले आम मान्छेलाई रोगको बारेमा बताउनु भयो भने मलाई के भएको छ र ? यी सबै सुझाव किन चाहिन्छ र ? भनेर तर्किरहेका हुन्छन्।
समस्या के छ भने–रोगी भएपछि चाँही निरोगी हुन खोज्ने, निरोगीहरुलाई निरोगी नै बसिराख न, त्यसका लागि यसो गर, भनेर भन्दा नसुन्ने समस्या छ।
रोगप्रति बेवास्ता भएका कारण पनि समस्या बढिरहेको छ। मलाई रोग लाग्यो भने के हुन्छ। त्यसबाट बच्नु पर्छ भन्ने कुरामा कुनै मतलब नै गरेको देखिँदैन।
खाना धेरै व्यायाम छैन
मान्छेको उचाइ जति हुने हो त्यो अनुसार तौल हुनुपर्छ। अहिले अधिकांश मान्छेको तौल हुनुपर्ने भन्दा बढी भएको देखिन्छ। कारण खाना बढी व्यायाम छैन।
हिजो खान पाइएको थिएन, आज खान पाइयो भन्दैमा बढी खाइरहेको छ मान्छेले। यसले रोग निम्त्याएको छ। अर्काे कुरा बेलुकाको पार्टीहरुले सत्यानाशै गरे। नेपालमा अधिकांश पार्टीहरु बेलुका गर्ने प्रचलन छ। बेलुका–बेलुका टन्न खाने, पुक्लुक्क सुत्ने, मोटाउने।
त्यसले अन्य रोगसँगै मिर्गौला रोगलाई पनि बढवा दिएको छ।
पहिला–पहिला साँझपछि टन्न खाने नेपालीको बानी हैन। साँझ हुँदा खाना खाइसकेको हुन्थ्यो। अहिले हामी मध्यरातसम्म पनि खाइरहेका हुन्छौँ। यो एकदम नै खराब हो।
बेलुका ८ बजेपछि टन्न खाना खानु सिधै रोग निम्त्याउनु हो।
दिनमा ३ लिटर पानी पिउन पर्यो। दिनको १० हजार पाइला हिड्नु पर्यो। राति समयमा सुत्नु पर्यो। व्यस्त जीवनशैली वा विभिन्न कारणले अहिले मान्छेको सुताइ कम हुन थालेको देखिन्छ। यो पनि मिर्गौला बिगार्ने एक कारक हो। दिनमा ७, ८ घण्टा सुत्नैपर्छ।
खानामा सागपात जस्ता तरकारी फलफुलका मात्रा प्रसस्तै हुनु आवश्यक छ।
उच्च रक्तचाप र मधुमेह ठिक छैन भने, त्यो ठिक राख्नु पर्यो। उच्च रक्तचाप र मधुमेहबाट धेरैको होइन केही प्रतिशतको मिर्गौला खराब हुन्छ तर लाखौँमा केही प्रतिशत भनेको हजारौँको मिर्गौला बिग्रनु हो। लाखौ व्यक्तिमा प्रेसर छ। लाखौँमा सुगर छ।
यति गरेर मात्रै पुग्दैन वर्षमा एक पटक मिर्गौला परीक्षण गर्नै पर्छ। अल्ट्रा साउण्ड, पिसाब परीक्षण, रगत परीक्षण गर्नुपर्छ।
प्रत्यारोपणपछि औषधि सरकारले दिनुपर्यो
सरकारले मिर्गौला रोगीलाई डायलासिसमा उपचारमा सहुलियत दिएपछि नै मिर्गौला रोगीहरु परीक्षण उपचारा आउने क्रम बढेको हो।
नत्र भने डायलासिस, औषधिमा महिनाको ५०औँ हजार खर्च हुन्छ। यति धेरै खर्च गरेर बाच्ने सक्ने मान्छे नेपालमा कति नै छन् होला र ?
सरकारले दिएको सुविधाका कारणले सिविधा भोग गर्न सजिलो भयो। सेवामा पनि पहुँचमा पुग्यो।
डायलासिसमा केही सुविधा भयो। आफन्तहरुले मिर्गौला पनि देलान्। जेनतेन प्रत्यारोपण पनि हुन्छ। त्यसपछि नियमित औषधि खानुपर्ने हुन्छ। त्यो सबै भन्दा ठूलो समस्या बन्छ।
प्रत्यारोपण गरेपछि पनि बिरामीले महिनामा २०–३० हजारको औषधि खानुपर्ने हुन्छ। त्यति महंगो औषधि खाने क्षमता धेरैमा हुँदैन।
उनीहरुले वर्षाैसम्म खान त सक्दैनन। त्यो औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले तुरन्तै काम गर्न छाड्छ। एक साताभित्रमा मान्छेको मृत्यु हुन्छ।
औषधि छाडेमा शरीरले मिर्गौला अस्वीकार गर्छ। तत्काल मृत्य हुन्छ। अहिले मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले सुरुमा दिनको १ हजारको पछि ७५० र पछि ५०० को औषधि खाइरहनु पर्छ।
प्रत्यारोपण गरेका थुप्रै व्यक्तिहरु पछि औषधि खान नसकेर रुन्छन्। खर्च धान्न नकेर पिरोलिएका हुन्छन्। बेक्कार प्रत्यारोपण गरेछुँ भनिरहेका हरु पनि देखिन्छ।
प्रत्यारोपणको मात्रै नभएर सरकारले औषधिको पनि व्यवस्था गर्नु आवश्यक छ। औषधि पनि सरकारले निशुल्क दिनुपर्यो।
अर्काे मस्तिष्क मृत्यु भएकाहरुको अंगदानलाई प्रत्साहित गर्नुपर्यो।
आम मान्छेलाई सचेत गराउनका लागि दिगो र प्रभावकारी कार्यक्रम ल्याउन जरुरी छ। परीक्षणका लागि सहज पहुँचको व्यवस्थामा सरकारले ध्यान दिनु जरुरी छ। रोग लागेपछि खर्च गर्न मात्रै हैन रोग लाग्नै नदिनका लागि पनि खर्च गर्न सरकार अग्रसर हुनुपर्छ।
(बरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेसँग गरिएको कुराकानीमा आधारित)
तपाईँको अभिमत