देशभर कोरोना विरुद्धको खोप अभियान सुरु, तपाईंको पालो कहिले ?

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधि मार्फत देशभर खोप अभियानको शुभारम्भ गर्नुभएको हो ।
अभियान सुरु भएसँगै तोकिएका अस्पताल, स्वास्थ्यसंस्था र खोप केन्द्रमा खोप लगाउने क्रम चलिरहेको छ । पहिलो चरणमा यस अभियानमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयमेसेविका, एम्बुलेन्स चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीलाई दिइनेछ ।
कोरोनाको पहिलो खोप लिएका डाक्टरहरु,
कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र दोस्रो खोप पहिलो कोरोना संक्रमितदेखि अहिलेसम्म कोरोनाका बिरामी हेरिरहनु भएका अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाले लगाउनुभएको छ ।
गत वर्षको पुस २९ गते नेपालमा कोरोना भित्रिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ९ गते त्यसको जानकारी गराएको थियो । मन्त्रालयले पहिलो कोरोना संक्रमितबारे जानकारी गराउँदा संक्रमित उपचार गरी डिस्चार्ज हुनु भइसकेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनरले खोप लगाउने लक्ष्य राखिएको छ । काठमाडौं उपत्यकाको सहित ६२ वटा अस्पताल र १२० वटा खोप केन्द्रबाट खोप अभियानको सुरु भएको हो ।
यस अभियानमा भारतले अनुदानमा उपलव्ध गराएको सिरम इन्टिच्यूट अफ इन्डियाले निर्माण गरेको कोभिशिल्ड लगाइनेछ । यो खोप दुई मात्रा लगाइनेछ । सुरुमा लगाएको ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।
कोभिशिल्ड १८ वर्ष उमेर माथिका व्यक्तिहरुलाई लगाइनेछ । गर्भवती,स्तानपान गराइरहेकी महिला, तत्काल गर्भाधारणको योजना बनाएका महिला, एलर्जीको समस्या भएका व्यक्तिहरुले कोरोनाको खोप लगाउन हुँदैन।
काठमाडौं उपत्यकाका खोप सुरु भएका अस्पतालहरु :
१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
११. शहिद गंगालाल अस्पताल
तपाईँको अभिमत