मनमा भय हुन्छ ?, यस्ता छन् हटाउने तरिका

भय मानिसको एक अभिन्न अंग बनेको हुन्छ । यो सधैँ खराब हुन्छ भन्ने छैन । जीवनमा भय भएमा सकारात्मक कार्यमा लाग्न र सकारात्मक नतिजा ल्याउन मद्दत पनि हुन्छ ।
तर कतिपय अवस्थामा सामान्य जीवनमै असर गर्ने गरी भय वा मनमा त्रास भइरहने हुन्छ । यस किसिमको भय हुँदा मुटुको धड्कन बढ्ने, श्वास लिने दर वृद्धि हुने, अशान्त हुने तथा एकाग्रतामा समस्या हुने हुन्छ । त्यस्तो भयलाई प्राकृतिक रूपमा निरुपण गर्नु जरुरी हुन्छ ।
भय हटाउन के गर्ने त ?
दैनिक जीवनमै असर गर्ने गरी हुने भयलाई हटाउन विभिन्न उपाय अपनाउन सकिन्छ । यो एक थेरापीबाट हटाउन सकिन्छ । त्यस्तै मेडिटेशन गरेर पनि हटाउन सकिन्छ । यहाँ केही यस्ता उपायहरूको छोटकरीमा बुझौँ ।
सक्रिय हुने : नियमित व्यायाम गर्नु शारिरीक स्वास्थ्यका लागि मात्र होइन, यो मानसिक स्वास्थ्यका लागि पनि लाभकर हुन्छ । २०१३ मा गरिएको एक अध्ययनअनुसार शारिरीक व्यायाम गर्ने व्यक्तिमा मानसिक भय हुने सम्भावना निकै कम हुने देखिएको थियो ।
व्यायामले मनमा कुरा खेलिरहँदैन । यसले भय हुने कुराबाट डाइभर्ट गराइदिन्छ ।
मदिरा सेवनबाट टाढा रहने : कतिपयले भय हटाउन वा चिन्तामुक्त हुन भन्दै मदिरा सेवन गर्ने गर्छन् । तर त्यो बानी राम्रो होइन । त्यसले आखिरमा भय बढाउँछ । सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार मदिरा कम गर्दै लैजाँदा भय र डिप्रेशन पनि कम हुँदै गएको थियो ।
धुम्रपान त्याग्ने : धुम्रपान पनि मदिरापान जस्तै हो । यसले एकैछिन तनावबाट छुटकारा त दिन्छ । तर समयकालमा यसको असरसँगै भयको अवस्थालाई झन खराब पार्छ । यसले कालान्तरमा भयको सम्भावना बढाउँछ । सूर्तीमा हुने निकोटिनले दिमागमा असर गर्ने र भय सिर्जना हुने अध्ययनले देखाएको छ । तर यो एक्कासी हुँदैन । समयकालमा बिस्तारै भएर जान्छ ।
कफी सेवन सीमित गर्ने : कफी तथा चियाको सेवन कतिपयले अत्यधिक गर्ने गर्छन् । कफीको अधिक सेवन पनि राम्रो हुँदैन । यसले नर्भसनेस बढाउने हुन्छ । त्यसैले यसलाई सीमित गर्न जरुरी हुन्छ ।
पर्याप्त सुत्ने : निद्रा मानसिक स्वास्थ्यका लागि अपरिहार्य भएको तथ्य प्रमाणित छ । त्यसैले रातिको समयमा सुत्ने कुरालाई प्राथमिकता दिनुपर्छ । राति सुत्नुभन्दा पहिले टिभी हेर्ने, पढ्ने, फोन चलाउने, अर्को कोठा जानेलगायतका काम गर्नु हुँदैन । यसले निद्रालाई असर गर्छन् । बरु नियमित सुत्ने र उठ्ने निर्धारण गर्नुपर्छ ।
सन्तुलित भोजन गर्ने : मानिसको खास औषधि भनेकै सन्तुलित भोजन हो । ‘जंक फुड’ तथा बजारमा प्याकिङ गरिएका खाना खानाले स्वास्थ्यमा नकारात्मक असर पार्छ । त्यसैले खाना खाने बानीलाई पनि सुधार गर्न जरुरी छ ।
तपाईँको अभिमत