सन् २०२० : कोरोनाबाट नेपाली चिकित्सा क्षेत्रले गुमाएका हस्तीहरु

काठमाडौं । विश्व जगत्लाई तर्साउने र अत्याउने गरि फैलिएको कोरोना भाइरसको संक्रमण अझै साम्य भएको छैन । सन् २०२० लाई विश्वले कोरोना महामारीको स्मरण गर्दै सधै याद गरिरहनेछ । नेपालमा अंग्रेजी वर्ष २०२० मा १ हजार ८५६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भयो । कोरोना संक्रमण भई ज्यान गुमाउनेहरुमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु पनि रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार २०२० को अन्तिम दिनसम्म नेपालमा ८ जना डाक्टरको निधन कोरोना संक्रमणका कारण भएको छ । नेपाल नर्सिङ संघका अनुसार ६ जना नर्सकाे निधन काेभिडका कारण भएकाे छ । साथै, प्रयोगशालाकर्मी, अहेव गरि अरु ५ स्वास्थ्यकर्मीको निधन भएको छ ।
हेल्थपाटीलाई प्राप्त तथ्यांक अनुसार डाक्टर नर्स र अन्य स्वास्थ्यकर्मी गरि स्वास्थ्य सेवामा खटिएका १९ जनाको निधन भएको छ । दुई डाक्टरकाे परिचय भने परिवारले बाहिर ल्याउन चाहनुभएन ।
महामारी सुरु भएदेखि नै स्वास्थ्यकर्मीहरु महामारीको अग्रस्थानमा रही सेवा गरिरहेका छन् । प्रत्यक्ष रुपमा कोरोना संक्रमितको उपचार नगरे पनि अन्य बिरामीको उपचारमा लाग्दासमेत धेरै स्वास्थ्यकर्मीहरु संक्रमित बन्न पुगेका छन् ।
महामारीको सुरुवातीमा विश्वले झेलेको व्यक्तिगत सुरक्षाका कवच अभावको सामना नेपाली डाक्टर तथा स्वास्थ्यकर्मीले पनि गर्नुपर्यो । कोरोना संक्रमण बढिरहँदा दिनरात,बालबच्चा परिवार नभनी लामो समयसम्म यानी कि डाइपर लगाएर समेत स्वास्थ्यकर्मीहरु कोरोनाको लडाइँमा होमिए ।
कतिपय अस्पताहरुमा महिनौँसम्म नियमित तलव र जोखिमभत्तासमेत पाएनन् । कोरोना संक्रमितको उपचारमा खटिदा आफूनै संक्रमित हुनपर्यो भने उहाँहरुले समाजको तिरष्कारसमेत खेप्नुपर्यो । आफ्नो पीडा,व्यथालाई थाँती राखेर स्वास्थ्यकर्मीहरुले आफ्नो कर्म र धर्मलाई निरन्तरता दिइरहेका छन् ।
हालसम्म संक्रमित स्वास्थ्यकर्मीमध्ये १९ जनाले कोरोनासँग हार खान पर्यो । नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालले काेराेनाका कारण निधन भएका सबै डाक्टर नेपाली स्वास्थ्य क्षेत्रको नक्षत्र रहेको भन्दै उहाँहरुले पुर्याउनुभएकोे योगदान अविष्मरणीय र अतुलनीय रहेको स्मरण गर्नुभयो ।
“बिरामीको उपचार गर्ने क्रममा नै उहाँहरुलाई कोरोना संक्रमण भयो । डा.रिजालले भन्नुभयो, “यसले सिंगो राज्यलाई ठूलो क्षति पुगेको छ । राज्यले उहाँहरुले पुर्याउनुभएको देनको उच्च कदर र सम्मान गर्नुपर्दछ ।”
नर्सिङ संघकी कोषाध्यक्ष एवं प्रवक्ता कल्पना श्रेष्ठका अनुसार कोभिडका कारण ६ जना नर्सलाई गुमाउनु पर्यो । उहाँले दिवंगत भएकामध्ये ४ जना सेवा निवृत र २ जना बिरामीको उपचार गर्दै गरेका नर्स रहेको जानकारी दिनुभयो । उहाँले अहिले पनि कोरोना महामारीमा नर्सहरु अग्रस्थानमा खटिरहेको र संक्रमितकै उपचार गर्ने क्रममा धेरै नर्सलाई संक्रमण भएको बताउनुभयो ।

कोरोना संक्रमणबाट निधन भएका डाक्टरहरु :
–वरिष्ठ कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन, डा.हरी सापकोटा । असोज १५ गते उहाँको निधन भयो । यो नेपालमा कोरोना संक्रमणबाट डाक्टरको निधन भएको पहिलो घटना थियो । उहाँले तीन दशकसम्म कर्णालीमा बसेर सेवा गर्नुभएको थियो ।
–नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा.नारायणबहादुर थापाको ७६ वर्षको उमेरमा कार्तिक ३० गते निधन भएको थियो । उहाँलाई पनि बिरामीको उपचारकै क्रममा संक्रमण पुष्टि भएको थियो । नेपालमा बाल शल्य चिकित्सा सेवा सुरु गर्नेमध्येका एक हुनुहुन्थ्यो । उहाँले वीर अस्पतालमा बाल शल्य चिकित्सा सेवा सुरु गर्नुभएको थियो ।
–त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिल झाको मंसिर १ गते निधन भयो । ३० वर्षसम्म त्रिवि शिक्षण अस्पतालमा सेवा गर्नुभएका झाले मुटुरोगको डिएम कार्डियोलोजी कार्यक्रमको सुरु गर्न ठूलो योगदान पुर्याउनुभएको थियो ।
–वरिष्ठ जनरल सर्जन डा.धु्रब मुडवरीको मंसिर ६ गते ७८ वर्षको उमेरमा निधन भयो । उहाँले पूर्वी तथा पश्चिम नेपाल पोखरा, राजविराज लगायतका स्थानमा सर्जरी सेवा सुरु गर्नुभएको थियो ।
–मंसिर २८ गते ६६ वर्षका छातीरोग विशेषज्ञ डा.नवीनराज बस्नेतको निधन भयो । कोरोना संक्रमणका कारण एक्युट डिस्ट्रेसको समस्या देखिएको थियो । उहाँ नेपाल प्रहरी अस्पतालका टिबी विभागका संस्थापक हुनुन्थ्यो ।
–पुस ११ गते नाक,कान घाँटी विशेषज्ञ डा.विवेक खत्रीको निधन भयो । कोरोना रिपोर्ट नेगेटिभ आइसकेपछि उहाँको निधन भएको थियो । ४४ वर्षका डा.खत्री विरेन्द्र सैनिक अस्पताल तथा वयोधा अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

नर्सहरु :
–कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था जटिल हुँदा असोज ३० गते नर्स विद्या जोशीको निधन भयो । उहाँले लामो समय वीर अस्पतालमा सेवा गर्नुभएको थियो ।
–यसैगरी विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षकी स्टाफ नर्स लमु तामाङको कार्तिक १७ गते निधन भएको थियो ।
–कार्तिक २५ गते ४८ वर्षकी सिनियर अनमी गोमा गुरुङको निधन भयो । उहाँ लुम्बिनी सांस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्यचौकी रुपन्देहीमा कार्यरत हुनुहुन्थ्यो ।
–यसैगरी कोरोना संक्रमित नर्स सुवर्णलक्ष्मी ताम्राकार, लक्ष्मी चित्रकार र चन्द्रकला परियारको निधन भयो ।

स्वास्थ्यकर्मीहरु :
–भदौ १० गते नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको निधन भएको थियो । महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षका सहनी थर भएका हेल्थ असिस्टेन्ट हुनुहुन्थ्यो ।
–असोज १२ गते महोत्तरी मनरा ६ सरपलोका सिनियर अहेव ५८ वर्षका राम सिकिलप्रसाद शाहको निधन भएको थियो ।
–कार्तिक २२ गते झापा शिव सताक्षी नगरपालिका ६ की २५ वर्षकी प्रयोगशालाकर्मी सृजना काफ्लेको कोरोना संक्रमणबाट निधन भयो ।
–मंसिर ७ गते अछामका ५५ वर्षका सिनियर अहेब कपिल श्रेष्ठको निधन भयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिदा श्रेष्ठ संक्रमित हुनुभएको थियो ।
–मंसिर ७ गते ५४ वर्षका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको निधन भयो । ३० वर्षदेखि स्वास्थ्य सेवामा लाग्नुभएका देवलाई पनि कोरोना रोकथाम तथा व्यवस्थापनका क्रममा संक्रमण भएको थियो ।
तपाईँको अभिमत