सर्लाहीमा प्रहरीकै अगाडि डाक्टरमाथि मुक्का, यसरी भएको थियो घटना
सर्लाहीको लालबन्दीमा डाक्टरमाथि हातपात भएको छ । लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको मनिषा हेल्थ केयरमा कार्यरत मेडिकल अफिसर डा. मुकेशकुमार साहमाथि बिहीबार हातपात भएको हो ।
नगरपालिकाको उममेयर कल्पना पाख्रिनको नेतृत्वमा आएको टोलीले आफूमाथि आक्रमण गरेको डा. साहको आरोप छ । अनुगमनका लागि भन्दै आएको नगरपालिकाको टोलीले प्रहरीकै अगाडि आफूलाई हातपात गरेको साहले आरोप बताउनुभयो ।
आफूलाई हातपात गरेपछि उल्टै ६ घण्टासम्म प्रहरी हिरासतमा लगेर थुनिएको आरोप डा. साहले लगाउनुभयो ।
हेल्थपाटीलाई प्राप्त सिसिटीभी भिडियोमा डाक्टर साहलाई केही व्यक्तिले घोक्र्याउँदै बाहिर निकालिएको र मुक्का हानिरहेको देखिन्छ ।
नगरपालिकाको ठूलो टोली आएर डाक्टरमाथि हातपात गर्नुका साथै अन्यायपूर्वक क्लिनिक सिल गरिएको सञ्चालक डा. राजीव झाको गुनासो छ ।
नगरपालिकाका कर्मचारीको मोटरसाइकलले ठक्कर दिएका व्यक्तिको उपचारको विषयमा विवाद हुँदा घटना भएको देखिन्छ ।
यसरी भएकाे थियाे घटना ?
असार १८ गते बिहान कार्यालय जाने क्रममा नगरपालिकाका योजना शाखा प्रमुख रुपेश चौलागाईँले चलाएको मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो । चौलागाईँका अनुसार उक्त मोटरसाइकलमा दुई जना युवा सवार थिए । ती युवकमध्ये राजा हुसेनको खुट्टामा चोट लागेको थियो । दुवैलाई उपचारका लागि नजिकै रहेको मनिषा हेल्थ केयरमा लगिएको थियो ।
सामान्य घाइते भएका उनीहरुलाई अनावश्यक उपचार गरेको, अनावश्यक परीक्षण गरेको आरोप चौलागाईँको छ । त्यसै दिन दिउँसो नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र डाक्टर उक्त क्लिनिकमा पुगेर घाइते युवकको उपचारबारे जानकारी लिएका थिए । नगरपालिकाका डाक्टरले बुझ्दा क्लिनिकमा अनावश्यक उपचार गरेको निष्कर्ष निकालेको चौलागाईँले बताउनुभयो ।
घाइते युवकले नमान्दा नमान्दै पनि खुट्टामा प्लास्टर गरिदिएको र डिस्चार्जसमेत गर्न नमानेको चौलागाईँको आरोप छ ।
हरिवनस्थित अर्को अस्पतालमा लगेर परीक्षण गर्दा पनि युवकको खुट्टामा कुनै समस्या नपाइएको दाबी चौलागाईँले गर्नुभयो ।
‘प्लास्टर लगाएको मान्छे हिजोदेखि नै प्लास्टर काटेर मोटरसाइकल चलाएर हिँड्न थालिसके’, चौलागाईँले भन्नुभयो, ‘केही नभएको व्यक्तिको खुट्टामा किन प्लास्टर लगाइयो ?’
कुनै समस्या नभएका अर्का युवालाईसमेत स्लाइन चढाइएको, अनावश्यक परीक्षण समेत गरेर धेरै बिल निकालिएको आरोप चौलागाईँको छ । ‘हामी नगरपालिकाका कर्मचारीलाई त यसो गर्छन्, अरु बोल्न नसक्नेलाई के गर्लान् ?’, चौलागाईँले प्रश्न गर्नुभयो ।
उपमेयर पाख्रिनले डाक्टरमाथि हातपात भएको अस्वीकार गर्नुभयो । क्लिनिकको सटर लगाउने क्रममा धकेलाधकेल भएको उहाँको भनाइ छ ।
नगरपालिकामा क्लिनिकको विषयमा उजुरी परेपछि नगरपालिकाको टोली अनुगमनका लागि गएको उपमेयर पाख्रिनले जानकारी दिनुभयो । प्रहरीसहित गएको डाक्टरमाथि कुटपिट नभएको उहाँले जिकिर गर्नुभयो ।
क्लिनिक सञ्चालनका लागि मात्रै अनुमति दिइए पनि अन्य काम पनि गर्दै आएको पाइएपछि सिल गरिएको दाबी उपमेयर पाख्रिनको छ ।
क्लिनिकमा अनावश्यक उपचार गरी चर्को शुल्क लिइने गुनासो अन्य स्थानीयले समेत गरेको पाख्रिनको भनाइ छ ।
बिरामीको अनावश्यक उपचार नगरेको उपचारमा संलग्न डा. मुकेशकुमार साहको छ । आवश्यक परीक्षण नै गरिएको र चाहिने भएरै प्लास्तर गरिएको डा. साहको भनाइ छ । ‘मैले पनि मेडिकल पढेको छु, कस्तोलाई के उपचार चाहिन्छ, मलाई थाहा छ’, उहाँले सुनाउनुभयो, ‘चाहिने उपचार नै गरेको हो ।’ उपचारमा गल्ती भएको भए सम्बन्धित ठाउँमा उजुरी गरेर कारबाही गर्नुपर्नेमा आफूमाथि कुटपिट गरिएको उहाँको गुनासो छ ।
प्रहरीकै अगाडि कुटपिट गरेर उल्टै प्रहरी चौकीमा थुन्दा आफू मानसिक रुपमा विक्षिप्त भएको उहाँले बताउनुभयो । आफूलाई बिलको कुरा थाहा नहुने र बिरामीको उपचार मात्र गर्ने डा. साहको भनाइ छ । अस्पताल सिल गरेपछि आफ्नो रोजगारी समेत गुम्ने अवस्था रहेको उहाँको गुनासो छ ।
कुनै कारणबिना नगरपालिकाले नियतवस आफ्नो क्लिनिकमा सिल गरेको गुनासो सञ्चालक झाको गुनासो छ । उहाँका अनुसार एक महिनाअघि मात्र नगरपालिकाले अनुगमन गरेको थियो । अहिले अनुगमनको नाममा रिसइबी साँध्ने काम गरेको र सोही ठाउँमा रहेको अर्को अस्पतालसमेत सिल गरिदिएको उहाँले गुनासो गर्नुभयो ।
प्रहरीकै अगाडि डाक्टरमाथि कुटपिट हुनु र उल्टै डाक्टरलाई थुन्नु निकै दुःखद् घटना भएको झाले बताउनुभयो । ‘उसै त गाउँमा काम गर्ने डाक्टर पाइँदैन’, झाले भन्नुभयो, ‘यस्तो घटना भएपछि हामीले कसरी अस्पताल चलाउने ?’
उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो । साथै अन्यायपूर्वक आफ्नो अस्पताल र क्लिनिकमा गरिएको सिल खोलिनुपर्ने पनि झाको माग छ ।
तपाईँको अभिमत