१६ प्रतिशत नेपालीको सुन्ने क्षमतामा समस्या, कसरी हुन्छ उपचार ?
सन्दर्भ : विश्व श्रवण दिवस

आज विश्व श्रवण दिवस । १६ प्रतिशत नेपालीमा श्रवण सम्बन्धि कुनै न कुनै समस्या रहेको वीर अस्पतालका नाक, कान घाँटीरोग विशेषज्ञ प्रा.डा.दीपेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।
डा.श्रेष्ठका अनुसार कानमा बाहिर, मध्य र भित्री गरेर तीन भाग हुन्छन् । कानको भित्री भागमा ककलिया हुन्छ । ककलियाले बाहिरबाट आएको ध्वनि मोकानिकल इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर मस्तिष्कसम्म पुर्याउने काम गर्दछ र हामी सुन्छौँ । तर ककलिया भित्र, नशामा खराबी आयो भने साउण्ड इनर्जी मस्तिष्कसम्म जान बन्द हुन्छ र मानिसले कान सुन्न छाड्छ ।
मानिसमा कहिलेकाँही बिना कारण सुन्ने क्षमता हराउन सक्ने डा.श्रेष्ठ बताउनुहुन्छ ।
कसैलाई हाँडे रोग लागेर, मेनेन्जाइटिस भएर, मस्तिष्कमा संक्रमण भएर, टाउकोमा चोटपटक लागेर, डाइलाइसिस गर्दा पनि सुन्ने क्षमतामा कमी आउनसक्छ। साथै कहिलेकाँही विभिन्न रोगको औषधि खाँदा त्यसको साइडइफेक्टले सुन्ने क्षमतामा ह्रास आउन सक्छ ।
कान नसुन्ने समस्या भएका व्यक्तिहरुमा मानसिक र शारीरिक दुवै असर देखिने डा.श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार कान कम सुन्न थालेपछि मानिसहरूमा आत्मबल घट्ने, उनीहरुको प्रस्तुतीकरणमा असर पर्ने, हिनताबोध हुने, सामाजिक हुन नसक्ने हुन्छ ।
नसुन्ने व्यक्तिहरूमा सुन्ने व्यक्तिको तुलनामा १० प्रतिशत डिमेन्सियाको जोखिम रहन्छ यी समस्याहरू देखिएपछि तनाव बढ्ने र उनीहरुलाई डिप्रेशनसम्म पुर्याउँछ ।
श्रवण शक्ति न्यून रहेका बिरामीले कानमा डिभाइस लगाएर सुन्न सकिने बनाउन सकिन्छ । तर कानको सुन्ने क्षमता अत्यन्त कम भएका, शल्यक्रिया गरेर पनि सुन्न नसक्ने, डिभाइस लगाएर पनि सुन्न नसकेका, सबै उपचार पद्धति अपनाउँदा पनि सुन्न नसकेका बिरामीलाई शल्यक्रियामार्फत कक्लियर इम्प्लान्टलाई प्रत्यारोपण गरेर सुन्न सकिने डा.श्रेष्ठले जानकारी दिनुभयो ।
तपाईँको अभिमत