जटिल शल्यक्रियामार्फत छिनेको हत्केला जोडेपछिको अनुभव (भिडियो)
ट्रमाकाे जटिल एवं सफल शल्यक्रिया
काठमाडौं । सर्लाहीका १८ वर्षका रवि सिंह काठमाडौं दक्षिणकालीस्थित फ्लेक्स पाइप बनाउने कारखानामा काम गर्नुहुन्थ्यो । असार २९ गते काम गर्दैगर्दा मेशिनले उहाँको दाहिने हत्केला छिनाल्यो । दुर्घटना भएको एक घण्टाभित्रै टुक्रेको हत्केलासहित घाइते सिंहलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्याइयो ।साँझ ६ बजेतिर अस्पताल पुर्याइएका सिंहको हातको अवस्था गम्भिर थियो । अस्पताल ल्याउने बित्तिकै तुरुन्तै डाक्टरहरुले उहाँलाई अप्रेशन थियटरमा लैजानुभयाे ।
प्लाष्टिक सर्जरी बिभाग प्रमुख प्रा.डा.पीयूष दाहाल ,प्लाष्टिक सर्जनहरु डा.कृष्ण मानन्धर, डा.अपार लामिछाने, डा.कलमराज पाठक तथा एनेस्थेसियाका डा. रुपेश यादव, डा.छिरिङ शेर्पा र नर्सहरु पिङ्की लागेजु र अनुपमा फुयाँल शल्यक्रियाका लागि तयार हुनुभयो र १ घण्टाभित्रै शल्यक्रिया सुरु भयाे । पूर्ण रुपमा छिनेको अंग जोड्नु असामान्य र जटिल काम थियो, त्यसमा पनि टुक्रा भएको हत्केला जोड्नु अझै अप्ठेरो काम रहेको प्लाष्टिक सर्जन मानन्धर बताउनुहुन्छ ।
उहाँका अनुसार हत्केलामा साना–साना नसाहरु हुन्छन् । ती नसालाई खोज्दै – खोज्दै जोड्दै जानुपर्ने हुन्छ त्यसका लागि रौं भन्दा पनि मसिनो धागोको आवश्यक पर्दछ, जुन जहाँ पायो त्यही भेटिन्न । डा.मानन्धरले सिंहको शल्यक्रिया गर्न २ वटा अप्रेशन गर्नुपरेको जानकारी दिनुभयो । एउटा टेबलमा टुक्रेको हत्केला र अर्काे टेवबलमा जोड्नुपर्ने भाग राखेर विभिन्न प्रविधिको सहायताले बिस्तारै– बिस्तारै जोड्दै लग्यौँ, “बिरामीलाई पूर्ण रुपमा बेहोस बनाउन परेन,आफ्नो हात जोड्दै गएको दृश्य बिरामी आफैले पनि हेरि रहनुभएको थियो ।”
हत्केलाका १८ वटा नसा, ५ वटा हड्डी, ३ वटा रगतको नसा, ५ वटा भेन तथा छालालाई जोड्दै हत्केला जोड्न हामीलाई लगभग १० घण्टा लाग्यो, मानन्धरले खुशी हुँदै भन्नुभयो, यो शल्यक्रिया हाम्रा र बिरामी दुबैका लागि ठूलो उपलव्धी थियो । उपचारमा संलग्न डाक्टरहरु शल्यक्रिया सफल हुनुमा डाक्टरको मात्रै नभई बिरामी र उहाँका आफन्तको सतर्कताको पनि नतिजा रहेको बताउनुहन्छ । घटना भएको एक घण्टामा नै अस्पताल आइपुग्नु र टुक्रेको अंग सावधानी तथा सुरक्षित तरिकाले ल्याउनु अत्यन्तै महत्वपूर्ण रहेको उहाँहरुको भनाई छ ।
टुक्रेको हत्केलालाई सफा प्लाष्टिकमा राखी चाँडो अस्पताल ल्याउँदा संक्रमण हुन पाएन र तुरुन्तै उपचार हुँदा सफल भयो, सर्जरी प्रमुख प्रा.डा.दाहालले भन्नुभयो, यो घटनाबाट सबैले सिक्नुपर्ने पाठ के हो भने कुनै पनि घाइते वा बिरामीलाई जति छिटो स्वास्थ्य संस्था लगिन्छ उति नै उपचार प्रभावकारी हुन्छ र थप जटिलताबाट जोगाउन सकिन्छ ।
अस्पतालका अनुसार ट्रमा सेन्टरमा यस्तो प्रकारको जटिल र ठूलो शल्यक्रिया भएको यो पहिलोपटक हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सन्तोष पौडेलले कोरोना महामारीको समयमा जोखिम मौल्दै उच्च मनोबलका साथ शल्यक्रिया गरेका डाक्टर, नर्स तथा सहयोगीहरुको प्रशंसा गर्दै उदाहरणीय काम भएको बताउनुभयो ।
घाइते सिंहलाई साउन २२ गते डिस्चार्ज गरिएको थियो । हाल सिंहको हात राम्ररी चल्छ । मेशिनले २ टुक्रा बनाएको हात जोडिने कल्पनासमेत नगर्नुभएका सिंहले हात जोडिँदा आफूले डाक्टरलाई भगवान पाएजस्तो महसुस भएको बताउनुभयो । हातको अवस्थामा अझै सुधार ल्याउन सिंहले फिजियोथेरापीलाई निरन्तरता दिनुपर्ने हुन्छ । शल्यक्रिया गरि डिस्चार्ज हुँदासम्म बिरामीको ५ लाख बढी खर्च भएको सिंहले जानकारी दिनुभएको छ ।
तपाईँको अभिमत