लक्षण नदेखिएका संक्रमितलाई कोरोनाले के- के असर गर्छ ?

काठमाडौं । कोरोना संक्रमित बिरामीको संख्या नेपालमा बढ्दो छ । साथै मृतकको संख्या पनि दिनानुदिन बढिरहेको छ । हालसम्मको विश्ववको तथ्यांक हेर्दा ८० प्रतिशत संक्रमितमा लक्षण नै देखिएको छैन वा साधारण रुघाखोकी जस्ता लक्षण देखा पर्न सक्छन् ।
करिब १५ प्रतिशत संक्रमितको अवस्था जटिल हुने र उनीहरुलाई अस्पताल भर्ना गरि अक्सिजन दिनुपर्ने हुनसक्छ । ५ प्रतिशत संक्रमितलाई भने सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहयोगमा उपचार गर्नुपर्ने आवश्यकता पर्दछ । कोरोनाबारे विभिन्न अध्ययन अनुसन्धानहरु भइरहेका छन् र यससम्बन्धी विभिन्न जिज्ञाशा र भम्र पनि यथावत् छन् ।
हेल्थपाटीलाई पाठकले कोरोनाबारे विभिन्न प्रश्न र जिज्ञाशा राख्नुभएको थियो । उहाँहरुका ती जिज्ञासामा त्रिवि शिक्षण अस्पतालका सह–प्राध्यापक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बमका जवाफ यस्ता छन् ।
कोरोनाका बिरामीलाई निको हुन कति समय लाग्छ ?
साधारण लक्षण भएका बिरामीलाई निको हुन करिव २ हप्ता समय लाग्छ भने जटिल बिरामीलाई निको हुन ३–६ हप्ता लाग्न सक्छ ।
मृत्यु भएकाहरुको समूह कस्तो छ ?
नेपाल र भारतको तथ्यांक हेर्ने हो भने ६० वर्षभन्दा माथि उमेर समूहका संक्रमितको मृत्यु धेरै भइरहेको छ । चीनमा गरिएको अध्ययन अनुसार ८० वर्षभन्दा माथिका बिरामीमा २१.९ प्रतिशत, जागिरबाट सेवा निवृत्तहरुमा ८.९ प्रतिशत, मुटुरोगी १३.२ प्रतिशत, मधुमेहमा ९.२ प्रतिशत, उच्च रक्तचापमा ८.४ प्रतिशत, दीर्घ फोक्सो रोगीमा ८ प्रतिशत, क्यान्सरका बिरामीमा ७.६ प्रतिशत र पहिला कुनै पनि रोग नभएका व्यक्तिमा १.४ प्रतिशत मृत्युदर देखिएको थियो ।
संक्रमित मध्ये पुरुषको मृत्युदर ४.७ प्रतिशत र महिलाको मृत्युदर २.८ प्रतिशत रहेको छ ।
कोरोना संक्रमितले के सधैंका लागि प्रतिरोधात्मक शक्ति विकास गर्छन् ?
कोरोना संक्रमितको शरीरमा भविष्यमा कोरोनासँग सुरक्षित रहन एण्टीवडी विकास हुन्छ । यद्यपि उनीहरुमा कोरोना धेरै पछिसम्म दोहोरिँदैन भन्ने यथेष्ट प्रमाणहरु छैनन् । कोरोना संक्रमितको शरीरमा विकास भएको कोरोना विरुद्धको एण्टीवडी कहिलेसम्म शरीरमा सुरक्षित रहन्छन् भन्ने तथ्य पनि एकिन भइसकेको छैन ।
के सबै कोरोना संक्रमित अस्पताल भर्ना हुनैपर्छ ?
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का अनुसार विशेषगरि लक्षण भएका कोरोना संक्रमित, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई स्वास्थ्य संस्थाहरुमा भर्ना गर्नुपर्दछ । तर धेरै देशरुमा संक्रमितको संख्या अत्याधिक हुँदै गएकाले लक्षण नभएका स्वस्थ पृष्ठभूमि भएका संक्रमितहरु मापदण्ड पूरा गरि घरमै आइसोलेट भएर बस्न सक्नुहुन्छ ।
कोरोना भाइरस खाद्यवस्तुबाट पनि सर्छ ?
अहिलेसम्म कोरोना भाइरस खाद्यवस्तुबाट सर्ने प्रमाणित भएको छैन । तर खाद्यवस्तु प्याकेजिङ्ग वस्तु संक्रमितको सम्पर्कमा रहेको छ भने जोखिम हुन्छ । यो श्वाश्प्रश्वासको माध्यमबाट सर्ने भएकाले संक्रमितले खोक्दा, हाछ्युँ गर्दा निस्कने कणबाट सर्ने तथ्य पत्ता लागेको छ । भाइरस खाद्य वस्तुमा वृद्धि नहुने र यसलाई वृद्धि हुनलाई जनावर वा मानिसको शारीरिक वातावरण आवश्यक पर्दछ ।
के दिशा पिसाबबाट कोरोना संक्रमण फैलिन सक्छ ?
कोरोना भाइरसले आन्द्रामा संक्रमण गर्न सक्छ । एक अध्ययन अनुसार कोरोना भाइरस दिसाबाट कल्चर गरिएको छ । तर पनि अहिलेसम्म मलमूत्रबाट संक्रमण भएको पाइएको छैन ।
कोरोना संक्रमित आमाले बच्चालाई स्तनपान गराउन सक्छिन् ?
संक्रमित आमा सिकिस्त भएर बच्चालाई स्तनपान गराउन असमर्थ छिन् भने स्तनबाट दूध निचोेरेर कुनै सफा भाँडोबाट बच्चालाई दूध खुवाउन सकिन्छ । संक्रमित आमा गम्भीर बिरामी भएकी छिन् वा स्तनबाट दुध निकाल्न असमर्थ छिन् भने अन्य आमाको सहयोग लिई स्तनपान गराउन सकिन्छ । त्यो पनि सम्भव नभए आमा तन्दुरुस्त नहुञ्जेल वैकल्पिक दुधको प्रयोग गर्नुपर्ने हुनसक्छ । तर संक्रमित आमाको दुधबाट कोरोना संक्रमण हुने प्रमाण अहिलेसम्म भेटिएको छैन ।
संक्रमितले छोएका सामानहरुबाट कोरोना सर्छ ?
संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूनँ गर्दा नाक, मुखबाट निस्कने छिटाका कणहरु टेलिफोन, टेबल,चुक्कुल आदि सामानहरुमा टाँसिएर बसेका हुन सक्छन् । यदि स्वस्थ व्यक्तिले यस्ता सामान छोएर हातले नाक, मुख, आँखा छोएमा यो भाइरस सर्न सक्छ । तर कति समयसम्म यस्ता वस्तुका सतहमा कोरोना भाइरस सक्रिय रहन्छन् भन्ने यथेष्ट प्रमाण छैन ।
अन्य फ्लू भाइरसभन्दा कोरोना किन खतरनाक छ ?
मौसमी फ्लूका विरुद्ध संसारमा धेरै व्यक्तिहरुले रोग प्रतिरोधात्मक शक्ति विकास गरिसकेका हुन्छन् । तर कोरोना भाइरस नितान्त नयाँ भाइरस भएकाले यस विरुद्ध संसारमा कसैसँग पनि प्रतिरोधात्मक शक्ति थिएन । त्यसैले कुनै पनि व्यक्तिमा यो भाइरसले आक्रमण गर्न सक्छ ।
मौसमी फ्लूबाट संसारमा १ प्रतिशतभन्दा कमको मृत्यु भएको तथ्यांक छ । तर कोरोना संक्रमणको दर अहिले ३.४ प्रतिशत रहेको छ ।
के अल्कोहल (मद्यपान) ले कोरोना संक्रमणलाई रोक्छ ?
अल्कोहलले शरीरभित्रको वातावरणमा रहेको भाइरसलाई नष्ट गर्न सक्दैन । मद्यपानले संक्रमितकाे रोग प्रतिरोधात्मक शक्ति झनै घटाउँछ । ६० प्रतिशत अल्कोहलबाट बनेको स्यानिटाइजरले छालामा रहेको भाइरसलाई निष्कृय गर्न सक्छ । तर शरीरभित्र रहेका भाइरसमा यसले असर पुर्याउन सक्दैन ।
धुमपान र कोरोना संक्रमण
धुमपानले श्वश्प्रश्वासका धेरै रोगहरुलाई बढावा दिन्छ । जस्तै दम, रुघाखोकी, चिसो इन्फुलूएन्जा, निमोनिया, क्षयरोग आदि । श्वाश्प्रश्वास नलीहरुमा धुमपानले गरेका असरका कारण कोरोना भाइरस छिट्टै नलीमा आकर्षित हुने अध्ययनले देखाएको छ ।
अत्याधिक धुमपान गर्ने व्यक्तिलाई कोरोना संक्रमण हुँदा छिट्टै एक्यूट रेस्पिरेटरी डिस्ट्रेस सिण्ड्रोम जस्तो जटिल अवस्थामा पुर्याउँछ ।
कति तापक्रममा यो भाइरस नष्ट हुन्छ ?
१५ मिनेटसम्म ५६ डिग्री सेल्सियस तापक्रम रहेमा कोरोना भाइरस १० हजार यूनिटसम्म झरेर मर्ने अनुसन्धानबाट पत्ता लागेको छ ।
संक्रमणबाट कसरी बच्ने ?
कोरोना संक्रमणको लाक्षणिक उपचार बाहेक प्रमाणित उपचार हालसम्म नरहेकाले व्यक्तिगत सुरक्षाका निर्देशित मापदण्ड पालना गर्नु नै अति उत्तम उपाय हो । विगत ६ महिनादेखि भएका अध्ययन अनुसार हात तथा व्यक्तिगत सफाई, भौतिक दुरीलाई ख्याल गर्ने, सही तरिकाबाट मास्कको प्रयोग, हरियो सागपात तथा भिटामिनयुक्त पोषिलो खानेकुराहरु खानुपर्दछ । धुमपान र मद्यपान गर्नै हुँदैन ।
संक्रमणबाट जोगिन कस्ता मास्क प्रयोग गर्नुपर्दछ ?
चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका कर्मचारी, संक्रमित व्यक्ति र उनका सम्पर्कमा रहेका व्यक्ति, वृद्ध–वृद्धा र दीर्घरोगीले अनिवार्य रुपमा एन–९५ जस्ता फिल्टरसहित मास्कको प्रयोग गर्नुपर्दछ । जोखिम कम भएका स्वस्थ व्यक्ति वा अन्यले काममा जाँदा मेडिकल, सर्जिकल मास्कको अनिवार्य प्रयोग गर्नुपर्दछ ।
के लक्षण नभएका संक्रमितबाट कोरोना सर्छ ?
लक्षण नभएका संक्रमितबाट भाइरस अन्य व्यक्तिमा सर्न सक्ने सम्भावना कम हुन्छ । त्यस्ता संक्रमितमा खोकी वा हाच्छ्युँ कम हुने गर्छ । करिब ५ कोरोना संक्रमितमध्ये एक जनामा सास फेर्न गाह्रो हुने अध्ययनहरुले देखाएका छन् । ६० वर्ष भन्दा माथिका र दीर्घरोगीहरु जस्तै दम, मधुमेह, मुटुको समस्या, उच्च रक्तचाप, क्यान्सर लगायतका रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका तथा अत्याधिक धुमपान र मद्यपान गर्नेहरु संक्रमणको उच्च जोखिममा रहन्छन् ।
लक्षण नै नदेखिएका कोरोना संक्रमितमा भविष्यमा के–कस्ता असर देखिन सक्छन् ?
विगत ६ महिनादेखि यो संक्रमण देखिएको हो । त्यसैले यसबारेमा अध्ययन अनुसन्धानहरु भइरहेका छन् । फोब्र्स जर्नलका अनुसार नेदरल्याण्डमा भएको अध्ययन अनुसार घरमै संक्रमण पश्चात् मनोवैज्ञानिक त्रास र समस्या कायमै रहेको भेटिएको छ ।
१ हजार ६२२ संक्रमितमा गरिएको एक अध्ययन अनुसार ४५ प्रतिशतलाई छाती भारी हुने, ३६ प्रतिशतलाई शरीर तथा टाउको दुख्ने, २९ प्रतिशतलाई चक्कर लाग्ने, ३० प्रतिशतलाई मुटुको ढुकढुकी बढ्ने समस्या पाइएको थियो । यतिमात्रै होइन निकट भविष्यमा रोग प्रतिरोधात्मक शक्ति घट्न सक्ने पनि अध्ययनले देखाएको छ । यसबाट के भन्न सकिन्छ भने लक्षण भएकालाई मात्रै होइन लक्षण नै नभएका संक्रमितलाई पनि यसको असर लामो समयसम्म देखिन्छ ।
एनल्स अफ इन्टरनल मेडिसिन जर्नलका अनुसार फोक्सोमा साना– साना इन्फ्लामेशन देखिएका छन् । र केही लक्षण नभएका संक्रमितमा भविष्यमा फोक्सोका दीर्घरोग उत्पन्न गराउँन सक्छ । न्यू एरिजोना कन्सर्नका अनुसार लक्षण नभएका कोरोना संक्रमितमा छातीको सिटी स्क्यान् गर्दा केही दागहरु देखिएका छन् र भविष्यमा श्वाश्प्रश्वासका रोग लगायत प्रतिरोधात्मक क्षमतामा कस्तो असर पुर्याउँछ, यस सम्बन्धमा अध्ययन जारी छ ।
तपाईँको अभिमत