छर-छिमेकमा नयाँ व्यक्ति देखे खबर गर्नु : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोग (कोभिड - १९) को संक्रमण नियन्त्रणका लागि सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले लकडाउन खुलेसँगै बजारमा भीड देखिनुका साथै सार्वजनिक यातायातबाट आवतजावत गर्नेको क्रम बढेकाले उच्च सर्तकता अपनाउनपर्ने देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, सार्वजनिक सवारी साधनमा आवतजावत गर्ने क्रम बढिरहेको छ । बजारमा चहलपहल बाक्लिदै गएको छ । लामो बन्दका कारण रोकिएको काम सकाउन हामी लागिरहेका छौ तर जोखिम यथावत नै छ । लामो समयको बन्दाबन्दीका कारण साथीभाइ नातेदारसँग भेटेर चाडवाड मनाउन उत्साहित भएपनि जीवनशैली समान्य गर्नेबला नभएको उहाँले स्पष्ट पार्नुभयो ।
केहिदिन यता एकै ठाँउमा धेरै कोरोना संक्रमित भेटिएकाले समुदायस्तरमा संक्रमण फैलिएको हो कि भन्ने चर्चा भइरहेको छ तर हालसम्म नेपालमा कोरोना समुदायमा फैलिएको प्रमाणित नभइसकेको बताउँदै उहाँले भाइरसको फैलावटको बर्गिकरणका आधारमा विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाँउ विशेषमा कोभिड १९ को केस भएको मुलुकमा सूचीमा राखेको जानकारी दिनुभयो ।
यसका बारेमा स्थानिय तहहरुबाट थप खोज पड्तालको काम निरन्तर भइरहेको गौतमले बताउनुभयो । कोरोना महामारीको संक्रमणलाई थप फैलन नदिन सबैले उच्च सतर्कत अपनाउनुपर्ने भन्दै उहाँले गाँउ टोल छरछिमेकमा नयाँ व्यक्ति देखिएमा खबर गर्न, अन्तरािष्ट्रय सिमा नाकामा कडाइ गर्न,कोभिड नन कोभिडको उपचारमा अनिच्छा नदेखाउन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सहयोग गर्न, लकडाउन फेरि गर्ने अवस्थाको सृजना नगन र जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
राजनीतिक तथा गैराजनीतिक कुनै पनि भेलाको आयोजना नगर्न, अनावश्यक घरबाट बाहिर ननिस्कन, निस्कनै परेमा नाक र मुख छोपिने गरि मास्कको प्रयोग गर्न बैंक पसलमा जादा कम्तिमा २ मिटरको दुरीमा बस्न तथा विदेशबाट आएकाले अनिवार्य १४ दिन क्वारेन्टिनमा बसेर आफु र अरुलाई संक्रमणबाट जोगाउन पनि गौतमले अनुरोध गर्नुभयो । ज्वरो आएमा, सुख्खा खोकी लागेमा, सास फेर्न अप्ठेरो भएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि उहाँले अपिल गर्नुभयो ।
तपाईँको अभिमत