नर्समाथि अन्याय थोपर्दै निजी अस्पताल, छानबिन समिति गठन
चाहिँदा भाँडो नचाहिँदा ठाँडो
नेपालमा भने नर्स बढी भएको आभाष दिलाइरहेको छ वर्तमान अवस्थामा अस्पतालहरुले देखाएको व्यवहारले ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले सन् २०२० लाई मिडवाइफ र नर्सको वर्ष घोषणा गरी उनीहरुको मनोबल बढाउने गरि कार्यक्रम ल्याउन सदस्य राष्ट्रहरुलाई आह्वान गर्दै आएको छ । हाल कोरोना भाइरस रोग (कोभिड–१९) रोकथाम र उपचारमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीकोे भूमिका अतुलनीय रहेकाले उनीहरुलाई उत्साहित र सम्मान गर्नुपर्ने डब्ल्यूएचओले बताउँदै आएको छ ।
इबोला नियन्त्रण हुनुमा स्वास्थ्यकर्मीकै देन महत्वपूर्ण रहेको स्मरण गर्दै डब्ल्यूएचओले वर्तमान अवस्थामा नर्स लगायत स्वास्थ्यकर्मीलाई अग्रस्थानको सिपाहीको संज्ञा दिएको छ । उसका अनुसार धेरै देशले नर्सको अभाव झेलिरहेका छन् जसका कारण कोरोना उपचारमा समस्या भइरहेको छ । नेपालमा भने नर्स बढी भएको आभाष दिलाइरहेको छ वर्तमान अवस्थामा अस्पतालहरुले देखाएको व्यवहारले ।
बिरामीको चाप धेरै हुँदा नर्सलाई अति न्यून तलव दिई पेलानमा राखेका अधिकांश निजी अस्पतालले वर्तमान समयमा बिरामीे कम भएकाले सेवा सुविधाले धान्न नसक्ने भन्दै घर बस भन्न थालेपछि हजारौं नर्स रोजगार विहिन अवस्थामा पुगेका छन् भने रोजगार गुम्ने पीरले तनावमा छन् । चाहिँदा भाँडो नचाहिँदा ठाँडो भन्ने नेपाली उखानको चरितार्थ अस्पतालहरूले नर्सलाई गरेका छन्
यस्तो अवस्थामा निजी अस्पतालहरुले नर्सको संख्यामा कटौती गर्दै जाने हो भने करिव १० हजारको हाराहारीमा नर्स रोजगार विहिन हुने आँकलन गर्न सकिन्छ ।
नेपाल नर्सिङ काउन्सिलमा मार्च १२ सम्म ९५ हजार ३६३ जना नर्स दर्ता छन् । जसमा स्टाफ नर्स ६० हजार ७९५, अनमी ३३ हजार ७२४ जना र विदेशी नर्स ८४४ रहेका छन् । दर्ता गरिएको भन्दा नर्सको संख्या अझ धेरै रहेको आँकलन गरिएको छ । तर आधाभन्दा धेरै रोजगार विहीन छन् जसमा करिव २० हजार जतिमात्रै सरकारी अस्पतालमा छन् भने बाँकी निजी अस्पतालमा कार्यरत छन् । यस्तो अवस्थामा निजी अस्पतालहरुले नर्सको संख्यामा कटौती गर्दै जाने हो भने करिव १० हजारको हाराहारीमा नर्स रोजगार विहिन हुने आँकलन गर्न सकिन्छ ।
पीडित एक नर्सको भनाइ ....
म विगत एक वर्षदेखि काठमाडौंको एक निजी अस्पतालमा कार्यरत छु । सो अस्पतालमा हामी १४ जना नर्स छौँ । तर अस्पताल प्रशासनले अहिले तपाईहरुको आवश्यक छैन बिदामा बस्नु भनिरहेको छ ।
अस्पतालमा बिरामीको चाप हुँदा दिनरात नभनी हामी खटियाँै त्यतिबेला कम पारिश्रमिक दिइन्थ्यो । अहिले कोभिडको बेला पनि खटिरहेका छौँ । तर सामान्य समयमा भन्दा अहिले बिरामीको चाप घटेको भन्दै हामीलाई आवश्यक छैन भन्दै निकाल्न खोजिएको छ । यो त सरासर अन्याय होइन र ? नर्स बिना अस्पताल चल्दैन भन्ने सबैलाई थाहा छ तर कहिले पनि हाम्रो मूल्यांकन हुँदैन र गर्न पनि खोजिँदैन । अहिले बिरामी आएनन् भनेर अस्पतालले तिमीहरु घर बस भन्नु कत्तिको न्यायोचित हो ? न्याय खोजिरहेका छौँ हामी ।
कोभिडको उपचार र रोकथाममा उनीहरु अहोरात्र खटिरहेको बताउँदै विभिन्न बहानामा नर्सको जागिर खोस्ने प्रवृति सह्य नहुने
नेपाल नर्सिङ संघ के गर्दैछ ?
संघका अध्यक्ष मनकुमारी राईले अस्पतालहरुबाट नर्सलाई निकालिरहेको मौखिक गुनासो अत्याधिक आइरहेकाले यसको अनुगमन गर्न ५ सदस्यीय समिति गठन भएको जानकारी दिनुभयो । उहाँले नर्सिङ शिक्षक, नर्सिङ कर्मचारी, अस्थायी कोरोना अस्पतालमा खटिएका नर्सिङ कर्मचारी वा हाल बिदामा बसाएका नर्सिङ कर्मचारीलाई तलव नदिएको वा जागिरबाट निकाल्न खोजिएको छ भने खबर गर्न सबै नर्सलाई आग्रह गर्नुभयो ।
उहाँका अनुसार कोरोना संक्रमण देखिएयता धेरै नर्सको जागिर खोसिएको छ भने धेरै अस्पताल निकाल्ने प्रक्रियामा रहेको गुनासो संघमा आएको छ ।
उहाँले भन्नुभयो, धेरै नर्स दिदी बहिनीहरुले आफ्नो रोजीरोटी खोसियो भनेर हामीलाई जानकारी गराउनुभएको छ लिखित निवेदन नआएकाले हामीले संख्यात्मक रेकर्ड राखेका छैनाँै तर हामीले गुनासो गरेका नर्सहरु कार्यरत अस्पतालका व्यवस्थापकहरुसँग कुरा गरिरहेका छौँ, केहीको समस्या समाधान पनि भएको छ, समिति स्थलगत अनुगमनमा जाँदैछ, हालको समस्या समाधानमा संघ स्फुर्त रुपमा लाग्नेछ ।
अध्यक्ष राइले बिरामीको उपचार र हेरचाहमा नर्सको भूमिका र जिम्मेवारी सदैव उच्च रहने र हाल कोभिडको उपचार र रोकथाममा उनीहरु अहोरात्र खटिरहेको बताउँदै विभिन्न बहानामा नर्सको जागिर खोस्ने प्रवृति सह्य नहुने बताउनुभयो ।
संघले वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ । सदस्यहरुमा उपाध्यक्ष मिना खड्का, महासचिव नर्बदा थापा, सदस्य हरिप्रसाद कोजु र अम्बिका पौडेल हुनुहुन्छ ।
तपाईँको अभिमत