कोरोना कालमा देखिने भयानक सपनाबाट छुटकारा पाउने ५ उपाय
मानिस निदाएपछि सपना देख्छ। धेरै सपना सामान्य हुन्छन्। जुन केहीबेरमै सपना देख्नेले बिर्सन्छ। तर कतिपय सपना भयानक र अनौठा देखिन्छन्। विज्ञहरूका अनुसार कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा यस्ता भयानक र अनौठा सपना धेरैले देख्ने गरेका छन्। जसका कारण उनीहरूमा मानसिक समस्या उत्पन्न गराएको छ। यो समयमा त्यस्ता सपनाबाट छुटकारा पाउने ५ उपाय विज्ञहरूले सुझाएका छन् :
सपनामा ध्यान नदिने
देखिएको सपनामा ध्यान दिनु हुँदैन। कतिपय व्यक्तिले कुनै सपना देखेपछि त्यसको परिणाम बारे सोच्न थाल्छन्। जसले चिन्ता बढाउँछ।
अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनका डाक्टर जेनिफर मार्टिनका अनुसार सपना दिमागमा आउने सामान्य भावनाको प्रक्रिया हो। त्यसैले उनी जस्तोसुकै सपना देखे पनि त्यसलाई सामान्य रूपमा लिनु पर्ने बताउँछिन्। ‘विस्तारै लामो श्वास लिनुहोस्’, उनी भन्छिन्, ‘त्यसपछि सक्नुहुन्छ भने फेरि सुत्नुहोस् नत्र केही कुरा गरेर सपनाबाट ध्यान मोड्नुहोस्।’
उनले सपनाबाट ध्यान मोड्न पज्जल गेम, किताब पढ्ने वा अर्को कोठामा केही समय शान्तसँग रहन सकिने उपाय बताएकी छिन्।
सुत्नुअघि सकारात्मक कुरा मात्र हेर्ने
सुत्नुअघि कोभिड–१९ का समाचार वा घटना हेरेर सुतिन्छ भने अवश्य पनि ती घटना सपनामा देखिनेछन्। त्यसैले सकेसम्म सुत्नुअघि भयानक वा नकारात्मक समाचार, भिडियो वा त्यस्ता सामग्री हेर्न हुँदैन।
डा. मार्टिनले सुत्नुअघि सकारात्मक तस्बिर वा रमाइलो भिडियो हेर्नुपर्ने सुझाव दिएकी छिन्। ‘तपाईँका रमाइला क्षणका तस्बिर हेर्दै केही समय बिताउनुहोस्, युट्यूबमा रमाइला भिडियो हेर्नुहोस् वा कुनै रमाइलो खेल खेल्नुहोस्’, उनी भन्छिन्, ‘दिनमा हामीले देखेका तस्बिर, विशेषगरी सुत्नुअघि हेरिएका तस्बिर धेरैजसो सपनामा आउने गर्छन्।’
आफ्नो निद्राको ख्याल गर्ने
डा. मार्टिनका अनुसार निद्रा महत्वपूर्ण पक्ष हो। अझ टुटेको निद्रापछि पुनः निद्रा पर्नु सबभन्दा महत्वपूर्ण हुन्छ।
‘यदि बीचमा निद्रा टुट्यो भने हामी पटक पटक ब्यूँझन्छौँ’, उनी भन्छिन्, ‘अनि हाम्रो सपना कस्तो थियो भनेर सम्झना थाल्छौँ।’ उनका अनुसार सुत्ने समय नियमित हुनुपर्छ। हरेक दिन सुत्ने र उठ्ने तालिका बनाउन उनी सुझाव दिन्छिन्।
आफ्नो रेखदेख आफै गर्ने
मदिरापानलाई सीमित गर्दा शारीरिक र मानसिक दुबै स्वस्थ रहने विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार शारीरिक अभ्यास, खेलकुद, श्वास लिने तरिका सिक्ने तथा योगा लगायतका अभ्यास गर्नाले दिमागलाई शान्त राख्न सकिन्छ।
‘कोही राती सुत्नेबेला सङ्गीत वा अडियो पुस्तक सुन्छन्’, मनोचिकित्सक पवन मदन भन्छन्, ‘कोही नुहाउँछन् भने हल्का चिया पिएर दिमागलाई शान्त पार्छन्।’
तनाव र चिन्ताका बारे कुरा गर्ने
आफ्नो तनाव वा चिन्तालाई मनभित्र दबाएर राख्नु हुँदैन। त्यस्ता कुरा माया गर्ने व्यक्ति वा चिकित्सकसँग गर्नुपर्छ।
‘जति धेरै सतर्क भएर यी विचारहरू प्रशोधन गर्छौँ, त्यति थोरै राती सपनामा दुःख दिन्छन्’, डा. मदन भन्छन्, ‘राती तपाईँमा हुने डर र दिमागमा आउने नकारात्मक विचारका बारे चिकित्सकसँग कुरा गर्नुहोस्।’
तपाईँको अभिमत