भेटिएको मानव कंकाल २ वर्षअघि हराएका पत्रकारको रहेको पुष्टि
डोटी । डोटीका पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ । दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहनु भएका पत्रकार खड्काको निधन भएको पुष्टि भएको खबर प्रहरीले दिएको छ।
पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय टोली सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको २०७६ साल मङ्सिरमा बाजुराको बुढिनन्दामा मानव कंकाल भेटिएको थियो । उक्त मानव कंकाल नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको थियो।
प्रयोगशालामा गरिएको परीक्षणपछि सो कंकाल पत्रकार तेजबहादुरकै रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताउनुभयो । 'खोजबिन टोलीले पाएको मानव कंकालको डीएनए परीक्षणका लागि हाम्रो विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो, परीक्षणपछि रिपोर्ट हेर्दा खड्काकै कंकालभएको पुष्टि भएको छ ।' प्रहरी प्रमुख भट्टराईले भन्नभयो ।
बेपत्ता भएका पधकार खड्काको खोजी गर्ने क्रममा वेपत्ता भएको एक वर्षपछि २०७६ साल मङ्सिरमा दुई वटा करङ, झोला र परिचयपत्र भेटिएको थियो । पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा काम गर्दै आउनुभएको थियो । खड्का रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रिय प्रसारण केन्द्रमा समेत लामो समय कार्यरत रहनुभएको थियो । उहाँ २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा वरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता हुनुभएको थियो । रासस
तपाईँको अभिमत