पीपीईले स्वास्थ्यकर्मीलाई सकस

यति प्रक्रिया गर्दैगर्दा मेरो पूरै शरीर पसिनाले भिजिसकेको हुन्छ अहो अब कम्तिमा ५ घण्टा म भित्रबाट बाहिर आउन पाउदिन, पिसाब च्यापेरै बस्नुपर्छ ।
काठमाडौं । हाल देशभर तापक्रम बढिरहेको छ । तराईमा अझ धेरै गर्मी छ । गर्मीको समयमा स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा कवच(पीपीई) पहिरिएर कोरोनाको उपचारमा खटिनु पर्दा निकै नै सास्ती खेप्नुपर्ने हुन्छ । सकसका बाबजुद पनि संक्रमणबाट जोगिन उनीहरुसँग पीपीई अलावा अरु विकल्प छैन ।
स्वास्थ्यकर्मीहरुले कोरोनोका उपचारमा खटिँदा एउटा गाउन, फेस मास्क, चस्मा, फेस शील्ड र पञ्जा पहिरिनु पर्दछ । पीपीई सेट हावा र पानी नछिर्ने खालको हुन्छन् ताकि बिरामीसँग सम्पर्क हुँदा संक्रमण नहोस् । तर अहिले गर्मी बढेसँगै पीपीई सेट लगाएर काम गर्दा कोरोनाभाइरसको संक्रमणबाट जोगिए पनि त्यस बाहेकका अरु स्वास्थ्य समस्या देखिन थालेको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
पीपीइ लगाएपछि शरीरमा हावा नछिर्ने भएकाले पूरै शरीर पसिनाले भिज्छ नै शरीरमा पानीको मात्रा पनि कम हुन जान्छ किनभने पीपीई लगाएर काम सुरु गरेपछि उनीहरुले पानी समेत पिउन पाउदैनन् ।
पीपीइ लगाएपछि अन्तिममा कतै हावा लिक पो छकी भनेर फुफु गर्नुपर्छ यसका लागि अर्काे एक जना सहयोगी चाहिन्छ । हावा लिक भएमा टेप लगाउनुपर्छ ।
नवलपरासीकी विष्णु पन्त आइसीयू नर्स हुन् । हाल उहाँ लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत हुनुहुन्छ । यसअघि बुटवलस्थित अस्थायी कोरोना बिशेष अस्पतालमा पहिलो कोरोना संक्रमितको उपचारमा संलग्न हुनुभयो । पहिलो संक्रमित नै भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाको हुनुहुन्थ्यो । भारतबाट आइ क्वारेन्टिनमा बसेका अन्दाजी २२ वर्षका युवालाई कोरोना पुष्टि भएको थियो ।
मधुमेहको बिरामी भएकाले खानपिन नमिल्दा शरीरमा चिनीको मात्रा कम हुँदा ती युवा बेहोस भई ल्याइएको थियो । त्यो दिन जेठ १४ गते थियो । आइसीयूमा क्रिटिकल बिरामीहरु राखिने भएकाले बिरामीको बिशेष ध्यान दिनुपर्छ । तर अहिले उहाँले बिरामीको त उच्च निगरानी गर्नैपर्छ सँगसँगै आफ्नो पनि ख्याल गर्नुपर्छ ।
पहिला जस्तो बिरामीको नजिक गइहाल्न पाउनुहुन्न त्यसका लागि उहाँले व्यक्तिगत सुरक्षाका कवच लगाउनपर्छ ताकी भाइरस आफुमा नसरोस् । बिरामीको अगाडि जानुअघि उहाँले पीपीई लगाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्छ । कस्तो प्रक्रृया ?
पन्त भन्नुहुन्छ, बुट कभरसहित र बुट कभररहित गरि २ प्रकारका पीपीई हामीले प्रयोग गरिरहेका छौ । बुट कभरसहितको पीपीई छ भने हामी पहिला बुट लगाउछौ नत्रभने अन्त्यमा बुट लगाउछौ । एन ९५ मास्क त पीपीई लगाउनु अगाडि नै लगाउनुपर्छ । बुट कभर नभएको पीपीई छ भने सुरुमा बुट लगाउँछु अनि त्यसपछि बुट कभरको पालो आउछ । स्टेप स्टेप ध्यान दिनुपर्छ ।
बुट लगाएपछि गाउन लगाउछु अनि सर्जिकल क्याप, चस्मा लगाएपछि गाउनको हुकले पुरै टाउको ढाकेर अन्तिममा फेस शिल्ड लगाउछु । सबै प्रक्रृयागत रुपमा पीपीइ लगाएपछि अन्तिममा कतै हावा लिक पो छकी भनेर फुफु गर्नुपर्छ यसका लागि अर्काे एक जना सहयोगी चाहिन्छ । हावा लिक भएमा टेप लगाउनुपर्छ । पीपीई कहीकतैबाट हावा छिर्ने खालको हुनुहुँदैन ।
प्यास लागेर बिरामी नजिकै रहेको पानी देख्ने बित्तिकै खाइहालौ जस्तो हुन्छ पिउन सक्दिन यो यो मेरो बाध्यता वर्तमान दैनिकी हो ।
कहिलेकाँही पीपीईको साइज नमिल्दा पनि हावा लिक हुन्छ अनि त्यतिबेला टेपले बाँधेर पीपीइलाई आफ्नो शरीरमा मिल्ने बनाउनुपर्छ । मैले यति प्रक्रिया गर्दैगर्दा मेरो पुरै शरीर पसिनाले भिजिसकेको हुन्छ अहो अब कम्तिमा ५ घण्टा म भित्रबाट बाहिर आउन पाउदिन, पिसाब च्यापेरै बस्नपर्छ । प्यास लागेर बिरामी नजिकै रहेको पानी देख्ने बित्तिकै खाइहालौ जस्तो हुन्छ पिउन सक्दिन यो यो मेरो बाध्यता वर्तमान दैनिकी हो ।
बिरामीलाई छुन जानुअघि मेरो हात तीन वटा सर्जिकल पञ्जाले सिल भइसकेको हुन्छ । बिरामीलाई छुँदा त्यसमाथि फेरी थप अर्काे पञ्जा लगाउनुपर्छ । त्यसपछि बिरामी हेरेपिच्छे माथिल्लो पञ्जा निकाल्दै अर्काे पञ्जा लगाउनुपर्छ । पीडा त त्यतिबेला हुन्छ जतिबेला रगत निकाल्ने बेला मेरा हातले बिरामीको नसा नै भेट्दैन ।
रगत नै बगेर पीपीइ नै रगताम्मे भयोकी जस्तो लाग्थ्यो ।
धेरै पञ्जा लगाएका कारण बिरामीको नसा नै भेटिन्न, छाम्यो हातले थाहा नै पाउदैन, हेरेर गरौँ अनुहार छोपिएर सासफेर्दा बाफले आँखालाई छोपेको हुन्छ । पन्तले लामो सास फेर्दै भन्नुभयो, महिनाबारी भएको बेला त उफ् समझदा पनि सिरिंग हुन्छ । महिनाबारी भएकै बेला पहिलो कोरोना संक्रमितको उपचार गर्नपरेको थियो उहाँले ।
प्याड लगाएर पीपीई लगाउँदा त बाफिएर उल्टै सरसफाई गर्न नपाउँदा संक्रमण होला भन्ने डर लागेको थियो । गर्मीले पसिना र रगत बगेको थाहै हुदैनथ्यो । पसिना बगिरहदा रगत नै बगेर पीपीइ नै रगताम्मे भयोकी जस्तो लाग्थ्यो । पीपीई शरीरबाट नफाल्दासम्म रगतै रगत भयो होला जस्तो मात्रै लागिरहन्थ्यो ।
ड्युटी सकेर पालैपालो पीपीईका सेट शरीरबाट निकाल्दा आनन्द आउछ । पीपीइ डिष्पोज गर्दा हामी निम्न तरिका अपनाउछौ । बिरामीलाई छोडेर आएपछि २ वटा कुर्सी हुन्छन् अनि नजिकै एउटा बाल्टिनमा भाइरेक्स पानी हुन्छ । एउटा कुर्सीमा बसेर सुरुमा बुट कभर खोल्ने अनि त्यसपछि अलिपर रहेको अर्काे कुर्सिमा सरेर अर्काे बुट कभर खोल्छौ ।
यति गरिररहँदा हात प्रत्येक पटक सेनेट्राइज गर्नुपर्छ । त्यसपछि गाउन निकाल्छौ, चस्मा खोल्छौ । अनुहारबाट फेस शील्ड निकालेपछि त तनाव नै आधाले कम हुन्छ । टाउको दुख्न हराउँछ, सजिलै सास फेर्न पाइन्छ मन आनन्दित हुन्छ । बुट खोलेपछि अन्तिममा मास्क खोल्नुपर्छ । त्यो बुटलाई निर्मलीकरण गर्छाै ।
२० मिनेट लगाएर पीपीईलाई शरीरबाट निकालेपछि पहिलाको सबै पञ्जा फालेर हातलाई सेनेट्राइज गरि नयाँ पञ्जा लगाएर मुखको मास्कको खोल्छौ र नुहाउन जान्छौ । त्यसपछि बाथरुम साइडकै ढोकाबाट बाहिर निस्किएर क्वारेन्टाइनमा बस्छौ ।
मैले अहिलेसम्म ३ जना संक्रमितलाई आइसीयूमा हेरचाह गरे जसमध्ये २ जना निको भएर घर गइसक्नुभयो भने अर्का एकजनालाई वार्डमा आइसोलेसनमा सारिएको छ । अहिले प्रादेशिक अस्पतालमा अन्य बिरामीलाई हेर्दा पनि पीपीई त लगाउनैपर्यो हाँस्दै आफ्नो अनुभवलाई पन्तले बिट मार्नुभयो ।
स्वाब संकलन गर्नुअघि नै जुस, जीवनजल, ग्लुकोज पानी पिउने गर्छाै ।
यसैगरी जिल्ला जनस्वास्थ्य कार्यलय कञ्चनपुरका प्रयोगशालाकर्मी हर्कबहादुर कुँवरले पीपीई लगाएर नाक र घाँटी भित्रबाट र्याल(स्वाब) संकलन गर्न थाल्नुभएको ३ महिना बितिसक्यो । हालसम्म उहाँले करिब ८ सय जना जतिको स्वाब निकालि सक्नुभएको छ ।
धेरै जनाको समुह बनाई स्वाब संकलन गर्नपर्ने भएकाले सबैको नसकुञ्जेल पीपीई खोल्न पाइदैन । उहाँको शरीर पसिनाले निथ्रुकै भिज्छ । लगातार ४ घण्टासम्म पीपीई लगाएर काम गर्नुपर्ने हुन्छ त्यसैले हामी स्वाब संकलन गर्नुअघि नै जुस, जीवनजल, ग्लुकोज पानी पिउने गर्छाै ।
रिंगटा लाग्ने, वान्ता हुने, आलस्य हुने, प्रेसर घट्ने,हातखु्टा बाउडिने समस्या भइरहेको छ।
धेरै पसिना आउने भएकाले शरीरमा पानीको मात्रा कम नहोस् र काम गर्दा गर्दै कमजोरीले नलडोस् भन्नाका लागि हामीले यस्तो उपाय अपनाएका हौ कुँवरले भन्नुभयो गर्मी यति धेरै छ कि खलखल पसिना आउछ पीपीई भन्ने बित्तिकै सजिलै खोल्ने कुरा पनि भएन स्वाब संकलनको काम सकेर मापदण्ड अनुसार पीपीई खोलेर डिस्पोज गर्नुपर्ने हुन्छ ।
स्वाब संकलनका क्रममा मात्रै पीपीई लगाउन पर्ने भएकाले कुवँरसँग लगातार ४ घण्टासम्म पीपीइ लगाएर काम गरेको अनुभव छ । पीसीआर परीक्षण गर्ने ल्याबका अरु साथीहरु अझ धेरै समय पीपीई लगाएर काम गर्नुपर्ने बाध्यता छ उनीहरुलाई झनै गाह्रो छ । पीपीइ लगाउँदाको सकसले अक्सिजनको कमी भई रिंगटा लाग्ने, वान्ता हुने, आलस्य हुने, प्रेसर घट्ने,हातखु्टा बाउडिने समस्या भइरहेको छ कुँवरले भन्नुभयो लामो समयसम्म पिसाब रोक्दा पिसाव पोल्ने समस्या पनि थपिएको छ ।
एक जना हामीसँगै काम गर्ने स्टाफ नर्स बहिनी त पीपीइ लगाएको २ घण्टा भित्रनै बेहोस भइन् ।
सेती प्रादेशिक अस्पताल धनगढीका नर्सिङ सुपरभाइजर शेरबहादुर महतारा चैत ११ गते पहिलोपटक धनगढीमा कोरोना संक्रमण देखिएयता निरन्तर कोरोना उपचारमा खटिरहनु भएको छ । पीपीई लगाई काम गर्दाको अनुभव उहाँको पनि कुँवरको जस्तै छ । कुँवरले जस्तो लामो समय पीपीइ लगाउन नपरेको महतारालाई जुनसुकै बेला एन ९५ मास्क लगाएर बस्दा अनुहारमा डाम बस्नुका साथै कानको जरामा दुखाइ हुन्छ ।
सुरु सुरुमा त हातमा पञ्जा, मुखमा मास्क लगाउँदा असहज महसुस भयो । आफ्नो ड्युटी सिफ्टका समयमा गम्भिर किसिमका संक्रमितको उपचारमा सहभागि हुन नपरेका महतारासँग भने २ घण्टासम्म पीपीइ लगाएको अनुभव छ । संक्रमितहरुको अवस्था बुझ्न जादा पीपीइ लगाउनपथ्र्याे । सुरु–सुरुमा त अक्सिजन नै कम हुँदा निसास्सिने समस्या भयो ।
एक जना हामीसँगै काम गर्ने स्टाफ नर्स बहिनी त पीपीइ लगाएको २ घण्टा भित्रनै बेहोस भइन् उनको ड्युटीको समयमा एक जना संक्रमितलाई आइसीयूमा राखी उपचार गर्नपर्ने थियो । अनुगमन र व्यवस्थापनमा मैले समन्वय गर्न पर्ने थियो । त्यो दिन ती बहिनीको ड्युटी थियो त्यसअघि कहिल्यै त्यसरी पीपीइ लगाएको अनुभव नभएकाले उनी निस्सासिएर ढलिन् । यद्यपी आइसीयूमा उपचार गरिएका ती संक्रमितलाई बचाउन भने सकिएन ।
किनभने बाहुला लामो हुन्छ, शरीरमा खुकुलो हुन्छ, त्यसलाई टाइट बनाउनपर्छ ।
बर्दियाकी शुष्मा काफ्ले हाल जुम्लामा हुनुहुन्छ । फार्मेसी कार्यक्षमता रहेकी उहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रही विभिन्न गाउँ, टोल तथा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वाब संकलनमा हिडिरहनु भएको छ । भौगोलिक विकटताका कारण शारीरिक दुख भएपनि टिमवर्क राम्रो भएकाले काफ्ले सबै दुख,कष्ट भुल्ने बताउनुहन्छ ।
तर पीपीइ सुटको साइज ठुलो आकारको भएकाले उहाँलाई लगाउन अलि गाह्रो पर्छ । किनभने बाहुला लामो हुन्छ, शरीरमा खुकुलो हुन्छ त्यसलाई टाइट बनाउनपर्छ । पीपीईको साइज धेरै ठूलो भएमा त्यसले भाइरसलाई पूर्ण रुपमा रोक्न सफल हुँदैन त्यसैले आफूलाई उपलब्ध भएको पीपीई शरीरमा मिल्ने गरी लगाउन अनेक जुक्ति निकाल्नुपर्छ । जसरी हुन्छ पीपीईबाट हावा नछिर्ने बनाउनुपर्छ ।
तपाईँको अभिमत