सरकारी चिकित्सकहरुको संख्या कम छ भनेर पेल्न पाइन्छ ?
कोभिडको संकटमा आइसोलेसन, क्वारेन्टाइन, अस्पतालमा सरकारी चिकित्सकहरु नै हुनुहुन्छ
सरकारी सेवामा रहेका चिकित्सकलाई ५० मात्रै होइन सतप्रतिशत नै हुनुपर्छ भन्ने मेरो सुरु देखिकै धारणा हो
चिकित्सा शिक्षामा पिजी (स्नातकोत्तर) सिटमा सरकारी सेवामा रहेका चिकित्सकलाई ५० प्रतिशत, निजीलाई ४० र १० प्रतिशत विदेशी चिकित्सकहरुका लागि व्यवस्था गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको भन्ने थाहा पाएँ । सरकारी चिकित्सकका लागि पिजीको ५० प्रतिशत कोटा छुट्याएकोमा सरकारी चिकित्सक संघ लगायत अन्य केही संघ–संगठनको दबावमा सरकारी चिकित्सकलाई मात्रै स्थान दियो भन्ने समाचारपनि पढेँ, सुनेँ ।
सर्वप्रथम, सरकारी चिकित्सक संघ (गोदान)को अध्यक्षको हैसियतले म साथीहरुलाई के भन्न चाहन्छु भने यसमा गोदानको कुनै भुमिका नरहेको जानकारी गराउँछु । यसमा के प्रस्ट हुन जरुरी छ भने यो राज्यले गर्ने निर्णय हो । हामीसँग राज्य संयन्त्रलाई दबावमा राख्न सक्ने शक्ति भएको भए समायोजनमा लागि लड्नै पर्ने थिएन, यस्तै तलव कम भयो भनेर गुनासो पनि गरिराख्नपर्ने थिएन ।
पिजी सिटको कुरा गर्दा सम्पूर्ण खर्च सरकारले व्यहोर्ने हो, राज्य आफैले लगानी गर्ने हो र यो जनताको करबाट नै संकलन भएको रकम हो । राज्यले लगानी गर्ने भएकाले जनशक्ति विकास गर्ने कुरामा पक्कै राज्यले सोच्छ नै । निजीमा विशेषज्ञता उत्पादन गर्नेभन्दा दुरदराजमा सेवा गर्ने डाक्टरलाई नै राज्यले सोच्नुपर्ने हुन्छ र अहिलेको चिकित्सा शिक्षा नियमावली पनि सोही अनुसार मन्त्रिपरिषद्मा पेश भएको हुनुपर्छ ।
पिजीमा ५० प्रतिशत भन्दा बढी सरकारी चिकित्सकले नै अध्ययन गरिरहेका छन्
राज्यले गर्ने लगानी एक व्यक्तिलाई नभई नागरिकको लागि दुरगामी असर गर्ने हुनुपर्छ । सरकारले लगानी गर्ने भएपछि सरकारी सेवामा रहेका चिकित्सकलाई ५० मात्रै होइन सतप्रतिशत नै हुनुपर्छ भन्ने मेरो सुरु देखिकै धारणा हो । डा.गोबिन्द केसीको आन्दोलनबाट फ्रि पिजी व्यवस्था त लागू भयो तर उक्त व्यवस्थालाई कसरी जनहितमा प्रयोग गर्ने भन्नेबारे अन्यौल अझै बाँकी रह्यो ।
यसअघि डाक्टर आफैले पैसा तिरेर अध्ययन गर्नुपथ्र्याे । पैसा तिरेर पढ्दा जसले नाम निकाल्यो उसैले पढ्न पाउथे भने सरकारले पैसा तिरेर पढाउने भएपछि राज्यले आफैले विशेषज्ञ उत्पादन गर्ने सोचमा अघि बढेको देखिन्छ । यही हिसाबमा राज्यले सरकारी चिकित्सकलाई अघि बढाउन खोजेको हो ।
अहिले यहाँ एउटा हाउगुजी नै फैलिएको छ कि नयाँ विषय हो भने जसरी । तर हल्लको पछाडि लाग्नु अगाडि वास्तविकता बुझ्न जरुरी छ । हिसाव गर्ने हो भने अहिले पनि ५३ प्रतिशत कोटा सरकारी चिकित्सकले नै पाइरहेका छन् त्यसैले सरकारले ५० प्रतिशत दिन थाल्यो भनेर हाउगुजी फैलाउनुको कुनै तुक छैन । धेरै वर्ष अगाडि देखि पिजीमा ५० प्रतिशत भन्दा बढी सरकारी चिकित्सकले नै अध्ययन गरिरहेका छन् ।
सरकार आफैले पढाउछु भनेपछि १०० जनाका लागि ३ हजारको आवेदन पर्छ
आज स्नातकोत्तर अध्ययन गर्ने करिव २०० जना सरकारी चिकित्सक छन् । सरकारले यो योजना २०० चिकित्सकका लागि हेरेर गरेको होइन दीर्घकालिन योजना हो । सरकारी दरबन्दी बढाउन पर्यो भनिरहेका छौ, अहिले हामीलाई ५ हजार डाक्टर आवश्यक छ भनेर कराइरहेका छौ । ५ / १० हजार सरकारी डाक्टर हुन्छन् । भोलिका दिनमा त यो ५० प्रतिशत पनि कम हुन्छ । आजको लागि होइन नी कोटाको कुरा ।
संख्याको आधारमा कुरा गरेर हुदैन । हिजो लोकसेवा खुल्दा सरकारी डाक्टर भएर सेवा गर्न १०० जना माग भयो भने २०/३० जनाको मात्रै आवेदन पथ्र्याे । दुर्गममा गएर काम गर्छाै भने म पढाउछु भनेर सरकारले नीति लिएको हो नी । सरकार आफैले पढाउछु भनेपछि १०० जनाका लागि ३ हजारको आवेदन पर्छ । सरकारी डाक्टरलाई पिजी सिट पनि नदिने, सामाजिक सुरक्षा पनि नदिने, तलव पनि नवढ्ने हो भने कसले काम गर्न सक्छ ? अहिलेपनि कोभिडको संकटमा आइसोलेसन, क्वारेन्टाइन, अस्पतालमा सरकारी चिकित्सकहरु नै हुनुहुन्छ । निजीका साथीहरु त सहभागि भएका छैनन् । सरकारले करारमा आउ भन्दा पनि म तयार छु भन्ने साथी खासै देखिएका छैनन् ।
खै त गैर सरकारी चिकित्सक साथीहरुले पिजी सिट बढाउनपर्छ भनेर लबिङ गर्नुभएको ?
सरकारी संयन्त्र बलियो भएमा संकटको समयमा त चाहिने सरकारी व्यक्ति नै रहेछ भन्ने देखाइसकेको छ सोही अनुसार राज्यले आफ्नो संयन्त्रलाई बलियो बनाउन खोजेको हो । सरकारी डाक्टरहरु लोक सेवामा लडेर नै आएका हुन् । सरकारी डाक्टरहरु अहोरात्र खटेर पढ्न पर्ने अवस्था छ निजीका साथीहरु घरमा बसेर मज्जाले पढ्नुहुन्छ अनि यहाँनिर कहाँ भयो समानता ?
ठिक छ सरकारी डाक्टरलाई २० प्रतिशत कोटा नै छुट्याएपनि हुन्छ तर दुर्गममा गएर कसले सेवा गर्ने, संकटमा अघि सरेर कसले काम गर्ने, कम तलवमा कसले काम गर्ने त्यसबारे सबैले सोच्न जरुरी छ । सबै सेवा सुविधामा पेलेर अघि बढ्न सकिन्छ भने सोही अनुसार गरौ तर समस्याबारे सबै जानकार हुँदैहुँदै सरकारी डाक्टरलाई मात्रै अवसर दिइयो भन्न खोज्नु न्योचित हुँदै होइन ।
अहिलेको प्रमुख समस्या भनेको पिजी सिट एकदमै न्यून हुनु हो त्यसैले पिजी सिट बढाउनुपर्छ, लोकसेवाको दरबन्दी बढाउनुपर्छ भन्नेतर्फ साथीहरु लाग्नुपर्नेमा सरकारी चिकित्सकलाई मात्रै स्थान दिन खोजियो भन्नु गलत हो । निजी चिकित्सक साथीहरुले त यस विषयमा खोई सोच्नुभएको ? सरकारी चिकित्सक संघले सुरु देखिनै सरकारीमा दरबन्दी बढाउनुपर्यो भन्दै आवाज उठाएको उठाई छ । खै त गैर सरकारी चिकित्सक साथीहरुले पिजी सिट बढाउनपर्छ भनेर लबिङ गर्नुभएको ?
सरकारी चिकित्सकहरुको संख्या कम छ भनेर पेलेर अघि बढ्न खोजेको देखिन्छ यो न्याय हो ? नेपाल चिकित्सक संघ देशभरको सम्पूर्ण चिकित्सकहरुको छाता संगठन हो । चिकित्सक संघको पनि महत्वपूर्ण भूमिका छ । ऊ समस्याको समाधान तर्फ लाग्नुपर्छ याकी पक्ष विपक्षमा होइन । समस्या कहाँ कसलाई छ भन्नेबारे सबै चिकित्सक साथीलाई अवगत भएकै कुरा हो ।
(लेखक हाडजोर्नी विशेषज्ञ एवं सरकारी चिकित्सक संघ(गोदान)का अध्यक्ष हुनुहुन्छ । )
तपाईँको अभिमत