के बेइजिङमा देखिएको नयाँ संक्रमण दोस्रो तरंग हो ?

नयाँ संक्रमित देखिएपछि बेइजिङको दोङचेङका व्यक्तिको स्वाब संकलन गरिँदै । तस्बिर : सिन्हवा
चीनमा लगातार ५६ दिनसम्म नयाँ संक्रमण नदेखिएकोमा पछिल्ला दिनमा पुन: नयाँ संक्रमित फेला पर्न थालेका छन्। मंगलबारसम्ममा बेइजिङको दक्षिण-पश्चिमी फेङ्टाइ जिल्लाको सिाफादी होलसेल फुड मार्केट वरिपरि १०६ को हाराहारीमा नयाँ कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन्। करिब १ लाख महामारी नियन्त्रणकर्ताहरु त्यहाँ परिचालन गरिएका छन्।
स्थानीयहरु लकडाउनमा छन्, स्कुल, खेल सुविधा बन्द गरिएका छन्। चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रका प्रमुख महामारी विज्ञ वुन जुनिउले सोमबार चिनियाँ कम्युनिस्ट पार्टी ( सीसीपी) को मुखपत्र ' पिपल्स डेली' लाई बेइजिङले विस्फोटक प्रकोपको सामना गरिरहेको बताए। उनका अनुसार सो क्षेत्रमा करीब ९० हजार मानिसहरुमा परीक्षण गरिने छ। गत १३ र १४ जुनमा ३६, ३६ संक्रमित देखिए भने १५ मा २७ जना देखिए तर ४ जना छिमेकी हुपै प्रान्त र १ जना सिचुआन प्रान्तका थिए।
सिनफादी बजार एशियामा आफ्नो प्रकारको सबैभन्दा ठूलो खाद्यान्न बजार हो जुन ११२ हेक्टरमा फैलिएको छ भने यसले बेइजिङको ८०% कृषि उत्पादन र अन्य खाद्यान्न उत्तरी प्रान्तहरुमा आपुर्ति गर्छ।यसका हजारौँ बिक्रेता र कर्मचारीहरु कोरोना प्रसारको कारण बन्नसक्ने सम्भावना चीनको चिन्ताको विषय बनेको छ। योभन्दा अगाडि वुहानमा पनि ठूलो बजारबाट कोरोनाको प्रकोप शुरु भएको थियो।
चीनका धेरै ठाउँका स्थानीय अधिकारीहरुले बेइजिङबाट आउने आगन्तुकहरुलाई क्वारेन्टाइनको आवश्यकता लागू गरेका छन् । त्यहाँका बासिन्दाहरुलाई अनावश्यक रुपमा राजधानीको यात्रा नगर्न चेतावनी दिएका छन्। रिपेार्टका अनुसार नर्वेबाट आयात गरिएका सालमोन माछाहरु यो प्रकोपको कारण भएको अनुमान गरिएको छ।
केही माछाका होलसेलरहरुमा कोरोना पोजिटिभ देखिएपछि बेइजिङका सुपरमार्केटहरुले सालमोन माछा बेच्न छाडेका छन्। बेइजिङ रोग नियन्त्रण केद्रका कोरोनरी निमोनिया प्रकोप रोकथाम समूहका सदस्य याङ पेङले सिसिटिभीलाई प्रारम्भिक मूल्यांकन आयातसँग सम्बन्धित रहेको र त्यसको सम्बन्ध समुद्री खाना या मासु हुन सक्ने बताएका छन्।
चीनले चिली, नर्वे, फारो टापु, कयानाडाबाट प्रत्येक वर्ष ८० हजार फ्रोजन सालमोन माछा आयात गर्छ। नर्वेका समुद्री खाना परिषदका मत्स्यपालन दूत भिक्टोरिया ब्राथनले नर्वेमा खाद्य परीक्षणमा कडाइ गरेको र त्यहाँ माछाहरुमा भाइरस नपाइए पनि चीनले आयातहरु रद्द गरेको बताइन्। तर चिनियाँ अधिकारीहरुले आयातित माछा नै प्रकोपको कारण भएको बताएका छन्। सिनफादी बजारमा आयात गरिएका सामानका लागि प्रयोग हुने काट्ने बोर्डहरुमा भाइरस भेटिएका थिए।
अझै धेरै प्रकोपको सम्भावना
हङकङ विश्वविद्यालयका महामारी विज्ञान र जीवविज्ञान शास्त्र प्रमुख प्रा. बेन काउलिङले आउँदा हप्ता वा महिनाहरुमा चीनका अन्य ठूला शहरहरुमा अझै प्रकोप देखिने बताएका छन्। सबैभन्दा बढी जनसंख्या र शीर्ष ट्रेडिङ राष्ट्र हुनु चीनका लागि थप जोखिमका साथै चुनौतीका कारण हुन्।
WHO को धारणा के छ?
अहिले लकडाउन खुकुलो पारिएका देशहरु जसले प्रारम्भिक चरणमा छिटो र दृढतापूर्वक महामारी नियन्त्रणमा काम गरेका थिए। त्यहाँ कोरोना भाइरसको नयाँ केसहरु देखा परेका छन्। दक्षिण कोरियामा मे महिनामा सियोलको नाइट क्लबहरु वरिपरि, अष्ट्रेलियाको मेलबर्नमा मासु प्रशोधन केन्द्रसँग सम्बन्धित ७१ जनामा संक्रमण भेटियो।
२४ दिनसम्म नयाँ संक्रमितहरु नदेखिएको न्युजिल्यान्डमा हालै बेलायतबाट फर्किएका २ जनामा संक्रमण पाइयो। WHO ले चीनको नयाँ प्रकोपलाई परिकल्पनाको नाम लिएको छ र कुनै दोस्रो तरंग(Second wave) नदेखिएको बताएको छ।
WHO का आपतकालीन कार्यक्रमका प्रमुख माइक रायनले माछामा संक्रमण नहुने भएकोले सतह, प्याकेजिङको परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यसलाई अमेरिकी एजेन्सीले पनि राम्ररी हेरिरहेको जानकारी दिएका छन्। उनले पनि बेइजिङ जस्तो प्रमुख शहरमा प्रकोप देखिनु चिन्ताको विषय भएको बताए।
विभिन्न ठाउँमा पुन: संक्रमण देखिनुको कारण लकडाउन खुकुलो हुनु उनको ठम्याई छ। WHO का अनुसार विश्वका धेरैजसो स्थानहरु पहिलो छालमा नै छन्। कतिपय देशमा संक्रमण उकालो लागेको अवस्थामा छ।अमेरिकामा पनि धेरै राज्यमा संक्रमण बढेको देखिएको छ।त्यहाँ मान्छे समुद्री तटमा जाने क्रम बढेको छ। डा. रायनका अनुसार कतिपय देशहरुमा कोरोना संक्रमण चरम विन्दुमा पुगेर ओरालो लागेपनि अत्यधिक न्यून तहमा पुगिसकेको छैन।
लकडाउनबाट बाहिर निस्कने देशहरुमा रोग गुच्छाको रुपमा देखिन सक्ने तर त्यो दोस्रो छाल हुन जरुरी नभएको उनले बताए।त्यो पहिलो तरंगकै रुप हो र त्यसको व्यवस्थापनतिर सबै राष्ट्रहरु लाग्नुपर्ने देखिन्छ।उनले भाइरसको साथ बाँच्न सिक्ने क्रममा सानो स्तरको प्रकोप देखा परेपनि त्यो धेरै विस्तारित नहुने अनुमान गरेका छन्।
तपाईँको अभिमत