त्रासकाबीच काम गर्दै गर्भको शिशु र आफूलाई जोगाउने चुनौती छ
संसारभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि दिन प्रतिदिन बढिरहेको छ । कतिले ज्यान पनि गुमाइसकेका छन्। कोभिड–१९ को महामारीसँग सम्पूर्ण स्वास्थ्यकर्मीहरु लडिरहेका छन् । अन्य मुलुकमा कयौंले ज्यान पनि गुमाइसकेका छन्। यस भाइरसविरुद्घको लडाईमा हामी नर्सहरु अग्रपंतिमा रहेर लडिरहेका छौं । हामी स्वास्थ्यकर्मीहरु प्रभावित छौं र अत्यन्तै जोखिमको चपेटामा छौं भन्ने कुराको हेक्का कसैलाई पनि भएको देखिँदैन । नेपालमा पनि संक्रमित नर्सको संख्या ७ पुगेको छ । आउने दिनमा यो संख्या नबढ्ला भन्न सकिन्न ।
स्वास्थ्यकर्मी साथै स्वास्थ्य संस्थामा काम गर्ने अन्य कर्मचारीहरु संक्रमणको उच्च जोखिममा रहेको हुनाले उनीहरु अत्यन्त तनावपूर्ण स्थितिमा रहेको देखिन्छ । सुरक्षा कबचसँगै न्यूनतम सामग्रीबिना नै नर्सहरु कोरोनाविरुद्घको लडाईमा आफ्नो ज्यानको पर्वाह नगरी सेवामा जुटिरहेका छन्। म आफू पनि एक नर्स हुँ। जब नेपालमा पहिलो पटक संक्रमण देखियो, म एकदमै डराएको थिएँ।
सामान्य व्यक्ति त कोरोनाको आतंकले हरपल त्रसित छ भने गर्भवती महिलासँग त झन आफू र आफूभित्र रहेको शिशुलाई पनि जोगाइराख्नु पर्ने चुनौती छ। गर्भवती आफेँलाई संवेदनशील अवस्था हो ।
लागेको थियो यस्तो बेला सरकारले हामीलाई काम गर्न चाहिने सम्पूर्ण स्वास्थ्य सामग्री तुरुन्तै उपलब्ध गराउने छ। तर २ महिना बितिसक्दा पनि पीपीई.र अन्य अधारभूत समाग्रीहरु आइपुगेको छैन । न्यूनतम सुरक्षा कवजको अभावमा बिरामी र स्वास्थ्यकर्मीहरु एक अर्कासँग असुरक्षित छन् । स्वास्थ्य संस्थामा दिनहँु बिरामीको चाप बढिरहेको छ । समाजमा फ्mैलिएको यो भाइरस कसलाई संक्रमण भएको छ भनेर छुटाउनै गाह्रो छ । अधिकांश अस्पताल, प्रथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा नर्सका लागि पीपीईको व्यवस्था भएको देखिँदैन। यो महामारीको समयमा सम्बन्धित संस्थाहरु नर्सको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । विभिन्न बहानामा आफ्नो कर्तव्यबाट हटिरहेको पाइन्छ ।
यस्तो घडीमा हामी नर्सलाई सबैको साथ, सहयोग, हौसला र सुरक्षा चाहिन्छ तर हामी अनाथजस्ता भएका छौँ । कोरोना भाइरस संक्रमणको गति तीब्र भइरहँदा पनि हामीसँग पर्याप्त सुरक्षा सामाग्री छैन। स्वास्थ्य संस्थाले हामीलाई एउटा मास्क ३–४ दिन लगाउनु, सेनिटाइजर र गलोभस बचाएर चलनाउनु भनेर भन्छन् । यस्तो सुन्दा लाग्छ, जोखिम मोलेर बिरामीको उपचारमा खटिरहेको नर्सहरुको महत्वलाई अझै कसैले बुझेको रहेनछ । नर्सहरुको हकहितमा बोल्छु भन्दै उच्च पदमा बसेकाहरु अझै चुपचाप छन् । हामी नर्सहरु भत्ता हैन सुरक्षा चाहन्छौँ, ताकी हाम्रो मनोबल उच्च रहोस् ।
एउटी गर्भवती नर्स, बिनासुरक्षा कवच, कतिबेला कोबाट संक्रमित हुन्छु भन्ने डर बोकेर पनि आफ्नो ज्यान र गर्भमा रहेको बच्चाको ख्यालै नगरी सेवा दिन पछि हट्दिनन् । म पनि गर्भवती अवस्थामा नै सिरहा भगवानपुर गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा दिइरहेको छु ।
सामान्य व्यक्ति त कोरोनाको आतंकले हरपल त्रसित छ भने गर्भवती महिलासँग त झन आफू र आफूभित्र रहेको शिशुलाई पनि जोगाइराख्नु पर्ने चुनौती छ। गर्भवती आफेँलाई संवेदनशील अवस्था हो । नेपालमा एक सुत्केरीले कोरोनाबाट ज्यान गुमाइसकेकी छिन् भने कैयौं गर्भवती संक्रमित भएको देखिन्छ । यस्तो बिकराल परिस्थितिमा एक गर्भवती नसलार्ई बिनासुरक्षा कवच जोखिम मोल्दै काम गर्नु पर्दा कति तनाब होला ? हाम्रो स्वास्थ्य मन्त्रालयले न गर्भवती स्वास्थ्यकर्मीकाबारे बोलेको छ न त यसका लागि कुनै व्यवस्था गरेको छ ।
स्वास्थ्य सामाग्री अभावका कारण नर्सहरु संक्रमित भई मृत्यु भयो भने कसले जिम्मेवारी लिने ? के पैसाले यो अमूल्य जीवन फ्mर्केर आउन सक्छ ! कोरोना भाइरस महामारीको बेला सेवा दिने नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीलाई अहिले भत्ता को होइन् सुरक्षाको आवश्यकता छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोणा परीक्षण गर्ने नीति लिएको छ । दिनहँु काम गर्ने क्रममा संक्रमणको जोखिम भएता पनि कोरोना जाच गराउन सकिएको छैन । हाम्रा लागि पीसीआर टेस्टको सुविधा सजिलै उपलब्ध गराइनुपर्छ । नर्सहरुलाई सरकारले उच्च हौसलाकासाथ काम गर्ने वातावरण बनाइदिनु पर्छ । हामीलाई सहयोग र सुरक्षा चाहिन्छ ।
स्वास्थ्य क्षेत्रमा परेको यो महामारी नर्सहरुका लागि निकै ठूलो चुनौती सावित भएको छ । धेरै महिला स्वास्थ्यकर्मीहरु गर्भमा बच्चा बोकेर होस, घरमा दुधेबालक छाडेर काममा खटिरहेका छन् । यस्तो बेला स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गरी एउटा असल अभिभावकको भूमिका निर्वाह गर्नु सरकारको दायित्व हो । आशा छ कि सम्बन्धित निकायले यो विषयलाई गहन रुपमा लिएर हामी नर्सहरुको समस्यालाई समाधान गर्ने छन् ।
(लेखक सिरहा भगवानपुर गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा स्टाफ नर्सकारुपमा कार्यरत हुनुहुन्छ ।)
तपाईँको अभिमत