मेरी श्रीमति कोरोना संक्रमित हुन् हामी घरमा संगै बस्छौ: डा.बच्चुकैलाश कैनी
बेलायतमा ८५ प्रतिशत संक्रमित घरमा नै बस्छन्
नेपालमा ६ पटक सम्म गरिएको पीसीआर परीक्षण बेलायतमा एक पटक मात्रै गरिन्छ । गाह्रो भएमा मात्रै अस्पताल जाने व्यवस्था
कोरोना भाइरस रोगको संक्रमणबाट हालसम्म विश्वमा १ लाख ९० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २७ लाख मानिसमा संक्रमणको पुष्टि भएको छ । उपचारपछि निको हुनेको संख्या बढिरहेको छ । ७ लाख ५० हजार मानिस निको भएका छन् । कोरोना विरुद्धको खोप विकास भइरहेका छन् जसले संक्रमण पूर्ण नियन्त्रण गर्न सहयोग पुग्नेमा केही आशा पलाएको छ ।
विश्व स्वास्थ्य संगठनले खोप बिना संक्रमण पूर्ण रुपमा नियन्त्रण हुन सक्दैन भनिरहेको अवस्थामा विश्वमा झण्डै एक सय खोपको विकास भइरहेका छन् । अमेरिका,बेलायत,अफ्रिका लगायतका देशमा संक्रमण बढिरहेको छ । संक्रमण धेरै भएका देशले सबै कोरोनाका बिरामीलाई अस्पतालमै उपचार गर्न सकिरहेको छैन । बेलायतमा करिव ८५ प्रतिशत बिरामीहरु घरमा नै आइसोलेसनमा बसी आफैले औषधि उपचार गरिरहेका छन् । विकसित राष्ट्रहरुको यस्तो अवस्थामा आफ्नो स्रोत र साधन अनुसार नेपालले संक्रमण नियन्त्रण र उपचारमा गरिरहेको कामलाई केही पनि गरेन भन्न नमिल्ने संक्रमण प्रभावित देशमा रहेका नेपालीहरु बताउछन् ।
डा.बच्चुकैलाश कैनी २००५ मा बेलायत जानुभएको थियो र त्यसताका देखिनै सरकारी अस्पताल क्विन एलिजावेथमा कार्यरत हुनुन्छ । त्यसअघि नेपालमा उहाँले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १० वर्ष काम गर्नुभएको थियो । उहाँकी श्रीमति यशोदा कैनी डार्टफोर्डमा रहेको लिभिङस्टोन अस्पतालमा प्रशाशन विभागमा कार्यरत हुनुन्छ र उहाँलाई कोरोनाको संक्रमण भई घरमै आइसोलेसनमा उपचाररत हुनुन्छ ।
आज हामीले कोरोना विरुद्ध बेलायत कसरी अघि बढिरहेको छ, त्यहाँ उपचार प्रणाली कस्तो छ ? लगायतका विषयमा क्विन एलिजावेथ अस्पताल, लन्डनका वरिष्ठ व्यवस्थापक तथा आर्डेंन विश्वविद्यालय लन्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सह–प्राध्यापकको रुपमा कार्यरत डा. कैनीसंग कुरा गरेका छौ ।
बेलायतमा कोरोना संक्रमितलाई औषधि उपचारको अवस्था कस्तो छ ?
बेलायतमा करिव ८५ प्रतिशत कोभिडका बिरामीहरु घरमा नै बसेर उपचार गर्ने गर्दछन् । सामान्य अवस्थामा उनीहरु घरमा नै आइसोलेसनमा बस्नुपर्ने सरकारको नियम छ । मेरी श्रीमतिलाई पनि कोरोना संक्रमण भएको छ । उहाँको अवस्था सामान्य छ । उहाँ र हामी एउटै घरमा नै आइसोलेसनमा बसिरहेका छौ मैले नै श्रीमतीको स्याहार–सुसार गरिरहेको छु ।
मास्क लगाएर हामी एउटै कोठामा भौतिक दुरी कायम गरि बस्छौ । हामीले जे खानेकुरा खान्छौ त्यही खानेकुरा नै श्रीमतिले खान्छिन् । हामी कसैलाई पनि लक्षण देखिएको छैन ।
घरमा नै संक्रमितको हेरचाह गर्दा सुरक्षा कसरी अपनाउनुपर्छ ?
हामी छोरा छोरी सहित एउटै घरमा बस्छौ । हामी ४ जना १५ दिनदेखि आइसोलेसनमा बसिरहेका छौ । मेरी श्रीमतिलाई अप्रिल १९ मा कोरोना भएको पुष्टि भयो । हामी दुवै जना अस्पतालमा काम गर्ने भएकाले सुरु देखिनै आइसोलेसनमा रहेका थियौ । जब कोरोनाको पुष्टि भयो एकदिन अस्पतालमा बसेर घर आयौ । म आफैले गाडीमा अस्पताल ल्याउने लाने गरेँ ।
अहिले घरमा नै चिकित्सकको सल्लाह अनुसार विशेष हेरचाहमा हुनुन्छ तर आत्तिनुपर्ने अवस्था छैन । आइसोलेसनमा रहँदा श्रीमतिको लागि छुट्टै ट्वाइलेट्को व्यवस्था छ । उहाँले प्रयोग गर्ने सामानहरु छुट्टा छुट्टै छन् । मास्क लगाएर हामी एउटै कोठामा भौतिक दुरी कायम गरि बस्छौ । हामीले जे खानेकुरा खान्छौ त्यही खानेकुरा नै श्रीमतिले खानुहुन्छ । हामी कसैलाई पनि लक्षण देखिएको छैन ।
डा.बच्चुकैलाश कैनी र उहाँकी श्रीमति यशोदा कैनी
लक्षण नदेखिएपनि तपाईहरुको पनि स्वाब परीक्षण भयो होला नी ?
अहँ । छैन । यहाँ लक्षण नदेखिएका कोही व्यक्तिको पनि परीक्षण गरिदैन । यसलाई यहाँको समस्या भनौ कि व्यवस्था । लक्षण देखिएपछि सुरुमा परिवारमा एक जनाको मात्रै परीक्षण हुन्छ । मेरी श्रीमतिलाई संक्रमण भएपछि हाम्रो पनि परीक्षण गर्न खोजेको लक्षण नभएपछि गरिएन । अरुको पनि त्यस्तै हो ।
नेपालमा मानिसहरु धेरै नै त्रसित छन्, श्रीमतिलाई संक्रमण भएपछि आफन्तहरुले फोन गर्नुभयो अनि मैले हामीसंगै नै बस्छौ भन्दा डराउनुभयो
परीक्षण नै नहुनु त खतरा होइन र ?
यहाँ धेरै अध्ययनहरु भए । यहाँको मान्यता के छ भने निश्चित अवधिपछि कोरोना भाइरसले संक्रमण गर्दैन,आफै निको भएर जान्छ । लक्षण देखिएपछि चिकित्सकको परामर्श लिने र सोही अनुसार परीक्षण गर्ने गरिन्छ । के कुरा ख्याल गर्नुपर्यो भने आफु सुरु देखिनै सुरक्षित हुनपर्यो । थुकको छिटाबाट संक्रमण हुने हो,थुकको छिटा अरुमा पर्न नदिन विशेष सुरक्षा अपनाउने र निश्चित भौतिक दुरी कायम राखेपछि त संक्रमण हुने कुरै भएन । स्वाब परीक्षण गर्नका लागि कि भने अस्पतालहरुमा अग्र पक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी हुनुपर्छ । बेलायतमा लक्षण नदेखिएका धेरैलाई परीक्षण नै भएको छैन र सबै संक्रमितलाई अस्पतालमा राखिदैन ।
त्यसो भए कुन कुन अवस्थामा संक्रमितलाई अस्पताल लगिन्छ ?
सर्वप्रथम यहाँ लक्षण नदेखिएका व्यक्तिलाई परीक्षण नै हुँदैन । लक्षण देखि सकेपछि मात्र परीक्षण हुन्छ । सामान्य लक्षण देखिएका व्यक्तिहरुलाई अस्पतालमा उपचार गरिदैन । गम्भिर अवस्था अथवा अक्सिजन दिन पर्ने अवस्थाका विरामीलाई अस्पताल लगिन्छ । सम्पूर्ण श्वासप्रश्वास प्रणाली खराव भई भेन्टिलेटरमा राख्नुपरेमा अस्पताल आउन निर्देशन जारी गरिएको छ । नत्र भने घरमा नै चिकित्सकको परामर्श अनुसार आफैले उपचार गर्ने हो ।बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ । पहिलो हो, ‘माइल्ड केस’ । माइल्ड केसमा ज्वरो आएका, रूघाखोकी लागेका, शरीर कमजोर भएका, खाना नरूचेका, पखाला लागेका, खानाको स्वाद थाहा पाउन छाडेका बिरामी पर्छन् । बेलायतको स्वास्थ्य निर्देशिकाले यस्ता बिरामीलाई चिकित्सकको परामर्श लिएर घरमै आइसोलेसनमा बस्न अनुरोध गरेको छ । उनीहरूले डाक्टरसँग परामर्श गर्न सरकारले उपलब्ध गराएको नम्बर १११ मा फोन गर्न सक्छन् । बिरामीले स्वास्थ्यसँग सम्पूर्ण कुरा डाक्टरलाई बताउन सक्छन् ।
दोस्रो अवस्थालाई ‘सिभियर केस’ भनिन्छ । यस्ता बिरामीलाई अक्सिजन दिनुपर्छ । उनीहरूको श्वासप्रश्वासमा समस्या भएको हुन्छ । बिरामीलाई अस्पतालमा राखेर अक्सिजन दिइन्छ । उनीहरूको उपचार आइसोलेसन वार्डमा राखेर गरिन्छ । जुन बिरामीको उपचार भेन्टिलेटरमा राखेर गर्नुपर्छ, त्यो क्रिटिकल केस हो ।
बेलायतको कुरा गर्ने हो भने, ‘माइल्ड केस’ का बिरामीहरू घरमै आइसोलेसन बसेका छन् । त्यसरी आइसोलेसनमा बस्नेहरू असीदेखि पचासी प्रतिशत छन् । उनीहरू ज्वरो घटाउन सिटामोल खान्छन् । पोसिला खानेकुरा उनीहरूको प्राथमिकतामा पर्छ । श्वासप्रश्वासमा समस्या देखिए मात्रै डाक्टरसँग परामर्श लिएर अस्पताल पुग्छन् ।
मानिसहरु कत्तिको आतंकित छन् ?
खासै छैनन् । संक्रमण देखिएपछि पनि उनीहरु घरमा नै बसिरहेका हुन्छन् यसको मतलव त्रास केही कम छ । चिकित्सकको सल्लाह अनुसार समय समयमा औषधि लिदा निको हुन्छ भन्ने मानसिकता छ । कोरोना निको हुन्छ र सामान्य दैनिकीमा फर्कन सकिन्छ भन्ने छ । त्यस्तै भइरहेको पनि छ । नेपालमा मानिसहरु धेरै नै त्रसित छन्, श्रीमतिलाई संक्रमण भएपछि आफन्तहरुले फोन गर्नुभयो अनि मैले हामीसंगै नै बस्छौ भन्दा डराउनुभयो । नेपालमा त निको भएकाहरुको वरपर बस्न पनि डराएको अवस्था छ भन्नुभयो म छक्क परेँ ।
कोभिड लागेपछि मरि हालिन्छ भन्ने सोचको हावी भएको छ तर कोभिडको उपचार सम्भव छ र मृत्यु हुनेको तुलनामा निको हुनेको संख्या धेरै छ । म के अनुरोध गर्दछु भने थुकको छिटाबाट संक्रमण सर्ने र निश्चित अवधिसम्म मात्रै संक्रमण हुने अनुसन्धानहरुले देखाएकाले डराउनुपर्दैन । तर सचेत भने हुनुपर्दछ । भौतिक दुरी कायम राख्नुपर्छ । साबुन पानीले हात धोइरहनुपर्यो,मास्क लगाउन पर्यो ।
एक जना बिरामीको मृत्यु भयो तर उहाँलाई कोरोना संक्रमण भएको रहेछ पछि मात्रै थाहा भयो । सुरु देखि नै कोभिडको मात्र बिरामी जाँच नगर्ने भएकाले अस्पतालमा पीपीई नलगाई काम गर्यौ ।
उपचारका क्रममा संक्रमितहरुको कति औ पटक सम्म स्वाब परीक्षण गरिन्छ ?
एउटा निश्चित चरण पार गरेपछि भाइरसले संक्रमण गर्दैन भन्ने अभ्यासका आधारमा बेलायत चलिरहेको छ । लक्षण देखिन छाडेपछि निको भएको ठानिन्छ । त्यसैले यहाँ भाइरस रहेको÷नरहेको थाहा पाउन सुरुमा जम्मा एक पटक मात्रै परीक्षण गरिन्छ । त्यसपछि गरिदैन । घरमा बसेरै उपचार गर्ने हो,अस्पतालमा जान पर्ने अवस्थामा भए अस्पताल जाने हो । निगरानीमा बस्ने हो । लक्षणहरु घट्दै गएपछि निको हुन्छ भन्ने हो ।
मैले अहिले सम्म थाहा पाए सम्म सबैलाई यस्तै गर्ने हो । श्रीमतिलाई अफिसबाट म्यानेजरले लक्षण के छ ? कहिलेबाट काममा आउन सकिन्छ भनेर फोन गर्नुभएको थियो । खोकी लागिरहेकाले अब २–३ दिनमा काममा फर्कन सक्छिन्की भन्ने अनुमान छ । उहाँलाई पनि एक पटक मात्रै हो परीक्षण भएको । र बेलायतमा अहिलेसम्म र्यापिड टेस्टको अभ्यास भएको छैन ।
आफ्नो विभागिय प्रमुखलाई जानकारी गराउनुभयो र उपचारका लागि रिफर गर्नुभयो तर रिफर गरेको ४ दिनपछि मात्रै स्वाब परीक्षण भयो ।
श्रीमतिलाई कोरोना संक्रमण कसरी भयो ?
अब ठ्याक्कै यसरी नै भयो भन्न गाह्रो छ । हामी दुबै जना अस्पतालमा काम गर्छाै । मेरी श्रीमति काम गर्ने सामुदायिक अस्पताल हो । यहाँ सबै किसिमका बिरामीको जाँच हुने गर्छ । सोही क्रममा एक जना बिरामीको मृत्यु भयो तर उहाँलाई कोरोना संक्रमण भएको रहेछ पछि मात्रै थाहा भयो । सुरु देखि नै कोभिडको मात्र बिरामी जाँच नगर्ने भएकाले अस्पतालमा पीपीई नलगाई काम गर्यौ । अस्पतालमा काम गर्ने भएकाले त्यहीबाट संक्रमण भयो कि भन्ने अनुमान छ त्यस अस्पतालमा अरु संक्रमितहरु थपिए । म सहित छोराछोरी कसैलाई पनि कुनै लक्षण देखिएको छैन र हामी आत्तिएका पनि छैनौ ।
लक्षणहरु देखिएका थिए ?
अप्रिल ९ मा ज्वरो आएको थियो त्यही बेलामा नै हामीले स्वास्थ्यमा केही गडबड भएको छ भन्ने अनुमान लगायौं, सामान्य ज्वरो आएको थियो, गम्भिर किसिमका लक्षण देखिएको थिएन । काममा निरन्तर गइरहनुभयो । तर त्यसको ३–४ दिनमा खोकी लाग्न सुरु भयो,ज्वरो बढ्यो,सास फेर्न केही अहसज भए जस्तो भयो र पखाला पनि लाग्यो । अनि त्यसपछि मेरी श्रीमतिले आफ्नो विभागिय प्रमुखलाई जानकारी गराउनुभयो र उपचारका लागि रिफर गर्नुभयो तर रिफर गरेको ४ दिनपछि मात्रै स्वाब परीक्षण भयो । लक्षण देखिएको १० दिनपछि कोरोनाको पुष्टि भयो ।
नेपालमा संक्रमण नियन्त्रणका लागि भइरहेको काम कस्तो लागिरहेको छ ?
एकदम राम्रो छ । र्यापिड टेस्टमा धेरै केन्द्रित हुनुहुन्न भन्ने लाग्छ । मुख्य कुरा लकडाउन गर्नपर्ने थियो त्यो भइरहेको छ । तर लकडाउन भनेको त भित्र बस्ने हो नी । कुनै पनि बहानामा भीड गराइनु हुदैन । रोकथामका लागि भइरहेको काम राम्रो लागिरहेको छ ।
तपाईँको अभिमत