चीनबाट ल्याइएका मेडिकल सामग्री आजै बितरण गरिने
काठमाडौं, १६ चैत । सरकारले चीनबाट अनुदान तथा खरिद गरि ल्याइएका मेडिकल सामग्री आज बितरण गर्ने भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले आजैदेखि सातै प्रदेशमा मेडिकल सामग्री तथा पीपीई वितरण गरिने जानकारी दिनुभयो ।
मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चीन गएको थियो । सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा एन ९५ मास्क, गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मा मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, रिएजेन्ट, परीक्षण किट तथा नमुना संकलन गर्ने ट्युबहरु रहेका छन् ।
यसैगरि सोही विमानमा चीनले सहयोग गरेको मेडिकल सामग्री नेपाल ल्याइएको छ । सिचुवान प्रान्तको सरकार, सिचुवान लगानीकर्ता तथा दूतावासले गरेको सहयोगको मेडिकल सामग्री नेपाल ल्याइएको हो । सहयोग सामग्रीमा कोरोना परीक्षण गर्ने किट सहित व्यक्तिगत सुरक्षाका सामग्री र परीक्षणमा प्रयाग गरिने मेडिकल सामग्रीहरु रहेका छन् । यसैगरी ज्याकमा र अलिबाबा फाउण्डेसनले मास्क सहित रोकथामका लागि प्रयोग हुने सामग्री सहयोग गरेको छ । नेपाल स्थिति चिनियाँ राजदूत होउ यान्कीले मन्त्रालयलाई सामान हस्तान्तरण गर्नुभएको हो ।
तपाईँको अभिमत