हान्टा भाइरस नयाँ होइन, धेरै समयअघि अमेरिकामा पनि भेटिएको थियो
फेरी चाइनामा नया "हाण्टा भाइरस" फैलियो भनेर आतंकित हुन थालेछन् । यसमा आत्तिनुपर्ने अवस्था अहिले छैन । हान्टा भाइरस नयाँ होइन, पहिले नै पत्ता लगाइएको भाइरस हो र यो सबै महादेश (अण्टार्कटिका बाहेक) मा पाइन्छ । अमेरिकातिर हुनेलाइ 'New World' अनि र हाम्रो एसियामा हुनेलाइ 'Old World' हाण्टा भाइरस भनेर पनि चिनिन्छ। यो भाइरस धेरै समयअघि अमेरिका/युरोपतिर र हालसालै अर्को छिमेकी भारत तथा श्रीलंका लगायतका मुलुकहरुमा पनि भेटिएको थियो । यो खास गरि मुसा/ छुचुन्द्राबाट (पिसाब, दिशा, र्याल आदिको सम्पर्कबाट) मानिसमा सर्दछ ।
यसको मृत्युदर उच्च भए तापनि एउटा मानिसबाट अर्को मानिसमा सरेको प्रमाण छैन (एउटा १९८७ को संदिग्ध केस बाहेक, ल्यांसेट-१९९७) ।
न्यु वर्ल्ड हान्टा भाइरस जुन अमेरिकातिर पाइन्छ, त्यसले न्युमोनिया बनाउँछ भने ओल्ड वर्ल्ड हान्टा भाइरसले रक्तस्राव अर्थात् हेमरेज तथा मृगौलामा समस्या ल्याउँछ । संसारमा अनगिन्ती भाइरस छन्। धेरैजसो भाइरसहरु जनावरबाट मान्छेमा सर्ने गर्छन्। वैज्ञानिकका अनुमानका आधारमा, २५ परिवारका पन्ध्र लाख भन्दा बढी भाइरस छन्।ती मध्ये हालसम्म करिब २६० जति भाइरस मात्र पहिचान भएको छ। अर्थात् ९९.९% भाइरसहरु अझै देखिएका वा चिनिएका छैनन् (ल्यांसेट-२०१९)।
कतिपय अवस्थामा वंशानुगत परिवर्तनबाट वा स्पिल ओभर भएर पनि यी भाइरस मान्छेमा सर्छन्। जबसम्म मान्छेमा भाइरस संक्रमणले कुनै रोग देखाउँदैन, यी भाइरसहरु देखिएका हुँदैनन्। कुनै भाइरसले सानो संक्रमण हुन्छ भने कहिलेकाहीं कोभिड-१९ जस्तो ठूलै महामारी पनि हुनसक्छ । यी अनगिन्ती भाइरसहरु मध्ये नगन्य प्रतिशतको मात्र पहिचान भएको छ, त्यसकारण कहिले कुन नयाँ भाइरसले नयाँ रोग निकाल्छ, केही थाहा हुँदैन।
हरेक नयाँ भाइरसको आआफ्नै गुण हुने हुनाले चिन्न बुझ्न तथा त्यसको रोकथाम, उपचार र नियन्त्रणका उपाय पत्ता लगाउन पनि समय लाग्छ।
तर, व्यक्तिगत व्यवहार अनि सामान्य सरसफाइका नियमहरु अर्थात 'चोखोपन'का प्रकृयाहरुको पालना गर्ने हो भने धेरै प्रकारका विशाणु/जिवाणुबाट बच्न सकिन्छ । अहिलेलाई भने केवल कोभिड-१९ को चिन्ता गरौं। घर बाहिर ननिस्कौं । तपाइँको एउटा सानो गल्ति वा लापरबाहीले तपाइँ आफू, परिवार वा देशलाई नै संकटमा पार्न सक्छ । सबै नागरिक संवेदनशील भयौं र देशले यो लडाईं जित्यो भने (जित्नै पर्छ !) यो पाठले हामीलाई यस्ता धेरै भाइरससँग लड्न र जित्न सिकाउने छ/समर्थ बनाउनेछ ।
(लेखक नागासाकी विश्वविद्यालय, जापानमा सहायक प्रोफेसर तथा अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिन इन्टरनेशनल कोर कमिटी सदस्य हुनुहुन्छ ।)
तपाईँको अभिमत