५ करोड मानिसको मृत्यु गराएको त्यो महामारी (फोटो फिचर)
कुनै पनि रोगका कारण विश्वका धेरै भूगोल र जनसंख्या प्रभावित हुन्छ भने त्यस्तो अवस्थामा महामारीको घोषणा गरिन्छ । विश्वमा ईश्वी संवत १६५ देखिनै महामारी देखिएको भए पनि सन् १९१८ मा देखिएको स्पेनिस इन्फ्लुएन्जाले अहिलेसम्मकै धेरै मानिसको ज्यान लियो ।
काठमाडौं, २ चैत । चीनको युहानमा पहिलो पटक देखिएको कोरोना भाइरस रोग (कोभिड–नाइन्टिन)को संक्रमण विश्वकाे ७६ प्रतिशत देशमा फैलिसकेको छ । शनिबारसम्म विश्वको १ सय ९५ वटा देशमध्ये १ सय ४९ वटा देशमा कोरोनाको पुष्टि भइसकेको छ । १ लाख ५४ हजार २ सय ३५ जनामा कोरोनाको संक्रमण भएको छ भने ५ हजार ७ सय ९८ जनाको मृत्यु भएको छ । संक्रमण र मृत्यु भएका मध्ये अधिकांश ६० वर्ष उमेर माथिका रहेका छन् ।
विश्व स्वास्थ्य संगठनले मार्च ११ मा कोरोना संक्रमणलाई महामारी रोगमा बर्गीकृत गर्यो । छोटो समयमा धेरै भूगोल स्थान र जनसंख्यालाई प्रभाव पारेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको घोषणा गरेको हो ।
महामारीको घोषणा गर्ने दिन १ सय १४ देशमा गरि १ लाख १८ हजार संक्रमित भएका थिए भने मृत्यु हुनेको संख्या ४ हजार ३ सय पुगेको थियो । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको पछिल्लो तीन दिनमा थप ३५ देशमा संक्रमणको पुष्टि हुनुका साथै १ हजार ४ सय ९८ जनाको मृत्यु भइसक्यो ।
विश्वका सबै देशहरुले प्रभावकारी र कठोर उपाय अवलम्वन नगरे संक्रमण अझै बढ्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै आएको छ । संक्रमणलाई रोक्न अमेरिका, चीन, इटाली, स्पेन लगायतका एक दर्जन बढि देशले आपतकालको घोषणा गरिसकेका छन् । अधिकांश देशले विद्यालय, सिनेमा हल लगायतका धेरै भीड हुने स्थानमा जमघट प्रतिबन्ध गरिसके भने सकेसम्म घरमा नै क्वारेन्टाइनमा बस्न सचेत गराइसके ।
के हो महामारी ?
कुनै पनि रोगका कारण विश्वका धेरै भूगोल र जनसंख्या प्रभावित हुन्छ भने त्यस्तो अवस्थामा महामारीको घोषणा गरिन्छ । विश्वमा ईश्वी संवत १६५ देखिनै महामारी देखिएको भए पनि सन् १९१८ मा देखिएको स्पेनिस इन्फ्लुएन्जाले अहिलेसम्मकै धेरै मानिसको ज्यान लियो ।
स्पेनिस इन्फ्लुएन्जा
पहिलो विश्व युद्धको अन्त्यतिर अर्थात सन् १९१८ मा स्पेनिस इन्फ्लुएन्जा देखियो । स्पेनिस इन्फलुएन्जा सुरुमा युद्धमा खटिएका सेनाहरुमा देखियो । उनीहरु घर आउने जाने गर्दा परिवार, टोल, समाज, देश हुँदै विश्वको एक तिहाई जनसंख्या करिव ५० करोड मानिसलाई स्पेनिस इन्फ्लुएन्जाले संक्रमित बनायो । सन् १९१८ मा विश्वको जनसंख्या करिव १ अर्ब ९० करोड थियो । स्पेनिस इन्फ्लुयन्जा अधिकांश २० देखि ३० वर्ष उमेरका मानिसलाई संक्रमण भएको थियो ।
संक्रमणका कारण ५ करोड मानिसको मृत्यु भयो अर्थात् संक्रमित मध्ये १० प्रतिशतको मृत्यु भयो । यो नै महामारीबाट भएको अहिलेसम्मको उच्च संख्या हो । स्पेनिस इन्फ्लुएन्जाको संक्रमण स्पेनबाट भएको थियो । महामारी २ वर्षसम्म चल्यो । स्पेनिस इन्फ्लुएन्जालाई एचवान एनवानको नामले चिनिन्छ । सन् २००९ मा देखिएको स्वाइन फ्लु पनि स्पेनिस इन्फ्लुएन्जाको दोस्रो रुप मानिन्छ । ज्वरो आउनु, पखाला, अनुहारमा गाढा दाग देखिनु, सास फेर्न अप्ठेरो हुनु स्पेनिस इन्फुलुएन्जाका लक्षण थिए ।
तपाईँको अभिमत