बाँझोपनको मुख्य कारण ढिला बच्चा जन्माउनु
बाँझोपन के हो ?
बढ्दो उमेर तथा परिवार नियोजनको साधनको जथाभावी प्रयोगका कारण पछिल्लो दशक बाँझोपनको समस्या बढिरहेको छ । स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा करिअर बनाउनतर्फ लाग्दा विवाह ढिलो गर्ने अथवा विवाह गरेर पनि ढिला बच्चा जन्माउन चाहने क्रमले बाँझोपनको समस्या निम्तिरहेको बताउनुहुन्छ । दम्पतिले कुनै पनि साधन प्रयोग नगरि वर्ष दिनसम्म गर्भ नबसेको अवस्थालाई बाँझोपन भनिन्छ । बाँझोपन महिला र पुरुष दुबैका कारण हुन्छ ।
महिलामा किन हुन्छ बाँझोपनको समस्या
महिलाको डिम्बासयमा अण्डाको मात्रा घट्ने, अण्डा नै निर्माण नहुने, पाठेघरमा मासु पलाउने तथा डिम्बासयसम्म जाने नली बन्द हुन जाँदा बच्चा नहुने समस्या हुन्छ । यी सबै समस्या ढिला बच्चा जन्माउने योजना बनाउने दम्पतिमा देखिएको छ । छोरीहरु जन्मदै निश्चित अण्डाका साथ जन्मिने भएकाले उमेर अनुसार अण्डामा घटबढ हुन जान्छ । महिलामा ३० वर्षपछि अण्डाको मात्रा बिस्तारै घट्दै जान्छ । ३५ वर्षसम्म आइपुग्दा अण्डाको मात्रा घट्ने दर दुई गुणाले बढ्दछ । उमेर जति जति छिप्पिँदै जान्छ पाठेघर पनि त्यतिकै रोगी हुँदै जान्छ अर्थात् पाठेघरमा मासु पलाउने, नली बन्द हुने जस्ता समस्या देखिन्छन् जसले बाँझोपन निम्त्याउँछ ।
पुरुषमा हुने बाँझोपन
वीर्यको मात्रा कम हुँदा बाँझोपनको समस्या आउँछ । खानपिन, मद्यपान, धुमपान, तनावले वीर्यको मात्रा घटाउने अध्ययनहरुले देखाएको छ ।
परिवार नियोजनको साधनको जथाभावी प्रयोग गर्दा
भर्खरै विवाह गरेका दम्पतिले सम्बन्धित चिकित्सकको परामर्श अनुसार मात्र परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ । तर आजभोलि परामर्श बिना जथाभावी जुनसुकै साधन प्रयोग गर्दा पनि बाँझोपनको समस्या निम्तन्छ । डा.शर्माका अनुसार भर्खरै विवाह गरेका महिलाले कपर टी प्रयोग गर्दा पाठेघरमा संक्रमण हुन सक्छ त्यसैले नवविवाहित महिलाले कपर टी प्रयोग गर्नुहुँदैन । नवविवाहित दम्पतिका लागि पिल्स र कण्डम सुरक्षित साधन हुन् ।
बाँझोपन हुन नदिन के गर्ने
१. ३० वर्षभित्र नै बच्चा जन्माउने ।
२. परिवार नियोजनको साधनको जथाभावी प्रयोग नगर्ने ।
३. खानपानमा ख्याल गर्ने ।
४. तनावमा नबस्ने ।
तपाईँको अभिमत