नेपालमा पनि कोरोनाको उच्च जोखिम : के पशुपतिनाथले जोगाउने ?
कोरोना प्रभावित स्थानबाट नेपाल भित्रिएका ५० हजार मानिस कहाँ छन् : अस्पताल नै त्रासमा
कोरोना भाइरस (कोभिड नाइन्टिन)काे संक्रमण चीनबाट विश्वभर फैलिएको छ । यो अवस्थामा नेपालमा कुनै पनि बेला कोराना भाइरस संक्रमण देखिन सक्ने जोखिम बढिरहेकाे छ । कोरोना प्रभावित क्षेत्रबाट मानिसहरु नेपाल आउने क्रम रोकिएको छैन र उनीहरुसँग नेपालभित्र पनि सम्पर्क गर्नुपर्दा सरकारसँग कुनै पनि सम्पर्क सूत्र छैन । विदेशबाट आएका केही नेपालीहरुले विमानस्थलबाट सिधै टेकु अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउने गरेका छन् तर विदेशी नागरिकहरु अस्पताल पुगेका छैनन् । उनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने जानकारी सरकारसँग छैन र लिन आवश्यक ठानेको पनि छैन ।
विमानस्थलमा हेल्थ डेस्क भए पनि त्यहाँ स्वास्थ्यकर्मी देखिँदैनन् र परीक्षण पनि हुँदैन भन्ने गुनासो व्यापक आइरहेको छ । विभिन्न देशबाट नेपाल आएका यात्रुहरुले विमानस्थलमा क्वारेन्टाइनको व्यवस्था कमजोर रहेको बताएका छन् । ३ साता अगाडि चीनबाट नेपाल फर्किएका डा. विभुष श्रेष्ठले आफूले विमानस्थलको डेस्कमा स्वास्थ्यकर्मी नदेखेएको, कुनै फारम नभरेको र परीक्षण समेत नगरिएको जानकारी हेल्थपाटीलाई गराउनुभएको थियो । अहिले पनि अवस्था उस्तै छ ।
चीनपछि अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, मध्यपूर्वी देश सहित युरोपसम्म संक्रमण बढिरहेको छ । नेपालमा हालसम्म एक जनामा मात्र कोरोनाको संक्रमणको पुष्टि भएको छ । तर यति भनिरहँदा कोरोनाको जोखिम टर्दैन । फेब्रुअरी १ देखि २५ सम्म अर्थात् मंगलबारसम्म विमानस्थल हुँदै नेपाली सहित ७५ हजार २ सय ८८ जना नेपाल भित्रिएका छन् । यसमा नेपालीको संख्या ४७ हजार २ सय ३ रहेको छ । १ हजार ५ सय ३९ चिनियाँ नागरिक नेपाल प्रवेश गरेका छन् र अन्य देशका नागरिकको संख्या २८ हजार ८५ रहेको छ ।
स्थलमार्गबाट नेपाल भित्रिएकाहरुको तथ्यांकको लेखाजोखा छैन । लक्षण नै नदेखिएका व्यक्तिबाट पनि कोरोनाको संक्रमण फैलिएको अवस्थामा नेपाल भित्रिएका मानिसको सम्पर्कसूत्र एवं निगरानी सरकारले नगर्नुले संक्रमणको जोखिम उच्च रहेको छ । दक्षिण कोरियामा एक हप्तामा १ हजार भन्दा बढीमा संक्रमण देखिएको छ र उसले संक्रमण नियन्त्रणका लागि सबैलाई मोबाइलमा बेला–बेलामा आवश्यक जानकारी दिइरहेको छ । कुनै लक्षण देखिहालेमा सम्पर्क गर्न हटलाइन नम्वरको व्यवस्था गरि फोन गरेको १० मिनेट भित्र उद्दार गर्ने व्यवस्था मिलाएको छ ।
नेपालले कम्तिमा विमानस्थल हुँदै नेपाल आएका यात्रुको तथ्यांक राखेर यात्रा तालिका ,भ्रमण गर्ने स्थान, उनीहरु रहने होटल बुकिङ आदिको विवरण संकलन गरि आवश्यक परेको बेलामा तुरुन्त उनीहरुसँग पुग्न सक्ने व्यवस्था मिलाउन ढिला भइसकेको छ । उनीहरुको सम्पर्क नम्वर संकलन गरि अत्यावश्यक सूचना तुरुन्तै उनीहरुको मोवाइलमा पुग्ने व्यवस्था गर्न त नेपाल सक्षम छ नि । यति पनि किन ध्यान नदिएको ? नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको स्क्रिनिङ गर्न जरुरी छ । जनशक्ति अभावले हुन नसकेको हो भने संयुक्त सुरक्षा फोर्सलाई खटाएर पनि प्रत्येक यात्रुलाई स्क्रिनिङ किन नगरेको ? सरकार गरिराछु भनिरहने, सांसदहरुलाई संविधान संशाेधनकै चिन्ता बढी रहने अनि देशको चिन्ता पशुपतिनाथले लिने हो ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा एकैपटक १ सय ४७ जनालाई आइशोलेसनमा राखेर उपचार गर्न सक्ने व्यवस्था छ भनिरहँदा आइशाेलेसनको व्यवस्था मिलाउने अस्पतालहरु नै त्रासमा छन् । ६ वटा हब र ३० वटा सेटेलाइट अस्पतालमा गरि १ सय ४७ वटा आइशाेलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले बताए पनि हब अस्पतालहरु सकेसम्म कोरोनाको उपचार आफ्नो अस्पतालमा गर्न नपरोस् भन्नेमा छन् । अस्पतालकै बिरामीलाई बेड नपुगिरहेको अवस्थामा अन्य बिरामीसँगको सम्पर्क टाढा राखेर आइशाेलेसनको व्यवस्था मिलाउन कठिन छ । हब अस्पतालहरुमा बिरामीको चाप अत्याधिक हुने भएकाले ती अस्पतालहरु थप भार थेग्न सक्ने अवस्थामा छैनन् ।
शिक्षण अस्पताल महाराजगञ्जले ६ वटा आइसोलेसन कक्षको व्यवस्था गर्छु भनेपनि बिरामीको चापले गर्दा अहिलेसम्म आइसोलेशन कक्षको व्यवस्था गर्न सकेको छैन । अस्पतालका निर्देशक डा.प्रेम खड्गाले भन्नुभयो,दिनहुँ करिव १० हजार जति भिजिटर हुने यस अस्पतालमा आइसोलेसनका लागि पुरै एउटा वार्ड नै खाली गर्नुपर्छ ,आइसियु एउटा पनि खाली राख्न सक्ने अवस्थामा छैन त्यसैले हामीले अहिले आइसोलेसनको व्यवस्था गरेका छैनौ र यस्तो भीड हुने अस्पतालमा कोरोनाको उपचार गर्दा संक्रमणको जोखिम उच्च रहन्छ तरपनि सरकारको निर्देशन अनुसार व्यवस्था गर्न हामी तयार छौ ।
अर्काे हब अस्पताल हो वीर । जहाँ दिनहुँ ३५ सय जति भिजिटर पुग्ने गर्छन् । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले ५ वेडको आइशाेलेसन छुट्याएको पनि जानकारी दिँदै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्था गरि उपचार गर्न एकदम कठिन रहेको र वार्ड नै खाली गर्नुपर्दा अस्पतालको सेवा नै प्रभावित हुन सक्ने बताउनुभयो । उहाँले २ वटा आइसियू कक्ष तयारी अवस्थामा रहेको बताउनुभयो ।
पाटन अस्पतालका निर्देशक विष्णु शर्माले एउटा वार्ड खाली गरेर ६ वटा आइशाेलेसन कक्षको व्यवस्था गरेको भए पनि आइसियुको व्यवस्था भने नरहेको बताउनुभयो । त्यस्तै सिभिल अस्पतालका निर्देशक दीर्घराज आरसीले पनि आइसियुको व्यवस्था नरहेको बताउनुभयो । उहाँले ५ वटा आइशाेलेसन कक्ष तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँले अस्पतालकै बिरामीलाई आइसियू अपुग भइरहेको अवस्थामा कोरोनाका लागि छुट्याउन सक्ने अवस्था नरहेको बताउनुभयो ।
सरुवा रोगको मात्र उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६ वटा आइशाेलेसन कक्षको व्यवस्था गरिएको छ, र क्वारेन्टाइनका लागि ४३ बेडको पुरुष वार्ड खाली गरिएको छ तर आइसियू व्यवस्था मिलाउन हम्मे हम्मे छ । बाँकी २९ वटा सेटेलाइट अस्पतालको अवस्था पनि अन्यौलमै छ । यस्तो अवस्थामा नेपालमा केही गरि कोरोना भित्रियो भने संक्रमण नियन्त्रणको अवस्था नाजुक रहेको छ । अहिले दक्षिण कोरिया र जापानमा तिब्र गतिमा फैलिएको छ, मध्यपूर्वी मुलुकहरुमा पनि कोरोना फैलिन सुरु गरेको छ । अहिले नेपाली रहेका प्राय सबै मुलुकमा कोरोना पुगिसकेको छ । विदेशमा रहेका करिव २० लाख नेपाली यसको जोखिममा छन् । यो अवस्थामा नेपाल सरकारसँग महामारी फैलिनबाट रोक्ने ठोस योजना केही छ कि पशुपतिनाथकै भरोसा हो ?
तपाईँको अभिमत