चीनमा कोरोना सुरु भएदेखि खरीपाटी क्वारेन्टाइन आइपुग्दा सम्मको यात्रा : फोटो फिचर
चीनमा अध्ययरत विद्यार्थीले कोरोना भाइरस रोग फैलिँदा पाएको दुःख
काठमाडौं, ४ फागुन । चीनबाट नेपाल ल्याइएका १ सय ७५ जना नेपालीहरु यतिबेला खरीपाटी क्वारेन्टाइमा छन् । क्वारेन्टाइनमा बसे पनि उनीहरुले पिँजडाबाट फुत्केको जस्तो महशुस गरिरहेका छन् ।
उनीहरुलाई खान बस्नको राम्रो व्यवस्था रहेको क्वारेन्टाइनमा रहेका नेपालीहरुले बताएका छन् । खेल्नका लागि ब्याटमिन्टन, टेवलटेनिस, क्यारीमबोर्डको व्यवस्था छ । हेल्थपाटी डटकमका लागि जगन्नाथ ढकालले नाम नबताउने सर्तमा खरीपाटी क्वारेन्टाइनमा बसिरहेका एक जना विद्यार्थीसँग चीनको शीयानदेखि नेपालको क्वारेन्टाइनस्थलसम्म आइपुग्दा सम्मको यात्रा अनुभवका बारेमा कुरा गर्नुभएको छ । कुरा गर्दा धेरै पटक भावुक हुनुभएका ती विद्यार्थीले उद्दार टोली, नेपाल सरकार, नेपाली सञ्चार माध्यमलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँको यात्रा अनुभव जस्ताको तस्तै :
सरकारले मिति तोकेको दिन
नेपाल सरकारले हामीलाई नेपाल लैजाने मिति तोकेको दिनदेखि नै हामी निकै उत्साहित र खुशी भएका थियौँ । नेपाल सरकार, चीन सरकारले तोकेको मापदण्डलाई फलो गर्दै हामी नेपाल आउने तयारी गर्दै फागुन ३ गतेको दिनगन्ति सुरु भयो ।
आफू अध्ययनरत विश्वविद्यालयमा बस कुर्दैगर्दा
हामी बसेको स्थानबाट युहान पुग्न अरु दिनमा रेलमा पौने २ घण्टा लाग्थ्यो । फागुन ३ गते हामीलाई साढे सात घण्टा लाग्यो । हामीलाई लिन बस आयो । २१ दिनसम्म कोठामै थुनिएर बाहिर निस्कँदा त पिँजडाबाट फुत्किएको जस्तै भयो । शीयान हुबईको एकदम व्यस्त शहर हो तर त्यसदिन सुनसान थियो । सधै भीड देखिने शहर पहिलो पटक खाली देख्दा म अर्कै ठाउँमा छु जस्तो लाग्यो ।
सडक सुनसान देख्दा अनौठो लाग्यो
करिव २५ दिनदेखि एकनास मास्क लगाएर बस्नुपरेकाले असहज त अहिले पनि भइरहेको छ । म सहित अरु चार जना साथी युहान पुगेपछि अरु साथीहरुलाइ पनि भेट्यौँ । युहान विमानस्थल नेपालको भन्दा १२ गुणा भन्दा बढि भिड हुने विमानस्थल हो । अरु बेला त्यही विमानस्थलमा लाखौं मानिसको भिड देखेको मैले त्यसदिन हामी नेपाली र सुरक्षामा खटिएका सुरक्षाकर्मी र उपचारमा जुटेका स्वास्थ्यकर्मी मात्रै देखेँ ।
म निकै डराएको थिएँ
म निकै त्रसित र आत्तिएको थिएँ । विमानस्थलमा परीक्षण गर्दा केही लक्षण देखियो भने म यहीँ रोकिन्छु भन्ने डर अन्तिम परीक्षण हुँदासम्म हराएको थिएन । जब अन्तिम पटकको स्वास्थ्य परीक्षण भयो त्यसपछि बोर्डिङ पास पाएँ, त्यति बेला त संसार नै जितेको जस्तो लाग्यो । ढुक्क भएँ अब म आफ्नो जन्मभूमि जाने पक्का भयो भनेर । यात्राका क्रममा लक्षण देखियो भने नेपालमै त बस्न पाइन्छ भन्ने लागेको थियो तर नेपालको विमानस्थलमा भएको परीक्षणमा पनि म लगायत सबै साथी पास हुनुभयो ।
बोर्डिङ पास भएपछि
बोर्डिङ पास लिएर विमान प्रवेश गर्न जाँदा आफूहरुलाई लिन आएकाे नेपाली र ध्वजावाहक विमान देख्दा अति नै खुशी र नेपालप्रति गर्वको महशुस भयो । म आफ्नै घरमा आइसकेको जस्तो महसुस भयो । त्यो क्षणलाई म शव्दमा वर्णन गर्न सक्दिन ।
विमानमा प्रवेश गर्दा
हामीलाई विमान प्रवेश गर्नुअघि पहिला प्रयोग गरिएको मास्क खोल्न लगाइयो । अन्य समयमा विमान चढ्दा एयर होस्टेसहरु स्वागतका लागि बस्नुहुन्थ्यो । तर शनिबार त्यस्तो थिएन । हामी र अन्य व्यक्तिहरुसँगको सम्पर्कलाई टाढा गराइएको थियो । सबै सिट सेनेट्राइज सहित सुरक्षित प्लाष्टिकले कभर गरिएको थियो । सिट अगाडि एन ९५ मास्क, सेनेट्राइज र खाना राखिएको थियो ।
हाम्रो सहयोगका लागि विमानमा रहेका स्वास्थ्यकर्मी, क्रुज, एयर होस्टेस सबैले सुरक्षित पोशाक, मास्क लगाउनुभएको थियो । हामीले पनि सुरक्षित पोशाक र मास्क लगाएका थियौँ ।
विमानबाट ओर्लंदा
नेपालमा विमान अवतरण हुँदा तीन जति बजेको थियो । विमानबाट ओर्लंदा हर्षले आँखाबाट आँसु झर्यो । निकै भावुक भएँ । अवतरण हुँदा विमानमा प्रयोग गरिएका मास्क र अन्य सबै सामान डिस्पोज गर्ने स्थानमा राखेर हामी स्वास्थ्य परीक्षण गर्ने स्थलतर्फ लाग्यौँ । मैले हिडिँरहदा घरमा आइपुगेँ भनेर फोन गरेँ । कुरा गर्दागर्दै परिवारका सदस्य र मेरो गला बस्यो, बोल्न सकिन ।
नेपालको विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा
हाम्रो स्क्रिनिङ गरि इन्फारेड थर्ममिटर मार्फत तापक्रम मापन गरियो । यतिबेलासम्म मेरो डर हराइसकेको थियो किनकि लक्षण देखिहाले पनि म नेपाल आइसकेँ, तोकिएको अस्पतालमा गएर बस्छु भन्ने लागेको थियो । तर म लगायत सबै साथी परीक्षणमा पास भयौँ ।
क्वारेन्टाइनमा जाँदै गर्दा
स्वास्थ्य परीक्षण पछि हामीलाई बसमा प्रवेश गर्न भनियो । पालै–पालो गरि बस्यौँ । ५ वटा बस थियो । क्वारेन्टाइन खरीपाटी आइपुग्दा पौने सात बजेको थियो । बन्द कोठामा बसिरहेका हामीलाई क्वारेन्टाइनमा छिर्दा सफा र खुला वातावरण देख्न पाउँदा स्वर्गमा आए जस्तो भयो । यहाँ हाम्रो लागि खान बस्न राम्रो व्यवस्था गरिएको छ । हामी तनाव मुक्त भएका छौँ । एउटा फ्ल्याटमा २ वटा टिभिको व्यवस्था गरिएको छ । १२ जनाको टिमको लागि २ वटा टिभिको व्यवस्था गरिएको छ । नास्ताका लागि हामीलाई चना, अण्डा दिइएको थियो ।
खानाको लागि माइकिङ गरेर बोलाउने व्यवस्था गरिएको छ । ७ देखि ८ बजेसम्म नास्ताको समय तोकिएको छ । बिहान ११:३० देखि १२ बजेसम्म खानाको व्यवस्था छ । दिउँसो चियाको समयमा ३ः३० देखि ४ बजेसम्म र बेलुकी खानाको समय ७ः३० देखि ८ बजेसम्म तोकिएको छ ।
क्वारेन्टाइनमा ब्याटमिन्टन, टेवलटेनिस, क्यारीमबोर्डको व्यवस्था गरिएको छ । ६ जनालाई एक शौचालयको व्यवस्था छ । इन्टरनेटको सुविधा छ । यहाँ अहिले म लगायत सबै साथीहरु हँसिलो र तनावमुक्त छाैँ ।
तपाईँको अभिमत