कोराेना भाइरस संक्रमणको नालीबेली
सुरुवातदेखि अहिलेसम्मकाे तिथि मिति सहित
चीनमा युवानमा पहिलोपटक देखिएको कोभिड नाइन्टिन कोरोना भाइरस रोग विश्वका २८ भन्दा बढि देशहरुमा फैलिएको छ । संक्रमणबाट आक्रान्त भएको विश्व सचेत भएर अघि बढिरहेको छ । चीनसँग सीमा जोडिएका देशहरुले चीनमा जान र आउन रोक लगाएका छन् । भाइरस संक्रमणको सुरुवातीदेखि हालसम्म भएका विकसित घटनाक्रमः
डिसेम्बर ३१
युहानमा धेरै मानिसहरु निमोनियाको शिकार भएको भनेर समाचारहरु आए । निमोनिया भएका भनिएकाहरु माछा बजारमा काम गर्ने कामदार थिए । बिरामीको संख्या थपिदै गएपछि जनवरी १ मा माछा पसल बन्द गरियो । बिरामीको उपचार पश्चात स्वास्थ्य अधिकारीहरुले उनीहरुलाई भाइरसको संक्रमण भएको बताए ।
जनवरी ५
सन् २००३ जतिबेला सार्स कोरोना भाइरसका कारण ७ सय ७० जना मानिसको मृत्यु भएको घटनालाई स्मरण गर्दै सार्सको जस्तो अवस्था नआओस् भनेर सरकारी अधिकारीहरुले उच्च निगरानीको थालनी गरे ।
जनवरी ७
स्वास्थ्य अधिकारीहरुले निमोनिया भएको भनिएका बिरामीमा भाइरसको संक्रमण भएको पुष्टि गरे । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले कुन भाइरस भएको भन्ने पुष्टि नभएपछि केही समयका लागि यो भाइरसको नाम नोवेल 2019-nCov राख्यो ।
जनवरी ९
माछा बजारबाट सामान किनेका ६१ वर्षका बृद्दलाई श्वासप्रश्वास र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो उनको उपचार सफल हुन सकेन, उनको मृत्यु भयो ।
जनवरी ११
चीनले कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको पहिलो पुष्टि गर्यो । जनवरी ९ मा उनको मृत्यु भएको थियो ।
जनवरी १३
विश्व स्वास्थ्य संगठनले थाइल्याण्डमा पनि कोरोना भाइरसको पुष्टि गर्यो । जुन चीन बाहिर पहिलो घटना थियो । थाइल्याण्डमा संक्रमण देखिएका व्यक्ति युवानबाट थाइल्याण्ड पुगेका थिए ।
जनवरी १६
जापान सरकारले आफ्ना नागरिकलाई पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिएको थियो । ती पुरुष पनि युहानबाट नै जापान फर्किएका थिए ।
जनवरी १७
युहानमा दोस्रो व्यक्ति संक्रमणबाट मृत्यु भएको पुष्टि गरियो । त्यसपछिका दिनहरुमा अमेरिका, नेपाल, फ्रान्स, अष्ट्रेलिया, मलेशिया, सिंगापुर, दक्षिण कोरिया,भियतनाम र ताइवानमा पनि संक्रमणको पुष्टि भएको सूचना जारी भयो ।
जनवरी २०
चीनमा तेस्रो व्यक्तिको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि गरियो ।
जनवरी २२
संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो र ५ सय ५० जना संक्रमित भएको जानकारी गराइयो । जनवरी २४ मा मृत्यु हुनेको संख्या २६ पुग्यो । त्यतिबेला ८ सय ३० जना संक्रमित रहेको भन्ने सूचना चिनिया अधिकारीहरुले जारी गरे । संक्रमण तिब्र रुपमा फैलिएपछि जनवरी २५ मा हुबईका ५ वटा शहरमा आवतजावत पूर्ण रुपमा बन्द गरियो ।
जनवरी २६
मृत्यु हुनेको संख्या ५६ र संक्रमितको संख्या २ हजार पुग्यो ।
जनवरी २७
मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो र ४ हजार ५ सय १५ संक्रमित भेटिए ।
जनवरी ३०
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गर्यो । जतिबेला संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७० र संक्रमितको संख्या ७ हजार ७ सय ११ पुगेको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि एकरुपता ल्याउन भन्दै विश्व स्वास्थ्य संगठनले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसको उद्गम स्थल युहानमा क्वारेन्टाइनको व्यवस्था गरियो र सम्पूर्ण रेल सेवाहरु बन्द गरिए । सोही दिन हुबइको छियान्तो र चीबीमा पनि रेल सेवा बन्द गरियो । भारत र फिलिपिन्समा पनि संक्रमणको पुष्टि भयो ।
जनवरी ३१
संक्रमितको संख्या बढेर ९ हजार ८ सय ९ पुग्यो भने स्पेन, स्विडेन र संयुक्त अधिराज्यमा कोरोना भाइरसको पुष्टि भयो ।
फ्रेब्रुअरी १
मृत्यु हुनेको संख्या २ सय ५९ पुग्यो भने संक्रमितको संख्या ११ हजार ७ सय ९१ रह्यो । सोही दिन अष्ट्रेलिया, क्यानाडा ,जर्मन, जापान, सिंगापुर,अमेरिका, यूयएमा संक्रमणको थप पुष्टि गरियो ।
फेब्रुअरी २
पटक चीन बाहिर फिलिपिन्समा संक्रमणका कारण मानिसको मृत्यु भएको पुष्टि गरियो । यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ५ र संक्रमितको संख्या १४ हजार ३ सय ८० पुग्यो ।
फेब्रुअरी ३
मृत्यु हुनेको संख्या ३ सय ६१ जना पुग्यो । १७ हजार २ सय ५ संक्रमितको संख्या पुग्यो । फेबु्रअरी ४ मा चीनले मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको जानकारी गरायो । संक्रमितको संख्या २० हजार ४ सय ३८ पुग्यो ।
फेब्रुअरी ५
अमेरिकाले फेरि आफ्ना नागरिक लान थाल्यो र सोही दिन विश्व स्वास्थ्य संगठनले अहिलेसम्म उपचार के हो कसैले भन्न सक्ने अवस्था छैन भनेर जानकारी गरायो ।
फेब्रुअरी ६
मृत्यु हुनेको संख्या ५ सय ६३ हँदा संक्रमितको संख्या २८ हजार पुगेको थियो ।
फेब्रुअरी ७
६ सय ३७ मृतक र ३१ हजार संक्रमितको संख्या रहेको जानकारी गराइयो ।
फेब्रुअरी ८
७ सय २२ जनाको मृत्यु र ३४ हजार ५ सय ४६ संक्रमित भए ।
फेब्रुअरी ९
८ सय १९ जनाको मृत्यु भएको र ३७ हजार २ सय ५१ जना संक्रमित ।
फेब्रुअरी १०
मृत्य हुनेको संख्या ९ सय ८ पुग्यो भने ४० हजार १ सय ७१ संक्रमित पुष्टि भयो ।
फेब्रुअरी ११
मृत्यु हुनेको संख्या १ हजार १६ सय र ४२ हजार ५ सय ३८ संक्रमित भएको चीनको स्वास्थ्य आयोगले जानकारी दियो ।
फेब्रुअरी ११
डब्ल्यूएचओले कोरोना भाइरसको आधिकारिक नाम कोभिड नाइन्टिन कोरोना भाइरस नामाकरण गर्यो । संगठनका अनुसार “को” को अर्थ कोरोना, “भि” को अर्थ भाइरस र “डि” को अर्थ रोग अथवा समग्रमा कोरोना भाइरस रोग हुनेछ । संगठनले १८ महिनाभित्र कोभिड नाइन्टिन कोरोना भाइरस विरुद्दको खोप बनाउने पनि घोषणा गर्यो । संगठनका महानिर्देशक टेड्रोस अधानोमले कोरोना भाइरस विरुद्ध यो नाम सुहाउदो र सही हुने भन्दै रोग विरुद्ध आक्रामक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
फेब्रुअरी १२
कोभिड नाइन्टिन कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय पुगेको छ । ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन् । उपचारबाट निको हुनेको संख्या ४ हजार ७ सय ४० पुगेको छ ।
कोभिड नाइन्टिन कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । निको हुनेको संख्यामा वृद्धि भइरहेको छ । अहिले चीनमा विभिन्न क्वारेन्टाइन र अस्पतालमा रहेका बिरामीहरु मनोरजनात्मक गतिविधिमा संलग्न भएर मानसिक तनावलाई कम गर्ने कोशिस गरिरहेका छन् । हाल चीनमा १ करोड ३० लाख मानिस क्वारेन्टाइनमा बसिरहेका छन् ।
एजेन्सीको सहयोगमा
तपाईँको अभिमत