कोरोना भाइरसको प्रभावले पर्यटकीय स्थल पोखरा सुनसान
चिनियाँ पर्यटककाे बुकिङ रद्द
पोखरा, २७ माघ । नेपालको प्रमुख पर्यटकीय स्थल पोखरा अहिले सुनसान छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ ।
विगतका वर्षहरुमा यो समयमा चिनियाँ पर्यटकले भरिभराउ हुने लेकसाइड क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सक्रमणका कारण खाली छ । चिनियाँहरुको मुख्य चाड ‘लोहार फेस्टिभल’को मुखैमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आवागमन ठप्प भएको व्यवसायीहरु बताउँछन् ।
पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनका अनुसार यतिबेला चिनियाँ पर्यटकको पूर्ण रुपमा रोकिएको छ । फेस्टिभलको छेको पारेर बिदामा नेपाल आउने पर्यटकको संख्या घटेको छ ।
‘चिनियाँहरु फेस्टिभलको बिदाको मौका छोपेर नेपाल आउने गर्थे, यसवर्ष पनि चाडमा नेपाल आउने पर्यटक बढ्दै थिए भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटकहरुको बुकिङ बढ्दै थियो तर कोरोना भाइरस देखिएपछि अहिले सुनसान छ अध्यक्ष तुलाचनले भन्नुभयो । चिनियाँ पर्यटकका धेरै जसो बुकिङ रद्द भई सकेको उहाँले बताउनुभयो ।
प्रत्येक वर्ष यो सिजनमा लगभग डेढ लाख चिनियाँ पर्यटक नेपाल आउने गर्दथे । यो सिजनमा पोखरामा ३५ देखि ४० प्रतिशत पर्यटक आउँथे, त्यसमा २५ प्रतिशत हिस्सा चिनियाँ पर्यटकको हुने गर्दथ्यो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले कोरोना भाइरसका कारण पोखरामा आत्तिनु पर्ने अवस्था नरहेको बताउनभयो । पर्यटकलाई ढुक्क भएर पोखरा घुम्न आउन उहाँले आग्रह गर्नुभयो ।
तपाईँको अभिमत