मुख कुल्ला गर्ने 'माउथवास'ले ३० सेकेन्डमा कोरोना भाइरस मार्ने
लन्डन । मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने एक अध्ययनले देखाएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा यस्तो देखिएको हो ।
कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने 'आशाजनक सङ्केतहरू' पाइएको बताएका हुन्।
युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड-१९ का बिरामीमाथि गरिएको एउटा उपचारात्मक परीक्षणअघि उक्त विवरण आएको हो।
डा. निक क्लेडन उक्त अध्ययनले मानिसहरूको दैनिकीमा 'माउथवास'लाई एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्ने बताउनुभएको छ ।
उपचारमा प्रयोग हुन सक्ला ?
अध्ययनले र्यालमा रहेका भाइरसलाई माउथवासले मार्न सहयोग गर्न सक्ने देखाए पनि यसलाई कोरोनाभाइरसको उपचारका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुनै पनि सङ्केत पाइएको छैन किनकी यो श्वासप्रश्वासको नली र फोक्सोसम्म पुग्दैन।
डा. क्लेडन भन्नुहुन्छ, "यदि यी सकारात्मक परिणामहरू देखिएका हुन् भने हात धुने, सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कार्यका साथसाथै सीपीसीमा आधारित माउथवासहरू पनि अहिले र भविष्यमा मानिसको दैनिकीका थप महत्त्वपूर्ण हिस्सा बन्न सक्नेछन्।"
विश्वविद्यालयको विवरण अनुसार कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सीपीसी भएका माउथवासहरूले प्रयोगशालामा भाइरससँग संसर्ग हुँदा ती भाइरसलाई नष्ट गरेका हुन्।
उक्त अनुसन्धानपत्रको अन्य वैज्ञानिकले परीक्षण गरी पुष्टि गर्न बाँकी नै छ।
यसले हालैको अर्को अध्ययनलाई थप बल पुर्याउँछ। त्यस अध्ययनले सीपीसीमा आधारित माउथवासहरूले भाइरसको भारलाई कम गर्न सहयोग पुर्याउने देखाएको थियो।
के भन्छन् अध्येता ?
"दाँतमा किरा लाग्ने रोगसँग लड्न बनाइएका माउथवासहरूले कोरोनाभाइरसलाई पनि निष्क्रिय गर्न सक्ने देखाएका छन्", उक्त अध्ययनका प्रमुख लेखक डा. रिचर्ड स्टनटोन भन्नुहुन्छ, "जब यसको प्रयोगशालमा परीक्षण गरियो त्यसबेला एउटा टेस्टट्युबमा नाक र मुखको नक्कली प्वाल बनाइएको थियो। यो अध्ययनको अझै पनि परीक्षण भएको छैन। त्यसको अर्थ अन्य वैज्ञानिकहरूले यसलाई हालसम्म जाँच गरेका छैनन्। प्राज्ञिक अनुसन्धानमा यो सामान्य प्रक्रिया हो।"
कार्डिफको अस्पतालमा हुने एउटा परीक्षणमा माउथवासले कोरोनाभाइरस सङ्क्रमितको र्यालमा भाइरसको सङ्ख्या घटाउँछ कि घटाउँदैन भन्ने हेरिनेछ। त्यसको नतिजा आगामी वर्षको सुरुमा आउने अपेक्षा गरिएको छ।
उक्त विश्वविद्यालयका प्राध्यापक डेभिड थोमस प्रारम्भिक नतिजा उत्साहजनक देखिएको तर यसले बिरामीबीच भाइरस सर्नलाई कसरी रोक्छ भन्ने प्रमाण नदिने बताउनुहुन्छ । उहाँले प्रयोगशालामा माउथवासले प्रभावकारी काम गरेको तर बिरामीमा गर्छ कि गर्दैन भन्ने हेर्न अस्पतालको परीक्षण आरम्भविन्दु हुने बताउनुभयो ।
(बीबीसीबाट)
तपाईँको अभिमत