मेडिकल क्षेत्रमा हुने दास प्रवृत्तिले मानसिक रोगी बढायो (भिडियो)
मेडिकल विषय अध्ययन गरिरहेको विद्यार्थीले आत्महत्या गर्ने, आत्महत्याको प्रयास गरेका घटनाहरू निरन्तर भइरहेका छन् ।
अरूको स्वास्थ्य ठिक बनाउनुपर्ने मेडिकल क्षेत्रका व्यक्तिमा मानसिक समस्या देखिने, आत्महत्याका घटना बढिरहनु दु:खद् कुरा भएको एमबीबीएस अध्ययरत विद्यार्थी पुष्पराज भामको भनाइ छ ।
महाराजगन्ज चिकित्सा क्याम्पसमा एमबीबीएस चौँथौ वर्ष अध्ययनरत भामले हेल्थपाटीसँग कुराकानी गर्दै यसो हुनुमा यस क्षेत्रका बेथितिहरू जिम्मेवार रहेको बताउनुभयो ।
मेडिकल विद्यार्थी तथा आवासीय डाक्टरहरूमा मानसिक समस्या हुनुमा यसमा मेडिकल कलेजले खेल्ने भूमिका जिम्मेवार रहेको उहाँको ठहर छ । मेडिकल विद्यार्थीमाथि गर्ने शोषण, प्राध्यापक, शिक्षक तथा सिनियरले गर्ने थिचोमिचोले गर्दा मानसिक समस्या बढेको उहाँ बताउनुहुन्छ ।
मेडिकल क्षेत्रमा कायम रहेको दास मानसिकता पनि मानसिक रोगी बनाउने अर्काे कारण रहेको भामले बताउनुभयो ।
‘अग्रजको कुरा चाहिँ जस्तो भएपनि मानेरै जानुपर्छ भन्ने भावनालाई हाम्रा अग्रजहरूले आज पनि सिरोपर गरिरहनुभएको छ’, भाम भन्नुहुन्छ।
प्राध्यापकको तहदेखि शिक्षक, आवासीय डाक्टर र विद्यार्थीसम्ममा सिनियर जुनियरको विभेद रहेको भामले बताउनुभयो ।
प्राध्यापकहरूको अगाडि सह–प्राध्यापक खुलेर बोल्न सक्ने अवस्था मेडिकल क्षेत्रमा नभएको भाम बताउनुहुन्छ । आफ्नै अगाडि प्राध्यापकले विद्यार्थीलाई गल्ती पढाउँदा समेत सह–पाध्यापकले यो गल्ती हो भनेर भन्न नसकेका उदाहरण समेत रहेको उहाँले सुनाउनुभयो ।
आवासीय चिकित्सकलाई मेडिकल कलेजका प्राध्यापकहरूले छोराछोरी स्कुल पुर्याउने, खाजा ल्याउन लगाउने जस्ता व्यक्तिगत कामसमेत लगाउने गरेको भामको आरोप छ।
विश्वविद्यालयका पदाधिकारीहरू पनि निजी मेडिकल कलेजका सञ्चालकबाटै निर्देशित भएजस्तो देखिन आरोप भामले लगाउनुभयो ।
परीक्षा समयमा गर, बढी शुल्क नलेऊ, प्राध्यापकहरूले गर्ने थिचोमिचोलाई न्यूनिकरण गर भनेर कुनै विद्यार्थीले आवाज निकाल्यो भने त्यसलाई टार्गेटमा राख्ने गरेको भामको भनाइ छ ।
यस्तो विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गराउने, प्रयोगात्मक परीक्षामा फेल गराउने गरेको उहाँले गुनासो गर्नुभयो ।
मेडिकल पढाइ हुने पाठ्यक्रम नै पनि मानसिक यातना दिने खालको रहेको उहाँले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयमा २०–२५ वर्षदेखि एउटै पाठ्यक्रम कायम राखेको उहाँको गुनासो छ ।
समय सापेक्ष नहुनुपनि मानसिक तनावको अर्काे विषय भएको उहाँको तर्क छ।
भामसँग हेल्थपाटीकर्मी तुलसा घिमिरेले कुराकानी गर्नुभएको छ :
तपाईँको अभिमत