कोरोना विरुद्धको पहिलो खोप डा. राजभण्डारी र बाँस्तोलाले लगाउने
उपत्यकाबाट खोप दिइने ११ अस्पतालहरु

डा.सागर राजभण्डारी र डा. अनुप बाँस्तोला
काठमाडौं । कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट हुने भएको छ । बुधबार (भोली) १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मार्फत उक्त अस्पतालबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र दोस्रो खोप पहिलो कोरोना संक्रमितदेखि अहिलेसम्म कोरोनाका बिरामी हेरिरहनु भएका अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाले लगाउने कार्यक्रम रहेको छ ।
चीनको युहानबाट आउनुभएका जनकपुरका एक युवा शंकास्पद लक्षण लिएर २०२०, जनवरीका १३ दिन टेकु अस्पतालमा भर्ना हुन आउनु भएको थियो ।
डा. बाँस्तोलाको टिमले एक–दुई दिन उहाँलाई पञ्जा, मास्कबिना नै उपचार गर्यो । लक्षण मिलेको र संक्रमण फैलिएको स्थानबाट आएकाले उहाँलाई शंकाको घेरामा राखेर स्वाब संकलन गरी परीक्षणका लागि हङकङ पठाइएको थियो । २३ जनवरी अर्थात् पुस २९ गते आएको रिपोर्ट पोजेटिभ देखिएको डा. बाँस्तोलाले जानकारी दिनुभयो ।
पुस २९ गते नेपालमा कोरोना भित्रिएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ९ गते त्यसको जानकारी गराएको थियो । मन्त्रालयले पहिलो कोरोना संक्रमितबारे जानकारी गराउँदा संक्रमित भने उपचार गरि डिस्चार्ज हुनु भइसकेको थियो ।
सुरुमा कोरोना भित्रदा नेपालमा पीसीआर जाँच्न स्रोत र साधनसमेत थिएन भने अहिले देशभर ८० भन्दाबढी प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । भोलि देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट एकैसाथ खोप अभियान सुरु हुनेछ ।
अभियान सुरु भएको एक हप्ताभित्र सम्पन्न गर्ने योजना सरकारको रहेको छ । काठमाडौं उपत्यकामा भने ११ वटा प्रमुख अस्पतालबाट खोप लगाइनेछ । उपत्यकाबाट खोप दिइने ११ अस्पतालहरु :
१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी बलम्बु अस्पताल
११. शहिद गंगालाल अस्पताल
तपाईँको अभिमत