'म जनताको छोरोले काम गरेको सामन्तका छोराछोरीले मन पराएनन्'

देशमा कोरोना महामारीले उग्ररुप लिइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता बनेर आउनु भएपछि प्राध्यापक डाक्टर जागेश्वर गौतम निकै चर्चामा आउनुभयो । सरकारले वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेपछि डाक्टर जागेश्वरलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटाएर कोभिड युनिफाइड अस्पताल(वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।
सरकार परिवर्तन भएसँगै डाक्टर गौतमलाई वीरको प्रमुख कार्यकारी अधिकृतबाट हटाएर परोपकार प्रसूति अस्पतालमा सरुवा गरिएको गरियो ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता भएर निकै चर्चा र बेलाबेलामा विवादित समेत भइरहेन गौतम केही समययता गुमनाम हुनुहुन्छ ।
आफूलाई गरिएको सरुवाबाट असन्तुष्ट रहुनुभएका उहाँले प्रसूति अस्पतालबाट केही समयका लागि विदा लिनुभएको छ । उहाँ आजकाल चावहिलस्थित ओम अस्पतालमा व्यस्त हुनुहुन्छ ।
उहाँसँग हेल्थपाटीले गरेको कुराकानीका केही अंश प्रस्तुत गरेका छौँ ।
आराम गर्न भन्दै सरकारी कामबाट छुट्टी लिएर डाक्टर जागेश्वर निजी अस्पतालमा व्यस्छ छन् , भनेर आलोचना भइरहेको छ त ?
म काम गर्ने मान्छेलाई कामबिहीन बनाए । विभिन्न तहमा रहेर ३९ वर्ष सरकारी सेवामा काम गरेँ । काम सुरु गरेदेखि लगातार ७ दिन बिदा लिएको थाहा छैन मलाई । अहिले नै हो ।
म नेपालमा स्वास्थ्य र शिक्षा चाँही निजी हुनुहुँदैन । सबै सरकारी हुनुपर्छ भनेर, त्यो सिद्धान्त बोकेर हिड्ने मान्छे हो । सरकारी अस्पताललाई नै राम्रो बनाउनु पर्छ भनेर लागेको मान्छे पनि हो ।
अरु काठमाडौंमै बसेर काम गर्न चाहन्थे । म आफैँले मागेर बाहिर बसेर १६–१७ वर्ष काम गरेँ । डाक्टरहरु यसरी काठमाडौं बाहिर कमै बस्छन् । त्यहाँ बसेर मैले धेरै सेवा दिएँ।
दुखका साथ भन्नुपर्छ आज पनि मान्छेहरुलाई निजी अस्पतालमा जानुपर्नै बाध्यता छ । छिटो भन्दा छिटो यो कुरा हटाउनुपर्छ भन्नेमा म दृढ छु । यो व्यवस्था सरकारले गर्नुपर्छ । तर सरकारले त्यो व्यवस्था नगर्दासम्म त निजीले पनि सेवा त दिइरहेका छन् नी । पैसा लिएर भएपनि सेवा दिएका छन् ।
त्यही भएर म निजीमा पनि काम गरिरहेका छु ।
अर्काे कुरा नेपाल सरकारको तलबले मेरो घर चल्दैन । सरकारबाट तलबबाहेक अन्य कुनै व्यवस्था छैन । मैले पहिले पनि निजीमा काम गर्दै आएको हो । अहिले पनि गर्छु । मैले कामचोरेर छलेर ढाँटेर काम गरेको होइन । निजीमा काम गर्दा म १० बजेअघि र ४ बजेपछि मात्रै गर्छु।
अवकास भएपछि हामीले निजीमै काम गर्नुपर्छ । अवकास पाउन १ वर्ष बाँकी छ, अब बाँकी ८–१० वर्ष जति सक्छु निजीमै गर्छु ।
वीरको नेतृत्वमा गएपछि तपाई विवादित हुनुभयो, खास विवाद के हो ?
काेभिड युनिफाइड अस्पताल(वीर अस्पताल) को कार्यकारी प्रमुख भएर जेठ ११ गतेबाट साउन १९ गतेसम्म काम गरेँ । मैले मन नपराउनहरुले विवाद झिक्न खोजेका हुन् । मैले गरेको नराम्रो काम के हो त्यो देखाउनु पर्यो नी ।
एउटा कुरा कोभिड युनिफाइड अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) भन्दा बाहिरबाट चलाइयो यो मिल्दैन भनियो । त्यो मैले गरेको व्यवस्था होर सरकारले नै अध्यादेश ल्याएर त्यो व्यवस्था गर्यो ।
डाक्टर जागेश्वरले ल्याएको होर अध्यादेश ? त्यो त नेपाल सरकारले ल्याएको हो नी । कानुन जे बन्छ हामीले त्यही अनुसार रहेर काम गर्ने हो।
त्यो कुरा ठिक नभए अहिले अध्यादेश हटाए भयो नि ।
जहिले पनि सामान्तका छोरा, छोरीहरुले जनताका छोराछोरीले काम गरेको मन पराउँदैनन् । त्यो सबै पूर्वाग्रह हो ।
कांग्रेस निकट कर्मचारी, पत्रकारहरुले वामपन्थी निकट व्यक्तिले काम गरेका देखिसहँदैनन् । त्यसैले मेराविरुद्ध स्वाल हुँय्याँ मच्चाएका थिए ।
मिडियाले लेख्न, बोल्न पाउनुपर्छ भनेर हामीले लडेको हो । मिडियाले लेख्यो भनेर म केही भन्दिन तर । सहीलाई सही र गलतलाई गलत चाँही भन्नुपर्छ ।
अहिलेसम्म त्यहाँ तपाई भएको भए के-के गर्नु हुन्थ्यो ?
अहिलेसम्म म कोभिड युनिफाइड अस्पतालो प्रमुख भइरहेको भए देखिने गरी धेरै काम भइसक्थे । अहिले कोभिड–१९ का बिरामी जसरी निजीमा जानु परिरहेको छ । त्यो नपर्ने बनाइसक्थेँ । त्यसका लागि काम थालिसकेको थिएँ ।
त्यहाँ व्यवस्थापन मिलाएर कोभिडको उपचार गर्न निजी अस्पताल जानुपर्दैन, हामी निशुल्क गर्छौँ भनेर सार्वजनिक रुपमा आह्वान गर्थेँ ।
प्रदेशस्तरमा कोभिड युनिफाइड अस्पताल सुरु गर्न लागिएको थियो । त्यसको राम्रो व्यवस्थापन गर्थेँ । वीरमा मिर्गौला प्रत्यारोपण उहिले पुनः सुरु भइसकेको हुन्थ्यो । त्यहाँ काम गर्ने ठाउँ नै नदिएर पुकारचन्द्र श्रेष्ठ उता(प्रत्यारोपण केन्द्र) जानुभयो ।
उहाँलाई मैले कन्भिन्स गरिसकेको थिएँ । छिट्टै अब यहाँ मिर्गौला प्रत्यारोपण सुरु हुन्छ भनेर । म त्यहीँ भइरहेको भए सायद उहाँ उता जानुहुन्थ्यो ।
डाक्टरहरु समयमा नहाउने छिटो जाने जस्ता धेरै अव्यवस्था त्यहाँ थिए । गाडी लिएर आउने स्टार्ट बन्दै नै नगरी हतार हतार गएर हाजिर गर्ने अनि त्यसैमा चढेर जाने अनि दिनभर निजीमा काम गर्ने । यस्ता काम चोरहरु धेरै थिए त्यहाँ ।
त्यहाँका १० जना डाक्टरहरुले दिउँसो १२ देखि २ बजेसम्म निजीमा काम गरेको रेकर्ड नै गरेको थिएँ । त्यसको भिडियो नै छ १० जनाको । १५ जना बनाएर बाहिर निकाल्ने योजना थियो । त्यो गर्न नपाउँदै मलाई हटाइयो ।
त्यहाँको आम्दानीलाई बढाउने, चुहावटलाई रोक्ने यी सबै योजना थियो । ६७, ६८ दिन काम गर्दा आइसियू भेन्टिलेटर चलाउनका लागि सामानहरु जोरजाम गर्दैमा समय गयो । त्यो अवधिमा अक्सिजन प्लान्ट हालियो, अक्सिजन ट्यांक जोडियो ।
त्यहाँ २०० बेड आइसियू बनिसकेको छ । डाक्टर नर्सहरु व्यवस्थापन भइसकेको थियो । सिनियर डाक्टरहरुको ड्यूटी मिलाउन मात्रै बाँकी थियो ।
अब अहिलेको नेतृत्व ती काम गर्न सक्ने अवस्थामा हुनुहुन्न । अरु भन्दा पनि उहाँ धेरै जुनियर हुुनुहुन्छ । मेडिकल फिल्डमा सिनियरले जुनियरलाई टेर्दैटेर्दैन । एक वर्ष सिनियर भए पनि उसले जुनियरलाई टेर्दैन । अनि त्यहाँका १०–१२ वर्ष सिनियर डाक्टरहरुलाई काम लगाउने, उहाँहरुले टर्ने भन्ने कुरा निकै गाह्रो छ ।
लेखेर राख्नुहोस् वीर अस्पताल अगाडि बढ्दैन । अहिले जस्तो छ । त्यस्तै कामचलाउ मात्रै हो । कुनै अलि निस्वार्थ कमाण्डिङ गर्ने व्यक्ति आए केही होला तर अहिलेको व्यवस्थापनबाट त्यो सम्भव छैन ।
देखाउनका लागि सानातिनाम कुरा बदल्न सकिन्छ । जस्तोः एकातिर राखेको कुरा अर्कातिर फर्काएर राख्न सकिन्छ । २४ घण्टा पीसीआर गर्ने बनाउनु भएको छ । त्यस्तो सामान्य कुरा परिपर्तन गर्न सकिन्छ ।
जुन तलको कर्मचारीले गरेर हुने काम छ, त्यसमा सुधार ल्याउन सकिन्छ तर सिनियरहरुले गर्नुपर्ने काम उनीहरुलाई लगाउन गाह्रो छ ।
त्यहाँ सिनियरहरुले गर्ने काम के छ त ?
त्यहाँको एउटा विभागलाई हरेक दिन कम्तिमा एउटा अपरेसन गर्ने बनाउनु पर्यो । बार अनुसार मात्रै केही ओपीडी सेवाहरु सञ्चालन गरिएका छन् । ती सेवा हरेक दिन सञ्चालन हुनुपर्यो। बिरामीले छिटो छरितो सेवा पाउँछन् नी त्यो भएपछि ।
अप्रेसन भए नभएको मोनिटरिङ पनि गरिरहनु पर्छ । मैले के व्यवस्था गर्न लागेको थिएँ भने। अप्रेसनको मिति तोक्दा डाक्टरले नतोक्ने । कतिवटा अप्रेसन गर्ने जानकारी डाक्टरले दिने र त्यसको मिति तोक्ने काम प्रशासनले तोक्ने ।
नत्र भने डाक्टरहरुले के गर्ने गर्छन् भने अप्रेसन गर्नेको लाइनमा डमी नाम राख्ने अनि यहाँ पालो छैन भनेर निजी अस्पतालमा लगेर अप्रेसन गर्ने । सबै त होइन त्यहाँ राम्रो काम गर्ने पनि हुनुहुन्छ । तर त्यो गर्नेहरुलाई चाँहि निरुत्साहित गर्ने तयारी थियो ।
अहिले गएर हेर्न सकिन्छ–म हुँदा साढे ९ बजे आउने डाक्टर अहिले कति बजे आउँछन् ? म हुँदा साढे ४ बजेसम्म बस्ने डाक्टर अहिले कति बजे निस्कछन् ?
नयाँ विल्डिङको भुइँतलामा पार्किङ छ । दुई तला पार्किङ छ । म हुँदा त्यो पार्किङमा गाडी फुल हुन्थ्यो । अहिले गएर हेर्नुहोस् । त्यहाँ मुस्किलले १०–१५ वटा गाडी भेटिएला । आउने हाजिर गर्ने फर्किइहाल्ने अनि कसरी काम हुन्छ ?
म हुँदा भत्ता पाइएन, २४ घण्टाभिज्ञ चाहियो भनेर घेराउ गर्न आएका थिए । अहिले पनि भत्ता पाएका छैनन् । अहिले त चुप छन् त ?
जागेश्वरले काममा दलाउँथ्यो। ठगेर खान पाइँदैनथ्यो । त्यो भएर उनीहरु मसँग रुष्ट थिए । अहिले त आफूखुसी आउँछन्, जान्छन् ।
मैले सुनिरहेको छु अझ एक जना त अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै हुनुहुन्छ रे । म भएको भए त कहाँ त्यसो गर्न पाउथे र ?
मैले त्यहाँ ६२ दिन जति काम गरेँ अबको व्यवस्थापनले ६२ हप्तामा पनि त्यो काम गर्दैनन् ।
चोरेर खाने, ठगेर खाने बदमासी गर्ने मान्छेहरुलाई डाक्टर जागेश्वर अप्ठ्यारो मान्छे भयो । त्यस्ता मान्छेको संख्या धेरै छ । मैले सुधार गर्न खोजेको थिएँ पचेन ।
अब प्रसूति गृहमा कहिलेबाट ड्युटी जानुहुन्छ ?
६ वर्ष म प्रसूतिगृहको निर्देशक भएर काम गरेको मान्छे हो । स्वास्थ्य मन्त्रालयमा जति पनि ठाउँ थिए मलाई राख्न मिल्ने । तर पूर्वाग्रही भएर, यसलाई पेलेरै ठिक पार्नुपर्छ । यसलाई दुखै दिनुपर्छ भनेर त्यहाँ पठाएको हो ।
म दुःखी छैन । हातमा सीप भएको मान्छे हो । खुरुखुरु बिरामी हेरेर अप्रेसन गर्छु मलाई के दुःख छ ।
त्यहाँको निर्देशकसँग मेरो कुनै नराम्रो छैन । मैले नि उहाँलाई सघाइरहेको छु । उहाँले नी सघाइरहनु भएको छ । तर मलाई त्यहाँ काम गर्न असहज लागिरहेको छ ।
अब मन्त्रालयमा पनि नयाँ नेतृत्व आएको छ । केही विचार गरे भने हेरौँ नत्र म मेरो बाटो लाग्छु ।
तपाईँको अभिमत