दुई हजार वर्षसम्म खाना ताजै राख्ने यस्तो छ तरिका !

कोरोना महामारीले दोस्रो विश्वयुद्धपछि सबभन्दा बढी खराब अवस्था सिर्जना गरेको बताइन्छ । महामारीका कारण विश्वभरका धेरै मुलुकहरूले कडा बन्दाबन्दी (लकडाउन) गरे । जसकारण खानेकुराको आपूर्तिमा पनि निकै असहजता भयो ।
बजार बन्द भएपछि कतिपय सहरी क्षेत्रमा ‘फुड सप्लायर्स’हरूले प्याकिङ गरेर खानेकुराको आपूर्ति गरे । घरभित्र बन्द अवस्थामा रहेका मानिसको एकमात्र खानेकुरा उपलब्ध गर्ने उपाय यही थियो । यसरी डिब्बा वा प्याक गरिएका खानेकुराको अभाव भए अर्को उपाय के त ?
विज्ञहरूका अनुसार खानेकुरालाई वर्षौँसम्म कुनै पोषक तत्व खराब नगरीकन राख्न सकिन्छ । उनीहरूका अनुसार खानेकुरामा कीटाणु प्रवेश गर्नाले बिग्रन्छ । यदि खानेकुरामा कीटाणु प्रवेश गर्न नै नदिने हो भने यसलाई वर्षौँपछि पनि प्रयोग गर्न सकिन्छ ।
कसरी सुरक्षित राख्न सकिन्छ त ?
मानिसले खानेकुरालाई लामो समयसम्म खराब नगरी बचाएर राख्न धेरै किसिमका तरिकाहरू अपनाउँदै आएका छन् । जस्तो कि; सुख्खा गरेर, नुन राखेर, चिनी राखेर आदि । त्यस्तै केमिकल प्रयोग गरेर पनि खानेकुरालाई लामो समयसम्म प्रयोग गर्ने गरेको पाइन्छ । साथै हावा नछिर्ने टाइट डिब्बामा राखेर पनि खानेकुरा लामो समयसम्म प्रयोग गर्ने गरिएको छ ।
युनिभर्सिटी कलेज लन्डनका खाना विशेषज्ञ माइकल सुलु सुख्खा गरेर खानेकुरालाई लामो समयसम्म राख्ने उपाय सबभन्दा उत्तम हुने बताउनुहुन्छ । सुख्खा गरेर राखिएको खानेकुरामा जीवाणु पैदा हुने कुनै अवस्था सिर्जना हुँदैन ।
डिब्बामा राखिएको खानेकुरामा यस्ता कतिपय जीवाणु उत्पादन भई बाँच्न सक्छन् । ती जीवाणु थोरै मात्र हावा छिर्दा पनि बाँच्न सक्छन् ।
खानेकुरा, विशेषगरी मासुमा नुन राखेर पनि लामो समयसम्म संरक्षित गरेर राख्न सकिन्छ । तर यसरी नुन राखिएको खानेकुरा धेरै पटकसम्म प्रयोग गर्न मिल्दैन । तर मासु सुकाउने र नुनसमेत राखेर धेरै लामो समयसम्म सुरक्षित गर्न सकिन्छ ।
चिनीको बाक्लो तह लगाएर पनि खानेकुरालाई लामो समयसम्म राख्न सकिन्छ । चिनीले कतिपय जीवाणुलाई प्रवेश गर्न दिँदैन । तर चिनीकासाथ मेवा, दूध, अण्डालगायतका अन्य चिज मिसाउँदा खानेकुराको आयु भने घट्दछ ।
अझै हजारौँ वर्ष पुराना तरिका
आइसल्यान्डमा एक कम्पनीले बर्गर लामो समयसम्म सुरक्षित राखेको थियो । यो नै दुनियाको पहिलो लामो समयसम्म खानेकुरा खराब हुन नदिई राखिएको उदाहरण हो । उक्त बर्गर सिसाको भाँडामा हावा नछिर्ने गरी राखिएको थियो । त्यसपछि त्यसमा जीवाणुलाई प्रवेश गर्न नदिने एक किसिमको केमिकल राखिएको थियो । त्यस्ता बर्गर सुपरमार्केटमा लामो समयसम्म राखिन्थ्यो । अहिले पनि यस्ता खानेकुरा सुपरमार्केटमा राखिन्छ । जसमा खानेकुरालाई सड्न नदिने केमिकल प्रयोग गरिन्छ ।
सबभन्दा लामो समयसम्म राख्न सकिने एकमात्र खानेकुरा मह हो । यो वार्षौँसम्म राख्दा पनि बिग्रदैन । दुनियामा सबभन्दा बढी लामो समयसम्म रहेको मह मिस्रमा तूतेनखामनको घरमा पाइएको थियो । उक्त मह ३ हजार वर्ष पुरानो भएको मानिएको छ । महमा पानीको तत्व अत्यन्तै न्यून हुने भएकाले यो वर्षौँसम्म बिग्रदैँन । त्यसैले वर्षौँ पहिलेदेखि पानीको मात्र न्यून गरेर खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्ने गरिएको छ । धेरै बोसो हुने चिजहरू तेल, मक्खन, घीउ लगायतका खानेकुरालाई पनि लामो समयसम्म राख्न सकिन्छ ।
खानेकुरालाई जमिनमा पुरेर वा बरफमा राखेर पनि लामो समयसम्म खानेकुरालाई प्रयोग गर्न सकिन्छ । तर बरफमा अधिक लामो समयसम्म खानेकुरा उस्तै रहन सक्दैन । बरफमा धेरै लामो समयसम्म राखिएको मासु वा माछाको स्वाद हराएर जान्छ । बरफमा भन्दा धेरै लामो समयसम्म माटोमुनि पुरेर राखिएको खानेकुरा खान सकिन्छ ।
आयरल्यान्ड र स्कटल्यान्डमा धेरै वर्ष पुरानो मक्खन पाइएको थियो । सो मक्खन ४ हजार वर्ष पुरानो भाँडोभित्र जमिनमा पुरिएको अवस्थामा पाइएको थियो ।
यदि भविष्यमा पनि कोरोना महामारीझैँ अन्य महामारी वा समस्या आएर ताजा खानेकुराको आपूर्ति बन्द भएमा प्याकिङ वा डब्बामा राखिएका खानेकुराको भर पर्नुपर्ने हुन्छ । ती खानेकुरा लामो समयदेखि राखिएका हुनेछन् ।
तपाईँको अभिमत