डा.निशाको मातृत्व अनुभव : गर्भमा पहिलो पटक बच्चा चल्दा एक्कासी खित्का छुट्यो (भिडियो)
डा.निशा अधिकारी थापा स्त्री, प्रसूति एवं प्रजननरोग विशेषज्ञ हुनुहुन्छ। गर्भवतीदेखि अन्य बिरामी महिलाको उपचार गर्नु उहाँको दिनचर्या हो । विगत १३ वर्षदेखि यस पेशामा रहनुभएकी थापाले हजारौँको उपचार गरिसक्नुभएको छ। आजकाल उहाँको धेरै समय सन्तान नभएका दम्पतीको उपचारमा बित्ने गरेको छ।
पछिल्लो समय विभिन्न कारणले महिला पुरुषमा सन्तान नहुने समस्या बढिरहेको छ । सन्तान नभएर परिवार, समाजमा एक महिलाले कतिसम्म तनाव भोग्नुपरिहेको छ, त्यसको एक साक्षी डा.निशा हुनुहुन्छ। बच्चा नभएका कारण परिवार समाजको विभेदपूर्ण व्यवहारबाट निकै पीडित भएको भनेर आफूलाई भेट्न आउने महिलाहरूले गुनासो गर्ने गरेको डा.निशा सुनाउनुहुन्छ ।
‘सन्तान नभइरहेका हरेक महिलाको कहानीभित्र कहानी हुन्छ, उहाँहरूको पीडाले मलाई रुवाउँछ' डा.निशा भन्नुहुन्छ, 'कतिपय महिलालाई त सन्तान नभएकै कारण परिवारका सदस्यले पिट्ने पनि रहेछन् ।’ 'आजभोलि उहाँ गर्भवतीको उपचार गर्दा भावुक बन्नुहुन्छ ।
सन्तान भएन भनेर रुँदै भेट्न आउने दम्पतीको पीडाले मर्माहत बनाउँछ भने सन्तान सुखपछि उनीहरूमा छाएको हर्षले निशालाई आनन्दित बनाउँछ।
९ महिनासम्म आफ्नो निगरानीमा रहेका गर्भवती महिलाहरूको पेटबाट बच्चा निकाल्दा प्रत्येक पटक उहाँले आफ्नो प्रसव पीडा सम्झनुहुन्छ। प्रसव पीडा बाँड्न सकिँदैन तर ढाडस दिएर कम गर्न भने सकिने डा.निशा बताउनुहुन्छ ।
गर्भवती नहुञ्जेल बिरामीका लागि निशा एक महिला डाक्टर मात्रै हुनुन्थ्यो । जब डा. निशा गर्भवती हुनुभयो । उहाँको परिचय डाक्टर मात्रै नभई गर्भवती पनि हुन पुग्यो ।
गर्भवती नहुञ्जेल बिरामीका लागि निशा एक महिला डाक्टर मात्रै हुनुहुन्थ्यो। जब आफैँ गर्भवती हुनुभयो अनि उहाँको परिचय डाक्टर मात्रै नभई गर्भवती पनि हुनपुग्यो ।
२०६९ साल श्रावणमा उहाँको गर्भ रहेको थियो । उहाँले पनि गर्भावस्थामा पार गर्नुपर्ने विभिन्न चरणहरू पार गर्दै जानुभयो । सुरुमा त उहाँ निकै डराउनुभएको थियो । पढाइ, करियर, काम के होला भन्ने डर थियो ।
गर्भ रहेको ५ महिनामा उहाँले पहिलो पटक गर्भमा बच्चा चलेको अनुभव भयो । त्यतिबेला उहाँ नोबेल मेडिकल कलेजमा मेडिकल अफिसरका रुपमा कार्यरत हुनुहुन्थ्यो । पुस महिनाको एक दिन कलेजमा कन्फरेन्स चल्दै थियो ।
त्यहाँ एमबीबीएस विद्यार्थी, प्रोफेसर, डाक्टरको उपस्थिति थियो । छलफल चलिरहेको थियो । निशाको पेटमा बच्चा चल्यो, काउकुती लागेझैं भयो । पेटभित्रै हावा दौडिएको जस्तो भयो । 'त्यो बेला एक्कासी खित्का छुट्यो, किन हाँसेको भनेर गालीसमेत खाएको थिएँ' निशा त्यो बेलाको अनुभव स्मरण गर्दै सुनाउनुहुन्छ।
गर्भवती हुनुअगाडि थुप्रै गर्भवती महिलाको परीक्षण गर्नुभएकी डा.निशा आफैं गर्भवती भएपछि गर्भावस्थामा हुने जोखिम, दुखाइ, भोगाइ, शारीरिक बनावटको भागीदार हुनुभयो । गर्भावस्था अगाडि आफूले गर्भवतीको जाँचमा उनीहरूको स्वास्थ्यबारे सम्पूर्ण जानकारी लिने र दिने गर्नुभएकी डा.निशा स्वंम डाक्टरसँगै अन्य गर्भवती महिला जस्तै हुनुभयो ।
अन्य गर्भवतीको समस्या र भोगाइ आफ्नै जस्तो लाग्न थाल्यो । पहिला पढेर, सिकेर आफ्नो ज्ञान, सीप, क्षमताले गर्भवती बिरामीलाई काउन्सलिङ र उपचार गर्दै आउनुभएकी निशामा अनुभव पनि थपियो जसले उहाँलाई गर्भवतीसँग अझ धेरै आत्मीय बनाउन मद्दत गर्यो।
गर्भवतीले बच्चा चलेको, गार्हो भएको सुनाउँदा हिस्ट्री लेख्ने डाक्टर निशाले आफैं गर्भवती भएपछि बिरामीले उहाँलाई सुनाउने गरेका विभिन्न समस्या र भोगाइ स्वयम्ले व्यवहारमै अनुभव गर्नुभयो । सो अनुभवले आजका दिनहरूमा गर्भवतीहरूको उपचार गर्दैगर्दा उनीहरूमाझ थप आत्मीयताको बोध गराउँछ ।
डा.निशा अधिकारीको मातृत्व अनुभवबारे गरिएको संक्षेप कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।
तपाईँको अभिमत