चिसो मौसममा बढ्ने दम रोग के हो ? कसरी बच्ने ? (भिडियो)

अहिले जाडो बढ्दो क्रममा छ । जाडो महिनामा श्वास–प्रश्वास सम्बन्धि बिरामी धेरै आउने गरेको त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा.सन्तकुमार दासले जानकारी दिनुभयो।
विशेषगरी श्वास–प्रश्वासका दीर्घरोगको समस्या भएका बिरामीमा जटिलता बढ्ने डा.दासले बताउनुभयो ।
हेल्थपाटीसँगको कुराकानीमा उहाँले दीर्घरोगी दम खोकी, ब्रोक्नेलाज्मा, ब्रोङ्काइटिस दीर्घ फोक्सोको समस्या भएको मान्छेलाई चिसामो समस्या बढ्ने सम्भावना जानकारी दिनुभयो ।
यस्ता दीर्घरोगीलाई समस्या बढेर अस्पताल भर्ना नै गर्नुपर्ने अवस्था समेत आउने डा.दासको भनाइ छ ।
डा. दासका अनुसार चिसो आफैँ जटिलता होइन । चिसोको समयमा भाइरस, ब्याक्टेरियाको गतिविधि बढी हुन्छ । चिसोबाट जोगिने उपाय नगरे स्वास्थ्यमा समस्या हुन्छ । चिसोले असर गर्ने खालका दीर्घरोगीले चिसो बेलामा नियमित रुपमा चिकित्सककोमा गएर जाँच गराइरहनु पर्ने सुझाव डा.दासको छ।
बिरामीलाई औषधि सेवन गराएर स्थीर अवस्थामा बिरामी राख्ने र चिसोबाट बच्ने उपायहरु अपनाएमा त्यस्ता खालका बिरामीमा जटिलता आउँदैन।
यस कारण पनि त्यस्ता दीर्घरोगीले सावधानी अपनाउनु पर्ने उहाँ बताउनुुहुन्छ
‘घरबाट निस्किँदा, टाउको, नाक, गर्दन, मुख छोपेर हिड्नुपर्छ’ डा.दास भन्नुहुन्छ, ‘जसले गर्दाचिसो हावा सिधै फोक्सोमा जानबाट रोकियोस।’
हामीले लगाउने मास्क पनि श्वास–प्रश्वासचिसोबाट बचाउन पनि निकै उपयोगी हुने उहाँको भनाइ छ ।
त्योसँग सँगै खानपिनमा पनि ध्यानदिन उहाँको सुझाव छ । ‘तातो र झोलिलो खानुकुरा बढी खानुपर्ने हुन्छ । त्यो सँगसँगै प्रशस्त मात्रामा आराम गर्नुपर्छ’ डा. दासको सुझाउनु हुन्छ, ‘यी कुरामा ध्यान दिनुभयो भने चिसोको समयमा पनि खराब अवस्था हुनबाट जोगिन सकिन्छ।’
श्वास–प्रश्वास सम्बन्धि दीर्घरोगीले चिसोको समयमा घरबाहिर गएर व्यायाम नगर्न उहाँको सुझाव छ ।
‘श्वास–प्रश्वासको बिरामीलाई घरबाहिर गएर व्यायम गर्न हामी सल्लाह दिँदैनौँ ’ डा. दास भन्नुहुन्छ, ‘चिसो मात्रै नभएर चिसो मौसममा वायुप्रदूषण पनि बढी भइरहेको हुन्छ । विशेष गरी काठमाडौं जस्ता शहरमा वायुप्रदूषण धेरै हुन्छ।’
वायु प्रदूषणले मुख्य असर गर्ने अंग भनेकै फोक्सो रहेको उहाँ सुनाउनुहुन्छ । साथै यसले राइनाइटिस, नाकमा एजर्लीको समस्या, हाछयूँ आउने समस्या पनि हुने डा.दास बताउनुहुन्छ ।
उहाँका अनुुसार प्रदूषणले फोक्सोको समस्याबाहेक छालाको समस्या, आँखाको समस्या हुन्छ। आँखा चिलाउने, रातो हुने जस्ता समस्या हुन्छ । तर यी भन्दा फोक्सोको समस्या अलि जटिल खालको हुन्छ ।
दम दुई प्रकारका हुने डा.दासले जानकारी दिनुभयो ।
दम बारे डा. दास भन्नुहुन्छ–हामीले दम भन्दाखेरी सामान्यतया २ वटा बिरामी बुझिन्छ । वृद्धवृद्धा धेरैजसो ४० बढी उमेरका भएका, प्रायजसो चुरोट खाने मान्छे र धेरै धूवाँमा रहने मान्छेमा दम देखिन्छ । यसलाई हामी दीर्घ दमखोकी भन्छौँ ।
अर्को दम भनेको ब्रोङकेल आज्मा हो, जसलाई हामी आज्मा भन्छौँ । त्यो चाहिँ धेरैजसो बच्चाहरुमा हुने हुन्छ ।
कम उमेरका मानिसलाई प्रदूषण र चिसोले गर्दा दमको समस्या देखिन्छ । उनीहरुलाई चाहिँ अस्पताल नै भर्ना गर्नुपर्ने समस्या कम हुन्छ ।
दीर्घ दम लागेपछि पूरा निको नहुने डा. दासले जानकारी दिनुभयो । तर त्यसलाई थप जटिलटा हुनेबाट रोक्ने र बिरामीलाई सहज बनाउने उपाउ भने रहेको उहाँ बताउनुहुन्छ ।
‘पूर्ण उपचार हुँदैन । यसलाई रोकथाम गर्ने र बिरामीलाई सहज बनाउने उपचार चाहिँ हुन्छ । श्वास नलीलाई फूलाउने औषधि हुन्छ । जसले गर्दा श्वास फेर्न सजिलो होस् । बेला–बेलामा संक्रमण नहोस् भनेर केही खोपहरु हामीले दिन्छौँ ।’ डा.दासले सुनाउनुयभो।
कम उमेरमा हुने दम एजर्लीले गर्दा हुने र यसको उपचार औषधि दिएर गरिने डा.दासले जानकारी दिनुभयो ।
(त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा.सन्तकुमार दाससँग गरिएको कुराकानी भिडयोमा पनि हेर्नसक्नुहुन्छ)
तपाईँको अभिमत