तत्कालै एमबीबीएस पढाइ सुरु गर्ने न्याम्सको तयारी, सम्भव छ ?

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले एमबीबीएस पढाउनका लागि तयारी थालेको छ । आगामी शैक्षिक सत्रदेखि नै एमबीबीएस पढाउने तयारीमा जुटेको न्याम्सका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले दावी गर्नुभएको छ।
त्यसका लागि गृहकार्य भइरहेको हेल्थपाटीसँगको कुराकानीमा प्रा.डा.बस्नेतले बताउनुभयो ।
‘अहिले नेपाल सरकारको ३०० बेड भन्दामाथिका अस्पतालले एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने भन्ने जुन आएको छ त्यो अनुसार न्याम्सले पनि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ’ धेरै कुराको गृहकार्य भइसकेको छ ।’
एमबीबीएस कार्यक्रम सञ्चालन गर्न बेसिक साइन्स(एमबीबीएसमा सुरुका २ वर्ष हुने पढाइ) का लागि भवन मात्रै आवश्यक रहेको बस्नेतको भनाइ छ ।
यो पनि पढ्नुहोस् : विस्तारित 'वीर अस्पताल'को कथा : जग्गा दलालले फाइदा लिए अरूलाई के ? (भिडियो)
वीर अस्पताल बिस्तारका लागि भनेर लिइएको भक्तपुर दुवाकोटको जग्गामा बेसिक साइन्स भवन बनाउने योजना रहेको बस्नेतले सुनाउनुभयो।
५–६ महिनामा प्रिफ्याबको भवन बनाइने र आगामी शैक्षिक शस्त्रदेखि नै एमबीबीएस पढाउन सुरु गर्ने बस्नेतको दावी छ । यो योजना उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसमक्ष पेश गरिएको बस्नेतले जानकारी दिनुभयो ।
आगामी नीति तथा कार्यक्रम र बजेटमा यो योजना समेटिन्छ भन्ने विश्वासमा रहेको बस्नेतले बताउनुभयो।
तत्काल ५०–६० करोड बजेट सरकारले व्यवस्था गरिदिए एमबीबीएस कार्यक्रम सञ्चालनका लागि बेसिक साइन्स भवन बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार सुरुमा एमबीबीएस कार्यक्रम ५० सिटबाट सुरु गर्ने गरी तयारी भइरहेको छ ।
उपकूलपति डा.बस्नेतले आगामी शैक्षिक शस्त्रबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने भनेपनि त्यो सम्भवना भने खासै देखिँदैन । चिकित्सा शिक्षा आयोगले दिएको जानकारी अनुसार आगामी शैक्षिक शस्त्रका लागि स्नातक तहको प्रवेश परी असोजको पहिलो सातातिर हुन्छ ।
कक्षा १२ को नतिजा आउनेवित्तिकै प्रवेश परीक्षाका आयोगले आवेदन खोल्नेछ । कुनै कारणले ढिलाइ भएमा पनि दशैंलगतै परीक्षा हुने आयोगका सदस्य सचिव कृष्ण प्रसाद काप्रीले जानकारी दिनुभयो।
न्याम्सले तत्काल एमबीबीएस कार्यक्रम सञ्चालन गर्नका लागि भन्दै चिकित्सा शिक्षा आयोगमा त्यस्तो कुनै प्रस्ताव समेत नआएको काप्रीले बताउनुभयो ।
आयोगको तालिकाअनुसार मंसिरतिरबाट चिकित्सा शिक्षा स्नातक तहको आगामी शैक्षिक शस्त्र सुरु हुन्छ । त्यो बेलासम्म भवन बनाइसकेर न्याम्सले एमबीबीएस कार्यक्रम सुरु गर्न लगभग असम्भव देखिन्छ ।
तत्काल बजेट उपलब्ध भएमा ४–५ महिनामै प्रिफ्याबका भवन बनाउन सकिने भएकाले सम्भव हुने दावी उपकूलपति बस्नेतको छ ।
तपाईँको अभिमत