मोटरसाइकल दुर्घटना हुँदा प्रहरी चौकी इन्चार्जको मृ'त्यु, हवलदार गम्भीर घाइते

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेसीमा आज दिउँसो प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
जिप्रका सिन्धुलीका अनुसार दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक(असई) रवीन्द्र कुमार ठाकुरको मृत्यु भएको हो। घनुषा जिल्ला कमला नगरपालिका–९ घर भएका ठाकुर प्रहरी चौकी रत्नावतीमा कार्यरत थिए । उनी उक्त प्रहरी चौकीको इन्चार्ज समेत रहेका थिए ।
उक्त मोटरसाइकलमा सवार यसै प्रहरी चौकीमा कार्यरत सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। श्रेष्ठको स्थायी घर तनहुँको भिमाद नगरपालिका–७ रहेको छ ।
गम्भीर घाइते रहेका उनलाई सुरुमा स्थानीय अस्पतालमा उपचारपछि हेलिकप्टरबाट नेपाल प्रहरी अस्पताल महाराजगन्ज ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेका अनुसार ठाकुर र श्रेष्ठ सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कँदै थिए। असई ठाकुरले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
गम्भीर घाइते भएका ठाकुरलाई बीपी राजमार्गस्थित सिन्धुलीको खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
तपाईँको अभिमत