उपचारका लागि सिफारिस माग्दा वडाअध्यक्षले निकाले चुनावको रिस

नवनिर्वाचित एक जनप्रतिनिधिले आफूलाई भोट नदिएको भन्दै सेवाग्राहीलाई सिफारिस दिन इन्कार गरेका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका–१ वडा अध्यक्ष हिक्मत बहादुर कुँवरले चुनावमा भोट नदिएको झोंकमा सिफारिस नदिने अडान लिएका हुन् ।
उक्त वडाकै ताप्ले निवासी रून्द्रनाथ भट्टका छोरा रमण भट्टले वडा अध्यक्ष कुँवरसँग सिफारिस माग्नुभएको थियो । रमणले आफ्ना बुबा रून्द्रनाथको उपचारका लागि पाइने छुट लिने प्रयोजनका लागि सिफारिस माग्नुभएको थियो । गोरखाको स्थानीय अनलाइन गोरखा सन्देशमा प्रकाशित खबर अनुसार क्यासरबाट पीडित ६१ वर्षीय रून्द्रनाथको ललितपुरस्थित नेपाल क्यान्सर अस्तपालमा उपचार भइरहेको छ।
सरकारबाट पाइने १ लाख बराबरको औषधि उपचारमा छुटका लागि वडामा सिफारिस मागिएको थियो ।
अस्पतालमा तत्काल चाहिएकाले अनलाइनबाट सबै डकुमेन्ट पठाउँदा पनि यहाँ आए वा कोही मान्छे पठाए मात्रै दिने भनेर कुँवरले भनेको रमणको भनाइ छ । ‘मलाई चुनाव हराउन २५ लाख खर्च गर्छु भन्ने अहिले सिफारिस माग्ने ? मेरो अधिकार हो’ कुँवरले भन्नुभएको थियो ।
आफूले सिफारिस दिन्न नभनेको, प्रक्रियाबाट आउन मात्रै भनेको वडाअध्यक्ष कुँवरको भनाइ छ । अहिले उक्त सिफारिस समेत पठाइसकेको उहाँले जानकारी दिनुभयो ।
तपाईँको अभिमत