संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको उपचारखर्च व्यहोर्न संघको माग
मृत्यु भएमा १ करोडसम्मको बीमा गर्नुपर्ने
काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरस रोगको शिकारमा परेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सम्पूर्ण उपचार खर्च तथा व्यवथापनको जिम्मा सरकारले लिनुपर्ने माग गरेको छ । संघले विभिन्न माग राख्दै आज स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।
अग्र स्थानमा रही स्वास्थ्य सेवामा समर्पित भइरहँदा स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेको भन्दै काठमाडौं उपत्यका बाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपचारका लागि काठमाडौं ल्याउन आकस्मिक हेलिकप्टरको व्यवस्थापन गर्नुपर्ने माग संघले राखेको छ ।
यस्तै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधी रेम्डिसिभिर लगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेड र जनरल बेडहरुको संख्या बृद्धि गर्नुपर्ने, विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम देशभरका स्वास्थ्य संस्थाहरुमा संक्रमण व्यवस्थापन सम्बन्धी ठोस प्रभावकारी रणनीति तर्जुमा गरी अनिवार्य कार्यान्वयन गर्नुपर्ने, युद्धमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च बनाउन सुरक्षाका सामग्रीहरुको सहज उपलब्धता गराउनुपर्ने, कोभिड उपचारको क्रममा संक्रमित भएका चिकित्सकहरुको आवश्यक उपचारको व्यवस्थापनका लागि मन्त्रालयमा छुट्टै शाखाको व्यवस्था हुनुपर्ने माग संघको छ ।
यसैगरी कोभिड–१९ को संक्रमणको उपचारमा संलग्न चिकित्सकहरु स्वयं संक्रमित भई मृत्यु भएमा १ करोड रुपैया सम्मको बीमा रकम भुक्तानीको सुनिश्चिता गर्नुपर्ने, स्वास्थ्य संस्थामा सामान्य बिरामीहरुको समेत भिडभाड बढ्दै गएकोले स्वास्थ्य संस्थामा हुने भीडलाई कम गर्न पूर्व निर्धारित समय लिने व्यवस्थालाई कडाईका साथ लागू गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई आईसीयू र भेन्टिलेटर संचालन गर्न सक्ने गरी तालिमको व्यवस्था गर्ने तथा समुदायमा कोभिड रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न पनि संघले स्वास्थ्यसचिव समक्ष माग प्रस्तुत गरेको छ ।
हालसम्म नेपालमा ७९ हजार ७२८ संक्रमित भइसकेको तथा ५०९ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये एक जना डाक्टर र २ जना स्वास्थयकर्मी रहेका छन् ।
NMA-DELIGATION-LATTER-SECTRARY
तपाईँको अभिमत