मेडिकल काउन्सिलको निर्वाचनका लागि २१ वटा केन्द्र, मतदाता कति ?
मंसिरमा हुन गइरहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि २१ वटा केन्द्र र सो केन्द्रका लागि अधिकृत तोकिएको छ । काउन्सिलले बुधबार पत्रकार अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरि यसबारे जानकारी गराएको हो । काठमाडौं उपत्यकामा मंसिर १० र ११ गते तथा बाहिर मंसिर ३ गते निर्वाचन हुनेछ ।
निर्वाचन मंसिर ३ देखि ११ गतेसम्म सम्म चल्नेछ । एक जना उपाध्यक्ष तथा आठ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो । निर्वाचित पदाधिकारीहरुको कार्यकाल २०८२ सम्म रहनेछ । २९ हजार १२५ जना मतदाता रहेका छन् । काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारीले यसअघिको निर्वाचनको मतदाताको उपस्थिति हेर्दा यसपटक करीब ११ हजार चिकित्सकले मतदान गर्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
‘यसअघि २० हजार १०२ जना मतदाता हुनुहुन्थ्यो, जसमा ७ हजार ६८ अर्थात् ३५.२ प्रतिशतले मात्रै मतदान गर्नुभएको थियो, अधिकारीले भन्नुभयो - ‘सो आधारमा यसपटक ११ हजारले मतदान गर्नुहुन्छ कि? भन्ने अनुमान हामीले गरेका छौं ।’
निर्वाचन संयोजक डा.गणेश राईले काउन्सिलको आचार संहितालाई ख्याल गरेर उम्मेदवारहरुलाई प्रचार प्रसारमा लाग्न आग्रह गर्नुभयो । उहाँले मेडिकल जस्तो संवेदनशिल क्षेत्रलाई भड्किलो र खर्चिलो प्रचार प्रसारमा नलाग्न उम्मेदवारहरुलाई अनुरोध गर्नुभयो । एक उपाध्यक्षका लागि ३ र ९ सदस्यका लागि ३२ जनाले उम्मेदवारी दिएका छन् ।
तपाईँको अभिमत