कान्तिपुर डेन्टल कलेजका शिक्षकहरुले पाएनन् तलव, २२ दिनदेखि आन्दोलित
काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेजले सहमति अनुसार तलबभत्ता नदिएको भन्दै २२ दिनदेखि त्यहाँ कार्यरत शिक्षक(फ्याकल्टी)हरु आन्दोलित छन् । कान्तिपुर डेन्टल कलेजका शिक्षकहरुले पुस १४ गतेदेखि ओपिडि सेवासहित पठनपाठन बन्द गराएका छन् ।
आन्दोलित शिक्षकहरुले कलेज प्रशाशनले कलेजमा उपस्थित भएको आधारमा ज्यालादारी सरह भदौ,असोज, कार्तिक र मंसिर महिनाको तलव दिएको बताएका छन् । कोरोना महामारीमा रातदिन नभनी काम गरेको अवस्थामा न्यूनतम तलवसमेत नदिएको र महामारीका कारण विद्यार्थीहरुलाई घरमा नै बसेर पढाएपनि कलेजले घरमा बसेर पढाएको तलव नदिएको आन्दोलित शिक्षकहरुले गुनासो गरेका छन् ।
कोभिड माहामारीमा काम गर्दा प्रोत्साहन भत्ता दिनु त कता हो कता,उल्टै दिनपर्ने तलब नदिने अनि तलब माग्दा जागिरबाट निकाल्छु भनी कलेजका अध्यक्षले धम्की दिएको एक शिक्षकले बताउनुभयो । कलेज प्रशासनले विज्ञप्ती निकालेर त्यहाँ कार्यरत शिक्षकहरुलाई तलव सुविधा नदिएको भन्ने शिक्षकहरुको आरोपप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउदै स्रोत र साधनले भ्याएसम्म तलव दिएको जनाएको छ ।
तर आन्दोलित शिक्षकहरु प्रशाशनले तलव भत्ता नदिन बहानाबाजी मात्रै गरेको तर्क गरेका छन् । ‘डेण्टल कलेजका शिक्षकहरुलाइ विद्यार्थीहरुको फिबाट तलव दिने हो, कोरोना महामारीमा कुनै विद्यार्थीको फि मिनाहा भएको छैन, आन्दोलित एक शिक्षकले प्रश्न गर्नुभयो, बिद्यार्थीसँग पैसा असुल्ने तर शिक्षकलाई तलव नदिने यो कस्तो काइदा हो ?’
नेपाल चिकित्सक सँघ, नेपाल डेण्टल एशोसिएसन, राष्ट्रिय चिकित्सक संघ नेपाल, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, विभिन्न ट्रेड युनियनका पदाधिकारीहरुसँग वार्ता भइरहेको आन्दोलनरत शिक्षकहरुले जानकारी दिएका छन् ।
तपाईँको अभिमत