अस्पतालको एनआइसीयूमा आगलागी हुँदा १० शिशुको मृत्यु

आजगाली भएको अस्पतालको एनआईसीयू कक्ष । फोटो सौजन्य : एएनआई
महाराष्ट्र । भारत महाराष्ट्र राज्यको एक अस्पतालमा निकै दुखद् घटना घटेको छ । महाराष्ट्रको भण्डारा जिल्लाको जिल्ला अस्पतालको एनआइसीयूमा आगलागी हुँदा १० शिशुको मृत्यु भएको छ । स्वास्थ्यमा जटिल समस्या भएका शिशुहरुलाई एनआइसीयूमा राखिएको थियो ।
भारतयी मिडियामा आएका खबर अनुसार गएराति २ बजेतिर अस्पतालमा आगलागी भएको थियो । एनआइसीयूमा एक दिनदेखि ३ महिनासम्मका १७ जना शिशु थिए । त्यसमध्ये ७ शिशुलाई मात्रै बचाउन सकिएको अस्पतालका सिभिल सर्जन प्रमोद खाण्डतेले जानकारी दिएका छन् । वार्डमा राति २ बजे आगलागी भएको १० शिशुको मृत्यु भएको उनले पुष्टि गरे।
भास्कर दैनिक अनलाइनले दिएको खबर अनुसार ड्यूटीमा रहेकी एक नर्सले वार्डबाट धुँवा आइरहेको सबैभन्दा पहिले देखेकी थिइन् ।
त्यसपछि उनले अस्पतालका अधिकारीहरुलाई यसबारे जानकारी दिइन् । अस्पतालका कर्मचारीहरुले आगो निभाउने प्रयास गरे । केही समयपछि आएको दमकलको सहायताले आगो निभाइयो ।
विद्युत सर्ट भएमा आगलागी भएको जानकारी दिइएको छ । अस्पतालको लापरवाहीका कारण घटना घटेको भन्दै सर्वसाधारणहरु आक्रोशित बनेका छन् ।
तपाईँको अभिमत