जोखिम भत्ता निर्देशिका तयार,कसले के-कति पाउछन् सुविधा
उपचारमा सहभागि हुने चिकित्सक, नर्स, ल्यावका प्राविधिक लगायत अरु स्वास्थ्यकर्मी ,शौचालय तथा बिरामी बस्ने कक्ष सफा गर्ने सहयोगिहरु अग्र स्थानमा पर्दछन्
काठमाडौं,२० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोगको उपचारमा संलग्न हुने चिकित्सक ,नर्स, स्वास्थ्यकर्मी तथा सहयोगीलाई तीन भागमा बर्गिकरण गरि सोही अनुसार जोखिम भत्ता दिइने गरि निर्देशिका तयार गरेको छ । चैत ९ गते सरकारले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स, प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीको मनोबल बढाई प्रोत्साहन स्वरुप ५० देखि शतप्रतिशत जोखिम भत्ता दिने निर्णय गरे अनुरुप स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार पारेको हो ।
मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयले अग्र, दोस्रो र तेस्रो स्थानमा रहेर काम गर्ने चिकित्सक,स्वास्थ्यकर्मी तथा सहयोगीलाई दिईने सुविधाका बारेमा निर्देशिका बनाएको छ । निर्देशिका अनुसार उपचारमा सहभागि हुने चिकित्सक, नर्स, ल्यावका प्राविधिक लगायत अरु स्वास्थ्यकर्मी ,शौचालय तथा बिरामी बस्ने कक्ष सफा गर्ने सहयोगिहरु अग्र स्थानमा पर्दछन् ।दोस्रो स्थानमा एम्बुलेन्स चालक तथा एम्बुलेन्समा रहने सहयोगी पर्दछन् भने तेस्रो स्थानमा अस्पतालमा क्यास काउन्टरमा बस्ने कर्मचारी, बिरामीलाई खाना, औषधि ल्याउने सहयोगीहरु राखी निर्देशिका बनाइएको छ ।
मन्त्रालय स्रोतका अनुसारे मन्त्रिपरिषद्ले पारित गरेपछि निर्देशिका लागू हुनेछ ।अग्र स्थानमा संलग्न चिकित्सक,नर्स,स्वास्थ्यकर्मी तथा सहयोगीलाई १०० प्रतिशत जोखिम भत्ता दिइनेछ भने दोस्रो स्थानमा रहनेलाई ७५ र तेस्रो स्थानमा रहेर काम गर्नेलाई ५० प्रतिशत जोखिम भत्ता पाउनेछन् । यसैगरि उपचारमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागि हुने चिकित्सक ,नर्स स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप २५ लाख बराबरको बीमा तथा क्षतिपूर्ति पाउने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।
तपाईँको अभिमत