कोरोना संक्रमितको मृत्यु भइहालेमा यसाे गरौँ : मेडिकल काउन्सिल
उपचार गर्दा र मृत्यु भइहालेमा स्वास्थ्यकर्मी तथा आफन्तले अपनाउनु पर्ने सावधानी
कोरोना संक्रमितको मृत्यु भइहालेमा शव आफन्तलाई हस्तान्तरण गर्न मिल्छ ? नेपाल मेडिकल काउन्सिलले सुझाएका सुझावहरु
काठमाडौं, १६ चैत । नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस रोग महामारीमा चिकित्सा र दन्त चिकित्सकहरुले भोग्नुपरेका चिन्ता र चुनौतीलाई मध्यनजर गर्दै संक्रमणबाट जोगिन र जोगाउन अपनाउनु पर्ने नैतिक सिद्धान्तबारे सुझाव सार्वजनिक गरेको छ । काउन्सिलले चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी, आफन्त तथा समुदायले पालना गर्नु पर्ने निर्देशनात्मक सुझावहरु सार्वजनिक गरेको छ । यही सुझावहरु अनुसार सचेत भई संक्रमण नियन्त्रण गर्न चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई अघि बढ्न सुझाएको छ ।
काउन्सिलले सार्वजनिक गरेको सुझावमा संक्रमितको उपचार गर्दा र कदाचित मृत्यु भइहालेमा स्वास्थ्यकर्मी तथा मृतकका आफन्तले अपनाउनु पर्ने सावधानीसमेत रहेका छन् ।
व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)का सम्बन्धमा:
१. सम्पूर्ण चिकित्सक, नर्स, ल्याबका प्राविधिक, रेडियोलोजी, फिजियोथेरापिस्ट लगायत अन्य स्वास्थ्यकर्मीहरुले आफू कार्यरत अस्पतालमा पीपीई माग गर्न सकिने । आफू सुरक्षित भई बिरामीको उपचार गर्ने ।
बिरामीको उपचारमा ध्यान दिनपर्ने कुराहरु :
१. कस्ता बिरामीलाई कोरोना परीक्षण गर्ने र के–के परीक्षण गर्नुपर्ने सम्बन्धमा तोकिएको सरकारी एजेन्सीको मापदण्डलाई फलो गर्ने ।
२. कुन बिरामीलाई घरमा नै सेल्फ क्वारेन्टाइन बस्न सक्ने, कसलाई आइसोलेसनमा राख्ने तथा कसलाई भर्ना गर्ने भन्ने सम्बन्धमा कोरोना उपचार सम्बन्धी मापदण्ड अनुसार अघि बढ्ने ।
३. गम्भीर अवस्थामा स्रोत र साधनको अभाव भएमा सरकारको गाइडलाइनलाई फलो गर्दै कसलाई कुन सेवाको आवश्यक छ त्यसको ख्याल गर्ने ।
संक्रमितको मृत्यु भइहालेमा ध्यान दिनुपर्ने कुराहरु :
१. आइसोलेसन अथवा कुनै निश्चित क्षेत्रमा रहेको कोभिड नाइन्टिन संक्रमितको शवलाई व्यवस्थापन गर्दा सर्वप्रथम स्वास्थ्यकर्मीहरुले आफ्नो हात सफा गरि पानी नछिर्ने गाउन, पञ्जा, मास्क, गगल्स प्रयोग गर्नुपर्दछ । र तिखो सामग्री व्यवस्थापनमा विशेष ख्याल गर्नुपर्दछ ।
२. मृत्यु अघि संक्रमितको उपचारका लागि प्रयोग गरिएका मेडिकल सामग्री जस्तै ट्युव, ड्रेन,क्याथेटर पाइपहरु शरीरबाट निकाल्ने ।
३. उपचारका लागि ट्युव, ड्रेन, क्याथेटर पाइपहरु लगायतका मेडिकल सामग्री प्रयोग गर्दा शरीरमा भएका घाउ तथा प्वाललाई १ प्रतिशत हाइपो क्लोराइटले सफा गरि घाउ र प्वाललाई प्लाष्टर गर्ने ।
४. शरीरबाट मेडिकल सामग्री तथा अन्य तिखो उपकरणहरु निकाल्दा विशेष ख्याल गरि आफुलाई नघोच्ने गरि निकाल्नुपर्दछ ।
५. शवबाट संक्रमण फैलन नदिन शरीरका प्वाल जस्तै नाँक, कान लगायतका श्राव हुने अंगहरु पूर्ण रुपमा बन्द गर्ने ।
६. शवलाई आइसोलेसनबाट बाहिर निकाल्नु अघि यदि मृतकका आफन्तले शव हेर्न चाहेमा उनीहरुलाई तोकिएको मापदण्ड अनुसार सावधानी अपनाउन लगाउने ।
७. शवलाई प्लाष्टिकको झोलामा पूरै शरीर ढाकेर राख्ने । प्लाष्टिकको झोला पनि पानीमा १ प्रतिशत हाइपो क्लोराइट र ब्लीच पाउडर मिसाएर सफा गर्ने । त्यसपछि फेरि अर्काे नयाँ प्लाष्टिक अथवा मृतकका आफन्तले उपलव्ध गराएको कपडामा बेर्ने र फेरि हाइपोक्लोराइटले सफा गर्ने ।
८. माथिका सबै प्रकृया पूरा गरेपछि शव आफन्तलाई हस्तान्तरण गर्ने ।
९. शव राखेको झोला र शव छोप्न प्रयोग गरिएका कपडालाई निश्चित तोकिएको स्थानमा डिस्पोज गर्ने ।
१०. शवमा प्रयोग गरिएका सम्पूर्ण मेडिकल सामग्रीलाई बायो मेडिकल फोहोर व्यवस्थापन नियम अनुसार डिस्पोज गर्ने ।
११. शव हस्तान्तरण गर्ने स्वास्थ्यकर्मीले हस्तान्तरण गर्नु अगाडि आफूले प्रयोग गरेको सबै सुरक्षाका सामग्री शरीरबाट निकालेर डिस्पोज गर्ने र राम्रोसँग हात धुने ।
१२. मृतकका आफन्तलाई शव हस्तान्तरण गर्दा दाहसंस्कार गर्ने समयमा अपनाउनु पर्ने सावधानी राम्रोसँग बुझाउने ।
शवलाई अन्तिम संस्कार स्थलसम्म पुर्याउँदा ध्यान दिनपर्ने कुराहरु :
१. शव बाहनमा रहेका ड्राइभर तथा कर्मचारीमा संक्रमण हुन नदिन हाइपो क्लोराइटयुक्त प्लाष्टिकमा बन्द गरेर शवलाई सुरक्षित अवस्थामा अन्तिम संस्कार गर्ने स्थलसम्म पुर्याउने ।
२. शव ह्याण्डल गर्ने जो कोहीले मास्क, पञ्जा र टाउको ढाक्ने गरि व्यक्तिगत सुरक्षाका सामग्री प्रयोग गर्ने ।
३. शव ओसारपसार गरेको वा अन्तिमसंस्कार स्थलसम्म पुगेका कुनै पनि बाहनलाई १ प्रतिशत हाइपोक्लोराइटले सफा गर्ने ।
अन्तिम संस्कार गर्दा ध्यान दिनपर्ने कुराहरु :
१. शव गाड्ने वा जलाउने स्थलमा जाने कर्मचारी वा व्यक्तिहरु उच्च जोखिममा हुन्छन् त्यसैले उच्च सतर्कता अपनाउनुपर्दछ ।
२. कर्मचारी वा व्यक्तिले हातको विशेष सरसफाई गर्नुका साथै मास्क र पञ्जाको प्रयोग गर्ने ।
३. अन्तिम समयमा एकपटक आफन्तलाई मृतकको अनुहार मात्रै देखाउने ।
४. धर्म संस्कृति अनुसार दाहसंस्कार गर्दा शरीरलाई नछोइ अथवा पानीमा नडुबाई गर्ने ।
५. नुहाउने, अँगाल्ने लगायतका शरीरमा छोएर गरिने कुनै पनि क्रियाकलाप नगर्ने / नगराउने ।
६. अन्तिम संस्कार सकेपछि संस्कारमा सहभागी भएका सबैले राम्रोसँग हात धुने तथा सरसफाईमा ख्याल गर्ने ।
७. अस्तु तथा खरानी संकलन गर्न सकिनेछ ।
८. अन्तिम संस्कारको समयमा भीड नगर्ने ।
तपाईँको अभिमत