विश्व हाँक्ने नेता कसरी भए कोरोनाको शिकार !
काठमाडौं, १ चैत । कोरोना संक्रमितसँगको नजिकको सम्पर्कबाट सर्ने तथ्य प्रमाणित भइसक्यो । भीडभाडमा नजान, धेरै मानिस भेला हुने स्थानमा नबस्न विश्व स्वास्थ्य संगठन लगायत सम्पूर्ण राष्ट्रहरुले सजग गराइरहेका छन् तर यो सजगता शीर्ष नेता र देश हाँक्ने जिम्मा पाएका व्यक्तिहरुले चाहेर पनि अपनाउन सकिरहेका छैनन् जसका कारण उनीहरु कोरोनाको शिकार हुने क्रम जारी छ ।
कोरोनाले विश्वभर सातै महादेशमा आक्रमण गरिसक्यो महामारीबाट धनी, गरिब, बृद्द, बालक, वयस्क,किशोर सबै संक्रमित भइसकेका छन् । कोरोना संक्रमितको सम्पर्कमा आउने व्यक्तिलाई औपचारिक भेट होस् या घरमा आयोजित पार्टी नै किन नहोस् समुहमा घुलमिल भएपछि संक्रमण फैलिएकै छ ।
शीर्ष राजनीतिक व्यक्तित्वहरु धेरै व्यस्त रहन्छन् । उहाँहरुको धेरै मानिसहरुसँग प्रत्यक्ष भेटघाट भइनै रहेको हुन्छ । यसैका कारण विश्व हाँक्ने नेता, चर्चित खेलाडीदेखि हलिउड कलाकारसम्मलाई कोरोना संक्रमण भइसकेको छ । १२ जना भन्दा बढी विशिष्ट व्यक्तिहरु कोरोना भाइरसको शिकार भइसक्नुभयो । कारण उहाँहरुले औपचारिक भेटघाटलाई निरन्तरता दिइरहनुभएको छ र लक्षण नै नदेखि संक्रमित भएकाहरुसंग उहाँहरुको सम्पर्क भइरहेकैछ । अष्ट्रेलियाका गृहमन्त्री, ब्राजिलका राष्ट्रपतिका सञ्चार सचिव, क्यानाडका प्रधानमन्त्रीपत्नी लगायतलाई संक्रमण हुनुले औपचारिक तथा अनौपचारिक भेटघाटबाट संक्रमणको जोखिम उच्च छ भन्ने पुष्टि गर्दछ । कोरोना संक्रमण भएका विश्वका केही चर्चित एवं विशिष्ट व्यक्तित्वहरु :
१.क्यानाडाका प्रधानमन्त्री पत्नी सोफी ग्रेगैरीलाई संक्रमण : बेलायतमा एक कार्यक्रममा सहभागी भई फर्किए लगत्तै उहाँलाई कोरोनाको लक्षण देखिएको थियो । प्रधानमन्त्री पनि क्वारेन्टाइनमा बसेर फोन मार्फत काम गरिरहनु भएको छ । मन्त्रिपरिषद् बैठक स्थगित गर्नुभएको छ ।
२. अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको औपचारिक भेट गरि फर्किएपछि स्वास्थ्यमा असहज महसुस भएको थियो ।
३. संयुक्त अधिराज्यका जुनियर स्वास्थ्यमन्त्री नादिनो डोरिज ः प्रधानमन्त्रीले डाक्नुभएको औपचारीक कार्यक्रममा सहभागि हुनुभएको थियो । सोही दिन डोरिजलाई कोरोनाको लक्षण देखिएको थियो ।
४. फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रिइस्टार : राष्ट्रिय सभाको बैठकका लागि केही दिन व्यस्त रहनुभएका मन्त्री फ्रान्क रिइस्टारलाई मार्च नौमा कोरोनाको पुष्टि गरिएको थियो । सभामा सहभागी ५ जनालाई पनि कोरोनाको पुष्टि भएको छ । फ्रान्सका विमानस्थल प्रमुखलाई पनि संक्रमण भएपछि आइसोलेसनमा उपचार भइरहेको छ ।
५. ब्राजिलका राष्ट्रपतिका सञ्चार सचिव फाबियो वाज्गार्तेन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग औपचारिक भेट गरि फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो । कोरोनाको पुष्टि भएपछि आइसोलेसनमा उपचार जारी छ ।
६. इरानका उपराष्ट्रपति इशाक जहानगिरि : इरानका संस्कृति संरक्षण मन्त्री अलि असघर माउनसान र राष्ट्रिय ओलम्पिक कमिटिका राष्ट्रपति रेजा सलाहीसँगको भेटपछि उपराष्ट्रपति जहानगिरिलाई संक्रमण भएको थियो । उपराष्ट्रपतिलाई संक्रमण भएपछि राष्ट्रिय ओलम्पिक कमिटीका राष्ट्रपति रेजा सलाही र मन्त्री माउनसान पनि बिरामी भए । परिक्षणपछि उहाँ दुबैलाई संक्रमणको पुष्टि भयो ।
७. इरानका उपस्वास्थ्यमन्त्री इराज हिराचीलाई पनि कोरोना संक्रमण भएको छ । इरानमा कोरोना संक्रमितहरुलाई अग्र स्थानमा रहेर सहयोग गर्नुभएको थियो ।
८. इरानका पूर्व विदेशमन्त्री अलि खामेनी र उहाँका सल्लाहाकार डा. अली अक्बर भलायती : दुबैलाई कोरोनाको संक्रमण भएको छ । दुबै जना तेहरानमा आ–आफ्नो घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । अर्का सल्लाहकारको भने कोरोनाको कारण मृत्यु भइसकेको छ ।
९. हलिउड कलाकार दम्पति टोम हान्क र रिता वील्सनलाई कोरोनाको संक्रमण : अष्ट्रेलियाको ब्रिसबेनमा एक कार्यक्रममा सहभागी भई आएपछि उनीहरुलाई कोरोनाको संक्रमण भएको थियो ।
१०. ब्राजिलका राष्ट्रपति जैर बोल्सोनोरो पनि घरमै क्वारेन्टाइनमा बस्नु भएको छ । उहाँका सञ्चार सचिव फाबियो वाज्गार्तेनलाई कोरोनाको पुष्टि भएपछि राष्ट्रपतिको पनि नाँक र घाटी भित्रको नमुना संकलन गरि प्रयोगशाला पठाइएको छ । उहाँको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपतिले पनि क्वारेन्टाइनमै बसेर काम गरिरहनुभएको छ ।
११. चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनोल्डो पनि क्वारेन्टाइनमा : आफूसँगै खेल खेल्ने साथीलाई कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो पनि क्वारेन्टाइनमा हुनुहुन्छ । संक्रमित साथी र रोनाल्डोले एउटै कक्षमा कपडा फेरेका थिए ।
१२. मंगोलियका राष्ट्रपति पनि क्वारेन्टाइनमा बसेर आफ्नो कामलाई निरन्तरता दिइरहनुभएको छ ।
१३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक भेटघाट गरेको सात दिनभित्रै दुई जना व्यक्तिलाई कोरोना भाइरस रोगको पुष्टि भइसकेको छ । अब विश्व हाँक्ने अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँको सचिवालय पनि कोरोना भाइरस मुक्त छ भन्न सक्ने अवस्था छैन । के अब ट्रम्प क्वारेन्टाइनमा बस्नुहोला त ?
तपाईँको अभिमत