कर्मचारी समायोजनको गाँठो फुक्यो
काठमाडौं, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको केही दिनभित्रै कर्मचारी समायोजनको टुंगो लगाउने गरि गृहकार्य गरिरहेको छ । मन्त्रालयले बढीमा एक हप्तासम्ममा टुंग्याउने जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले माघ मसान्तभित्रै समायोजनको टुंगो लगाउन जिम्मा दिएको भए पनि कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारका लागि बढि समय दिनुपर्ने भएकाले केही ढिला भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिनुभएको छ । केही दिन अघिदेखि मन्त्रालयका प्रवक्ता तथा समायोजन सम्बन्धी गुनासो सुनुवाइका संयोजक महेन्द्रप्रसाद श्रेष्ठ समायोजनलाई टुंग्याउन लागिरहनुभएको छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालय अन्र्तगत ५० प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेको र सकेसम्म घरपायक मिलाउने गरि समायोजनको तयारी भइरहेको छ । संघीयतामा स्थानीय तह, प्रदेश र संघ गरि तीन तहका कर्मचारी रहेकाले अधिकांशले आफ्नो पायक स्थानमा पोष्टिङ गर्न माग गरेका छन् जुन सम्भव छैन, ती अधिकारीले भन्नुभयो, सकेसम्म मिलाउन कोशिस गर्ने र नमिलेकाहरुलाई हाललाई त्यहि स्थानमा गएर पदस्थापन हुन पत्राचार गरिने छ । अहिले उनीहरुले भनेकै स्थानमा पोष्टिङ गरे पनि केही समयपछि फेरि उनीहरु अर्काे स्थानमा सरुवा गर्नुपर्यो भनेर निवेदन ल्याउँछन्, मन्त्रालयका श्रोतका अनुसार जे गरे पनि उनीहरुको चित्त बुझाउन सकिँदैन ।
उहाँका अनुसार घरकै छेउमा काम गरिरहेको स्वास्थ्यकर्मीलाई १५ मिनेट टाढा समायोजन गर्दा समेत दुर्गम भयो भनेर गुनासो आएका छन् । ती गुनासोलाई भने सम्बोधन गर्न नसकिने मन्त्रालयले जानकारी दिएको छ ।
उहाँका अनुसार अब एक पटक मात्र समायोजनको अन्तिम सूची निकाल्ने तयारी भइरहेको छ । पछिल्लो समय तीन हजार ५ सय जनाको समायोजन गर्न बाँकी छ । अन्तिम समायोजन गर्दा करिव एकहजार सात सय जतिको मात्र गुनासो सुनुवाई हुनेछ । सुरुमा जिल्ला स्थानीय निकाय अन्तर्गत भएकोले स्थानीय तहमा समायोजन हुन चाहेको स्वास्थ्यकर्मी पछि सरकारले जिल्ला अस्पताललाई प्रदेश मातहत ल्याउँदा उनीहरुको समायोजन प्रदेश वा स्थानीय कुन्मार तहमा रहने हो, त्यो विषयको भने अझै टुंगो लागिसकेको छैन । एकाध स्वास्थ्यकर्मीहरुलाई भने स्थानीयबाट प्रदेशमा समेत समायोजन गरिएको छ । सुरुमा समायोजन रोजेको निकाय र पछि सरकारले घोषणा गर्दा उक्त अस्पताल तथा स्वास्थ्य संस्था फरक परेकोले यी समस्या भएका स्वास्थ्यकर्मीहरुको संख्या पनि ठूलो रहेको छ ।
तपाईँको अभिमत